Butwal Today

वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिने

९ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौँ ।

बाबुआमाको संरक्षणमा नरहेका तथा वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको वास्तविक अवस्था पहिचान गर्न सरकारले तथ्याङ्क सङ्कलन गर्ने भएको छ। बालबालिकाको संरक्षण र सुरक्षालाई प्रभावकारी बनाउन अन्तरराष्ट्रिय मापदण्डअनुसार तथ्याङ्क वर्गीकरण गर्न लागिएको हो।

हाल बाल स्याहार केन्द्रमा रहेका बालबालिकाको तथ्याङ्क उपलब्ध भए पनि त्यस्ता केन्द्रबाहिर रहेका हजारौँ बालबालिकाको अवस्था र उनीहरूले पाइरहेको हेरचाहबारे राज्यसँग पर्याप्त जानकारी छैन। तथ्याङ्क अभावमा उनीहरूको वास्तविक अवस्था र आवश्यक संरक्षण पहिचान गर्न समस्या हुँदै आएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालय र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले आयोजना गरेको बालबालिका र वैकल्पिक हेरचाहसम्बन्धी अन्तरक्रियामा अन्तरराष्ट्रिय वर्गीकरणअनुसार तथ्याङ्क सङ्कलन गर्ने जानकारी दिइएको हो।

कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले बालबालिकाले जहाँ रहे पनि सुरक्षित र बालमैत्री वातावरणमा हुर्कन पाउनुपर्ने बताइन्।

“सुरक्षित र पारिवारिक वातावरणमा हुर्कन पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो। यसको संरक्षण गर्नु केवल मानवीय संवेदना मात्र होइन,” उनले भनिन्, “यो न्यायपूर्ण, समानतामूलक र समृद्ध समाज निर्माणको अनिवार्य आधारशिला हो।”

राष्ट्रिय योजना आयोगका सदस्य डा. रेशु अर्याल ढुङ्गानाले बाबुआमाको संरक्षणमा नरहेका बालबालिकाको तथ्याङ्क बाल स्याहार केन्द्रमा मात्र सीमित राख्न नहुने बताइन्। प्रत्येक स्थानीय तहसम्म तथ्याङ्क सङ्कलन गर्नुपर्ने उनको भनाइ छ।

नेपालले बालबालिकासम्बन्धी विभिन्न अन्तरराष्ट्रिय अभिसन्धिमा हस्ताक्षर गरिसकेकाले सोही आधारमा तथ्याङ्क सङ्कलन र वर्गीकरण गर्नुपर्ने उनले बताइन्।

बालबालिकाको सङ्ख्या मात्र गणना गरेर नपुग्ने भन्दै उनीहरूको सुरक्षा र संरक्षणको अवस्थासमेत पहिचान गर्नुपर्ने उनको भनाइ छ।

प्रमुख तथ्याङ्क अधिकारी लक्ष्मी बस्नेतले वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको तुलनायोग्य तथ्याङ्क प्रणाली विकास भएपछि कुन क्षेत्रमा थप संरक्षण आवश्यक छ भन्ने पहिचान गर्न सहज हुने बताइन्।

राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक पृथ्वीविजय सिजापतीले वैकल्पिक हेरचाह र अन्तरराष्ट्रिय अभ्यासबारे कार्यपत्र प्रस्तुत गर्दै अन्तरराष्ट्रिय वर्गीकरणमा नौ वटा श्रेणी रहेको जानकारी दिए।

नेपालमा हालसम्म उक्त वर्गीकरणअनुसार तथ्याङ्क उपलब्ध नहुँदा वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको वास्तविक अवस्था पहिचान गर्न कठिन भएको उनले बताए।

कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डिराज लामिछानेले वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको तथ्याङ्क सङ्कलनलाई राष्ट्रिय तथ्याङ्क प्रणालीको महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताए।

राष्ट्रिय जनगणनाले करिब साढे तीन लाख बालबालिका वैकल्पिक हेरचाहमा रहेको देखाए पनि उनीहरूको वास्तविक अवस्था स्पष्ट नभएको उनले बताए। त्यसैले तथ्याङ्कलाई नयाँ ढङ्गले वर्गीकरण र कोडिङ गर्न लागिएको उनको भनाइ छ।

युनिसेफ नेपालकी उपप्रतिनिधि जी ह्यु रहले प्रत्येक बालबालिकालाई तथ्याङ्क प्रणालीमा समेटेर उनीहरूको अवस्था पहिचान गर्ने काममा राष्ट्रिय तथ्याङ्क कार्यालयले नेतृत्व गरेको बताइन्।

वैकल्पिक हेरचाहसम्बन्धी अन्तरराष्ट्रिय वर्गीकरणलाई चरणबद्ध रूपमा राष्ट्रिय तथ्याङ्क तथा प्रशासनिक सूचना प्रणालीमा समावेश गर्ने प्रक्रिया सुरु हुनु महत्वपूर्ण कदम भएको उनले बताइन्।

गत मार्चमा संयुक्त राष्ट्रसङ्घीय तथ्याङ्क आयोगले बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी अन्तरराष्ट्रिय वर्गीकरण (आइकेयर)लाई अन्तरराष्ट्रिय तथ्याङ्कीय मापदण्डका रूपमा अनुमोदन गरेको थियो। यससँगै नेपालसहित विश्वका विभिन्न देशले अभिभावकीय हेरचाहबाहिर रहेका बालबालिकाको अवस्था मापन गर्न साझा अवधारणा, परिभाषा र वर्गीकरण पाएका छन्।

बालबालिकाको हेरचाह र संरक्षणको जिम्मेवारी महिला मन्त्रालयको भए पनि त्यससम्बन्धी तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने काम राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्दै आएको छ। नयाँ प्रणाली लागू भएपछि बाल स्याहार केन्द्रबाहिर रहेका बालबालिकाको अवस्थासमेत तथ्याङ्कमा समेटिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?