© २०२३
पश्चिम नवलपरासी ।
पश्चिम नवलपरासीका सात स्थानीय तह मध्ये कार्यसम्पादन मूल्याङ्कनमा बर्दघाट नगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।
मूल्याङ्कनमा बर्दघाट नगरपालिकाले अन्य छ पालिकालाई उछिन्दै ६९ दशमलव ८४ अंक प्राप्त गरेको छ । यो गत आर्थिक वर्षको कामको आधारमा विभिन्न १७ शिर्षकमा गरिएको मूल्याङ्कन हो । यस्तै रामग्राम नगरपालिकाले ६४ दशमलव ७० अंक प्राप्त गर्दे जिल्लामा दोस्रो हुन सफल भएको छ भने ६१ दशमलव ०४ अंकका साथ प्रतापपुर गाँउपालिका तेस्रो भएको छ ।
यस्तै सुनवल नगरपालिकाले ५७ दशमलव ३६ अंक प्राप्त गरेर चौथो भएको छ भने सुस्ताले ५२ र पाल्हीनन्दन गाँउपालिकाले ५१ द्यशमलव ५७ अंक प्राप्त गरेका छन् । सरावल गाउँपालिका भने जिल्लाका सात स्थानीय तह मध्ये सबैभन्दा कमजोर देखिएको छ । सरावलको कार्यसम्पादन मूल्याङ्कनमा जम्मा ४५ दशमलव २४ अंक प्राप्त गरेको छ ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकका आधारमा गरेको मूल्यांकन अंक प्रदान गरेको हो ।
आयोगले राजस्व सकंलन लक्ष्य पूरा गरेको, संचित कोष व्यवस्थापन प्रणाली लागू गरेको, आवधिक योजना तर्जुमा गरेको, नीति कार्यक्रम तथा बजेट समयमा पेस गरेको, आयव्यय प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण समयमै पेस गरेको लगायतका १७ वटा सूचाङ्कको आधारमा मुल्याङ्कन गर्ने गरेको छ । आयोगले फागुन ३ गते मुल्याङ्कन सार्वजनिक गर्दे कुनै फेरबदल भए ७ दिन भित्र आयोगमा तोकिएको ढाँचमा फर्म भरेर पठाउन सुचित गरेको छ ।