Butwal Today

म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले बढ्यो

९ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

म्याग्दी।

म्याग्दीमा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २.७० प्रतिशतले बढेको छ। अनुकूल मौसम, रोगकिराको समस्या नदेखिनु र असिनाले क्षति नगरेका कारण धान उत्पादन बढेको कृषि विकास कार्यालयले जनाएको छ।

कृषि विकास कार्यालयका प्रमुख सञ्जीव बास्तोलाका अनुसार धान रोप्ने र हुर्कने समयमा पर्याप्त वर्षा भएको तथा भित्र्याउने समयमा पनि मौसम अनुकूल रहेकाले उत्पादन बढेको हो।

गत असोजमा परेको झरीपछि आएको बाढीपहिरोले केही स्थानका धानखेत पुरिए पनि जिल्लाको समग्र उत्पादनमा ठूलो असर परेको छैन।

म्याग्दीमा तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। यस वर्ष प्रतिहेक्टर ३.८ मेट्रिक टनका दरले कुल १४ हजार ४६२.८ मेट्रिक टन धान उत्पादन भएको कार्यालयले जनाएको छ। गत वर्ष प्रतिहेक्टर ३.७ मेट्रिक टनका दरले १४ हजार ८७ मेट्रिक टन धान उत्पादन भएको थियो।

कृषि प्रसार अधिकृत कल्पना पुनका अनुसार जिल्लाका विभिन्न स्थानमा बाली कटानी विधिबाट तथ्याङ्क सङ्कलन गरी उत्पादनको विवरण तयार गरिएको हो। म्याग्दीमा गौरिया, गुडुरा, जेठो बुढो, जनर्ली, पहेँले, मार्सी, शङ्कर र युएस ३१२ जातका धान खेती हुँदै आएको छ।

लेखाली क्षेत्रका किसानले भिरालो जमिनमा पनि खेती गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान लगाउने गरेका छन्। तर पछिल्लो समय उन्नत जातका धानप्रति किसानको आकर्षण बढेपछि घैया, गौरिया र अन्दीजस्ता रैथाने धानको खेती घट्दै गएको छ।

जिल्लाका रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बरङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, घार, नारच्याङ र दाना क्षेत्रमा धानखेती हुँदै आएको छ। धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङ तथा अन्नपूर्ण गाउँपालिकाको शिखमा अत्यधिक चिसोका कारण धानखेती हुँदैन।

मङ्गला गाउँपालिका–५ पिपलबोटकी चन्द्रकुमारी भण्डारीले यस वर्ष ७० मुरी धान उत्पादन गरेकी छन्। गत वर्ष उनको खेतमा ५५ मुरी मात्रै धान फलेको थियो। मौसम अनुकूल भएकाले यस वर्ष उत्पादन बढेको उनले बताइन्।

जिल्लामा धान उत्पादन बढे पनि रैथाने जातको खेती घट्दै जानु र धानखेतीको क्षेत्रफल विस्तार हुन नसक्नु मुख्य चुनौती बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?