© 2026
सल्यान ।
सल्यानको कालिमाटी गाउँपालिकाले खेतीयोग्य जमिन भएर पनि सिँचाइ सुविधाको अभावमा वर्षाको भर पर्नुपर्ने बाध्यता अन्त्य गर्न सिँचाइ योजना विस्तार गर्ने भएको छ । चालु आर्थिक वर्षमा वडा नम्बर ७मा मात्रै चारवटा सिँचाइ योजना सञ्चालनको तयारी गरिएको छ । यी योजना कार्यान्वयनमा आए करिब २५० घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।
गाउँपालिकाले विभिन्न स्रोतको लगानी परिचालन गर्दै सिँचाइ पूर्वाधार निर्माण तथा पुराना संरचनाको सुधारलाई प्राथमिकता दिएको हो । चारमध्ये एउटा योजना वातावरण तथा ग्रामीण विकास केन्द्र (एनरुडेक) सँगको साझेदारीमा, एउटा गाउँपालिकाको जलवायु परिवर्तन स्थानीय अनुकूलन (लक) परियोजनामार्फत र दुईवटा प्रदेश सरकारको लगानीमा सञ्चालन हुनेछन् ।
गाउँपालिका अध्यक्ष दानबहादुर केसीले साझेदारी सिँचाइ योजना अघि बढाउने विषयमा बाँकेको कोहलपुरस्थित एनरुडेकको कार्यालय पुगेर संस्थाका प्रतिनिधि तथा सरोकारवाला सँग हालै छलफल गरेका छन् ।
वडा नम्बर ७मा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले संस्था सँगको सहकार्यमा योजना कार्यान्वयनको प्रक्रिया अघि बढाइएको अध्यक्ष केसीले जानकारी दिए ।
साझेदारी योजनाका लागि गाउँपालिकाले तीन लाख रुपैयाँ विनियोजन गरेको छ । संस्थाको सहयोग र गाउँपालिकाको लगानीमा सञ्चालन हुने योजनामा उपभोक्ताको समेत लागत सहभागिता रहनेछ।
साझेदारी अन्तर्गत वडा नम्बर ७ को ¥याङमा ३० लाख रुपैयाँभन्दा बढी लागतको सिँचाइ योजना सञ्चालन हुने भएको छ । खप्परे खोलाको पानी उपयोग गरी सञ्चालन गरिने उक्त योजनाबाट ८० देखि ९० घरधुरी किसान लाभान्वित हुने वडा अध्यक्ष मित्रलाल रिजालले जानकारी दिए ।
योजनाअन्तर्गत सिँचाइ नहरको मुहान सुधार गर्नुका साथै पुरानो नहरको मर्मत सम्भार गरिनेछ । जीर्ण तथा कमजोर बनेको सिँचाइ संरचनालाई सुधार गरी खेतबारीसम्म पानी पु¥याउने लक्ष्य राखिएको वडा अध्यक्ष रिजालले बताए ।
¥याङ बाहेक वडा नम्बर ७ का अन्यतीन क्षेत्रमा पनि चालु आर्थिक वर्षभित्र सिँचाइ योजना सञ्चालन गर्ने तयारी छ । गाउँपालिकाको जलवायु परिवर्तन स्थानीय अनुकूलन (लक) परियोजनामार्फत घुइयाबारीमा सिँचाइ योजना सञ्चालन हुनेछ । यसबाट करिब ४० घरधुरी किसान लाभान्वित हुने अपेक्षा गरिएको छ ।
त्यस्तै प्रदेश सरकारको लगानीमा गंगटे खोली सिँचाइ योजनाबाट करिब ४० घरधुरी र बाघमारे सिँचाइ योजनाबाट करिब ८० घरधुरी किसानले सिँचाइ सुविधा पाउने वडा अध्यक्ष रिजालले जानकारी दिए ।
चारवटै योजना कार्यान्वयनमा आएपछि वडा नम्बर ७ का करिब २५० घरधुरी किसानको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार हुने विश्वास गरिएको छ ।
सिँचाइ सुविधा विस्तारले किसानलाई वर्षाको भरमा खेतीगर्नुपर्ने बाध्यताबाट राहतदिनुका साथै बाँझो तथा कमउपयोग भइरहेको जमिनमा खेती विस्तार गर्न सहयोग पुग्ने अपेक्षा छ ।
पर्याप्त पानी उपलब्ध भएमा मौसमी खेतीमा निर्भरता घटाउन, वर्षमा एकभन्दा बढी बाली लगाउन तथा परम्परागत खेती प्रणालीबाट बाली विविधीकरण तर्फ अघि बढ्न समेत सहजहुने गाउँपालिकाको अपेक्षा छ । सिँचाई पूर्वाधारमा विभिन्न तहका सरकार र विकास साझेदारको लगानी परिचालन गरेर विगतदेखि नै कामहुँदै आएको गाउँपालिकाले जनाएको छ ।