© २०२३
चन्द्रौटा (कपिलवस्तु), ६ फागुन ।
भृकुटी माध्यमिक विद्यालयले विद्यार्थीलाई कृषिसँग जोड्ने अभ्यास गरेको छ । विद्यार्थीलाई शिक्षासँगै व्यावहारिक ज्ञान आवश्यकता महसुस गर्दै अभ्यासमा जुटेको हो ।
कपिलवस्तुको बुद्घभूमि नगरपालिका वडा नम्बर–४, बुड्ढीमा अवस्थित विद्यालयले वि.सं. २०७३ सालदेखि कृषि संकाय सुरु गरेको विद्यालयले जनाएको छ । अहिले कक्षा ९ देखि १२ सम्म सञ्चालन गर्दै आएको जनाइएको छ ।
विद्यालयको कक्षा ९ मा भर्ना गर्दा ४८ जनाको सिट रहेको प्रधानाध्यापक बेदप्रकाश भुसालले बताए । उनका अनुसार यतिबेला कृषि संकायतर्फ एक सय १५ बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै सैद्धान्तिकसँगै व्यावहारिक शिक्षा आजको भूमिका रहेको उनी बताउँछन् । विद्यालयमा कपिलवस्तु, रुपन्देही, बाँके र बर्दिया लगायत स्थानबाट अध्ययनका लागि आउने गरेका भुसालले बताए ।
सोही विद्यालयका कृषि संकाय संयोजक रमेश त्रिपाठीले करिब २ बिगाहा जग्गामा माछा पोखरी, दाल बाली, नगदे बाली, तरकारी खेती, बेर्ना नर्सरी र हाइवेस्टिङ लगायतको क्षेत्रमा विद्यार्थीलाई प्रयोगात्मक गराउने गरेको बताए ।
विद्यार्थीहरुलाई आवासीय गृहको व्यवस्था रहेको बताउँदै सुरुमा भर्ना हुने र पछि छोड्ने भएकाले कठिनाइ भएको उनले बताए । विगतभन्दा हाल विद्यार्थीको संख्यासँगै चासो बढेको समेत संयोजक त्रिपाठीको भनाई छ । २०७३ देखि हालसम्म ५० विद्यार्थी निरन्तर अध्ययन गरेर १२ कक्षा पास हुन सफल भएको उनले दावी गरे ।
हाल कक्षा १२ मा २६ जना अध्ययनरत रहेको जनाउँदै एक सिफ्टमा ४० जना विद्यार्थीलाई फिल्डमा प्रयोगात्मक गराउने गरेको त्रिपाठीले जनाए । कपिलवस्तुको कन्कमुनी मावि, अनरुद्घ मावि र भृकुटी माविमा कृषि संकाय तर्फ बाली विज्ञान अध्ययन हुने गरेको छ ।