Butwal Today

वालिङकी एक्ली महिला अटो चालक सञ्जु, दैनिक १५ सयसम्म बचत

९ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

स्याङ्जा । स्याङ्जाको वालिङमा एक सयभन्दा बढी अटो सञ्चालनमा छन्। गाउँ नगर अटो यातायात प्रालिमा दर्ता भएर चलिरहेका अटोका चालक सबै पुरुष छन्। तर, तीमध्ये एक्ली महिला चालक हुन् सञ्जु हिताङ। वालिङ नगरपालिका–२ छप्राककी सञ्जुले घरमै भएको अटो चलाउन सिकेर आत्मनिर्भर बन्ने बाटो रोजेकी छन्।

श्रीमान् र देवरले अटो चलाउन छाडेपछि सञ्जुले आफैँ अटो चलाउन थालेकी हुन्। यसअघि ज्याला मजदुरी गर्दै आएकी उनी बिरामी भएपछि त्यो काम छाडेर अटो चलाउन थालेकी थिइन्।

“श्रीमान् र देवर दुवैले अटो चलाउनुहुन्थ्यो। उहाँहरूले अटो चलाउन छाडेपछि आफूले सिकेर त्यही अटो चलाउन थालेकी हुँ,” उनले भनिन्।

पहिले सामान्य खर्चका लागि पनि श्रीमान्सँग पैसा माग्नुपर्ने अवस्था थियो। अहिले अटो चलाउन थालेपछि घरखर्चदेखि व्यक्तिगत खर्चसम्म आफैँले धान्न सकेकी छन्।

सुरुमा महिला चालक देख्दा यात्रुले अटो चढ्नसमेत हिचकिचाउने गरेको सञ्जुको अनुभव छ। पुरुषले मात्रै अटो चलाएको देखेका यात्रुले महिलाले पनि अटो चलाउँछन् र भन्दै प्रश्न गर्ने गरेका थिए। कतिपयले महिला चालक भएको अटोमा यात्रा गर्न विश्वाससमेत गर्दैनथे।

“सुरुका दिनमा महिलाले चलाएको अटो रहेछ भनेर यात्रु चढ्न मान्नुहुन्थेन। महिला भनेर पत्याउनुहुन्थेन, विश्वास गर्नुहुन्थेन,” उनले भनिन्, “कतिपय भने महिला चालक भएको अटोमा चढेर हौसला दिनुपर्छ भनेर यात्रा गर्नुहुन्थ्यो। अहिले पहिलेको तुलनामा सहज भएको छ।”

बिहान र साँझ घरको काम सकेर दिनभरि अटो चलाउने सञ्जुले सबै खर्च कटाएर दैनिक एक हजार २०० देखि एक हजार ५०० रुपैयाँसम्म बचत गर्छिन्। बिहानदेखि रातिसम्म अटो चलाउन सके आम्दानी अझ बढ्ने उनको भनाइ छ।

महिला र पुरुषका लागि काम छुट्याउन नहुने सञ्जुको धारणा छ। आफूले सक्ने काम गरेर आम्दानी गर्नुपर्ने उनको भनाइ छ।

“महिलाले यो काम गर्ने, पुरुषले त्यो काम गर्ने भन्ने हुँदैन। यो गर्न हुन्छ, त्यो गर्न हुन्न भन्ने पनि हुँदैन। आफूले जे सकिन्छ, त्यो गरेर आम्दानीसँग जोडिनु राम्रो हो,” उनले भनिन्।

गाउँ नगर अटो यातायात प्रालिका उपाध्यक्ष लालबहादुर सार्कीका अनुसार प्रालिमा दर्ता भएर अटो चलाउने एक सयभन्दा बढी चालक पुरुष छन्। सञ्जु भने एक्ली महिला चालक हुन्।

अटो चलाएर आम्दानी गर्दै आएकी सञ्जुलाई प्रालिले पनि प्रोत्साहन गर्दै आएको सार्कीले बताए। महिला चालकका रूपमा काम गरिरहेकी सञ्जुलाई हौसला दिँदा उनी थप उत्साहित भएको उनको भनाइ छ।

“सञ्जुजस्तै मासिक ५०–६० हजार रुपैयाँ कमाउन विदेश जानुपर्दैन। आफ्नै परिवारसँग बसेर यहीँ पनि राम्रो आम्दानी गर्न सकिन्छ,” सार्कीले भने।

सञ्जुले घरमै रहेको अटो चलाएर सुरु गरेको काम अहिले परिवारको खर्च धान्ने आम्दानीको स्रोत बनेको छ। पुरुषको बाहुल्य रहेको अटो व्यवसायमा उनले महिला पनि चालक बनेर आत्मनिर्भर हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?