© २०२३
दाङ, ७ फागुन ।
प्रजातन्त्र दिवसका अवसरमा दाङमा ९ जना कैदीको कैद मिनाह भएको छ । घोराही कारागारबाट ५ र तुलसीपुर कारागाराबाट ४ जना कैदीको बाँकी कैद मिनाह भएको हो ।
घोराहीमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका ५ जना कैदीको कैद मिनाह भएको छ । उनीहरु मध्ये सवारी ज्यानका ३ जना र बहुविवाहका २ जनाको कैद मिनाह भएको कारागार कार्यालय घोराहीका निमित्त कार्यालय प्रमुख नवराज शर्माले जानकारी दिए । घोराहीमा कैद मिनाह हुने सबै पुरुष रहेका छन् ।
घोराही कारागारमा अहिले ३ सय ७६ जना कैदी रहेको निमित्त कार्यालय प्रमुख शर्माले जानकारी दिए । यसैगरी तुलसीपुर कारागारबाट ४ जना कैदीको कैद मिनाह भएको छ । तुलसीपुर कैद मिनाह हुने सबै पुरुष रहेका छन् ।
उनीहरुमध्ये २ जना सवारी ज्यानका, नकवजनी (पटक पटक चोरी गरेर फरार) भएको १ जना र कर्तव्य ज्यानका १ जना रहेको तुलसीपुर कारागार कार्यालयका कार्यालय प्रमुख रम्बा केसीले जानकारी दिइन् । तुलसीपुर कारागारमा अहिले ३ जना आश्रित बालक र ४४ महिलासहित ५ सय १७ जना कैदीबन्दी रहेको उनको भनाई छ ।