Butwal Today

प्रदेशमन्त्रीसंग कपुरकोटमा एमाले नेता कार्यकर्ताको छलफल

१२ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

सल्यान।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईसमक्ष सल्यानको कपुरकोटका राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूले स्थानीय समस्या, विकासका आवश्यकता र योजनाका विषय उठाएका छन् ।

शनिबार कपुरकोटमा भएको भेटघाट तथा छलफलमा स्थानीय विकासका प्राथमिकता, योजनाको अवस्था र समसामयिक राजनीतिक विषयमा विचार आदानप्रदान गरिएको हो ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष समेत रहेका मन्त्री पछाईलाई एमाले सल्यान जिल्ला कमिटी तथा कपुरकोट र छत्रेश्वरी गाउँपालिका कमिटीका नेता तथा कार्यकर्ताले स्वागत गर्दै स्थानीय तहका आवश्यकता र विकास निर्माणका सवालमा ध्यानाकर्षण गराएका थिए ।

भेटघाटमा एमाले सल्यान जिल्ला कमिटी अध्यक्ष भीमबहादुर सेन, प्रदेश कमिटी सदस्य घनश्याम शर्मा, कपुरकोट गाउँपालिका कमिटी अध्यक्ष मधुसूदन गिरी र छत्रेश्वरी गाउँपालिका कमिटी अध्यक्ष ज्ञान बहादुर खड्का लगायत सहभागी थिए ।

त्यस्तै अनेमसंघका नेतृहरू बुद्धकुमारी खत्री र भीमा बुढाथोकी सहित एमाले नेता ओम बहादुर बुढा, खडग शाही, टोपेन्द्र केसी, द्रोण केसी, रूपक बुढा, मित्र कठायत, ईश्वर बुढा र प्रेम घर्ती लगायतको सहभागिता रहेको थियो ।

छलफलमा पार्टीको सांगठनिक अवस्था, समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तहमा देखिएका समस्या तथा विकास निर्माणका विषयमा छलफल गरिएको थियो ।

मन्त्री पछाईले शनिबार नै कपुरकोट गाउँपालिकाका जनप्रतिनिधिहरूसँग पनि छलफल गरेका छन् । गाउँपालिकाको समग्र विकास, स्थानीय आवश्यकता र विभिन्न योजनाका विषयमा छलफल भएको जनाइएको छ ।

यसैबीच मन्त्री पछाईले कपुरकोट गाउँपालिका, ४ मा आयोजना गरिएको वडा कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीसँग भएको छलफलले स्थानीय तहका विकासका आवश्यकता र योजनालाई प्रदेश सरकारसँग जोड्ने अवसर प्रदान गरे पनि छलफलमा उठेका विषय कुन रूपमा सम्बोधन हुन्छन् भन्ने कुरा भने आगामी निर्णय र कार्यान्वयनबाट स्पष्ट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?