© २०२३
पश्चिम नवलपरासी ।
७३ औँ प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार पश्चिम नवलपरासीबाट १२ जना कैदिबन्दीलाई रिहा भएका छन् । १ जना महिला र ११ जना पुरुष गरी १२ जनालाई आइतबार रिहा गरिएको जिल्ला कारागार नवलपरासीका जेलर पुनाराम पौडेलले जानकारी दिए । रिहा हुनेमा बहुविवाहका ४ जना, सवारी दुर्घटना र चोरी सिकारीका ३–३ जना, जिउ मास्ने बेच्ने मुद्दाका १ जना र कर्तव्य ज्यानका १ जना कैदी बन्दी छन् ।
रिहा हुने मध्ये ८ जना पश्चिम नवलपरासीको, २ जना पुर्वी नवलपरासीको, १ जना रुपन्देहीको र १ जना भारतीय नागरिक रहेको जेलर पौडेलले बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा देशभरबाट ३ सय ९५ जनाको सजाय माफी गरिदिएकी छन् । मन्त्रिपरिषद्को फागुन ४ को बैठकको सिफारिसका आधारमा कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय, प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुतलबी, परिवर्तन वा कम गर्न सक्ने प्रावधान रहेको छ ।