© 2026
पाल्पा ।
श्रीनगरको नाम नसुन्ने सायदै कम होलान् । तानसेनमा पर्ने श्रीनगरले करिव चार दशक अघिदेखि आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा आफ्नो प्रभाव स्थापित गर्न सफल हुँदै आएको छ ।
श्रीनगर केवल पाल्पा जिल्लामा मात्रै सीमित छैन, यो नेपालदेखि भारतसम्मका पर्यटक लोभ्याउने र आकर्षित गर्ने महत्वपूर्ण गन्तब्य पनि हो । तानसेन नगरको शिरमा रहेको श्रीनगरबाट एक दर्जन बढि हिम श्रृंखलाको दृष्यावलोकन गर्न सकिन्छ । त्यो संगै श्रीनगरमा नेपाल र भारतदेखि वनभोजका लागि दिनहुँजसो ठूलो सख्यामा भिड लाग्ने गर्दछ ।
सेनकालीन समयमा पाल्पा राज्यको राजधानी रहेको यो स्थलमा वृक्षारोपण गरी हरियाली संगै सुन्दरता बढेपछि पर्यटकका लागि श्रीनगरले दशकौंदेखि आफ्नो मोहकताले सवैलाई प्रभावमा पारेको छ ।
हिल स्टेसनका रुपमा रहेको श्रीनगर पर्यटन प्रवद्र्धनका लागि तानसेन नगरले पूर्वाधार निर्माण गरेसंगै यो स्थान पर्यटकीय लागि गन्तब्य स्थल बनेको हो । तत्कालीन तानसेन नगर पञ्चायतले श्रीनगरमा पञ्चायत रजत स्मारकसंगै साना साना भवन सोही समयमै निर्माण गरी यो स्थललाई पर्यटकीय गन्तव्य स्थल वनाएको स्थानीय तानसेनबासी बताउँछन् ।
पर्यटन प्रवद्र्धन गर्नकै लागि श्रीनगर डाँडामा तानसेन नगरले भ्यूटावर बनाएको छ । जसमा लाखौं रुपैया खर्च गरिएको छ । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ श्रीनगरमा भ्यू टावर बनेपछि टाढा टाढाको दृष्यावलोकन गर्न सकिने र हिम श्रृंखला समेत अवलोकन गरेर पर्यटकले फरक खालको अनुभूति गर्ने भएकोले यो स्थानमा पर्यटकको संख्या बढ्दै गएको बताउँछन । यहाँ थ्रिडी आकारमा वि.सं.२०२२ सालमा तत्कालिन राजा महेन्द्रको तानसेन आवागमन भएको वेला उनकै निर्देशनमा सल्लाका बिरुवा रोपिएको हो ।
वसन्त ऋतुमा यहाँका बनमा वनै रातो हुने गरी उत्तरी पाखामा रातो लाली गुराँस फुल्ने भएकोले टाढा टाढा जिल्लाका विद्यालयबाट समेत विद्यार्थीहरु अवलोकन भ्रमणका लागि आउने गर्दछन् । केही समय भने प्राकृतिक छटाले भरिपूर्ण श्रीनगरको दिगो विकास तथा व्यवस्थापन हुन नसक्दा अभिभावक विहीन जस्तै भएको थियो । धेरै समयपछि तानसेन नगरले पहल गरेपछि यहाँ पर्यटकको संख्यामा बृद्धि हुन थालेको हो ।

२०५१ सालको मध्यावधी निर्वाचन पछि वनेको सरकारले यहाँका जनतालाई सूचना र संचारको सहज पहुँच पुगोस भन्ने उद्देश्यले श्रीनगरमा नेपाल टेलिभिजनको टावर स्थापना गरेको थियो । तर, सशस्त्र द्वन्द्वको समयमा भने श्रीनगरमा बनेका सरकारी संरचना समेत ध्वस्त पर्दा करिव १० बर्ष श्रीनगरले पर्यटकको मुख देख्न नपाएको स्थानिय खेमबहादुर राना बताउँछन् । तानसेनको गहनाको रुपमा रहेको यो स्थल अझ बढी विकास हुनु पथ्र्यो तर हुन सकेको छैन् ।
स्थानिय वन समुदायले वन कानुन देखाउँदै श्रीनगरमाथि दावी गर्दा विकासमा समेत अवरोधको अवस्था आएको उनी बताउँछन् । सडक यातायातको सहज पहुँचदेखि अन्य पूर्वाधार बनेकोले श्रीनगर पर्यटकीय गन्तब्य बनेको हो । नेपालमा बनेका धेरै चलचित्रको छायांकन यही श्रीनगरमा भएको विर्सन सकिदैन् । विगतमा यहाँ आउने पर्यटकको सुविधाको लागि नगरपालिकाले सार्वजनिक शौचालय निर्माण गर्दा वन समूहले भत्काएको स्मरण गर्दै एक स्थानिय भन्छन्– माल पाएर चाल नपाएपछि यस्तो भयो ।
तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्य भन्छन्– स्थानिय वन समूह श्रीनगरमाथि दावी गर्दै उच्च अदालत पुगे तर पराजित भए ।
