Butwal Today

वन प्राविधिकहरूले आफूलाई तहमा राख्ने कानुन मागिरहेका छन् : अध्यक्ष खड्का

५ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

अर्घाखाँची ।

नेपाल वन प्राविधिक संघ लुम्बिनीका अध्यक्ष केशब खड्काले वन प्राविधिकहरूले आफुलाई तहमा राख्ने कानुन मागिरहेको बताएका छन् । वन प्राविधिकलाई नियमनको संरचनामा राख्न तथा उनीहरूको पेशागत पहिचान, मर्यादा सुनिश्चित गर्न वन परिषद्सम्बन्धी छुट्टै कानुन आवश्यक रहेको बताएका छन्।

नेपाल वन प्राविधिक संघ लुम्बिनीले वन प्राविधिक दिवसको अवसरमा आयोजना गरेको ‘लुम्बिनी वन परिषद् स् आवश्यकता, औचित्य र कार्यान्वयन’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष खड्काले यस्तो बताएका हुन्।

उनले लुम्बिनी वन परिषद्सम्बन्धी विधेयक प्रदेशसभाको आगामी अधिवेशनबाट पारित गराउने गरी आवश्यक प्रक्रिया अघि बढाउन वन, वातावरण तथा पर्यटनमन्त्रीलाई आग्रह गरे। वन प्राविधिकहरूको पेशागत नियमन, तहगत व्यवस्था, अनुशासन र कार्यसम्पादनलाई व्यवस्थित बनाउन वन परिषद् आवश्यक रहेको उनको भनाइ थियो।

वन व्यवस्थापनमा प्राविधिक जनशक्तिको भूमिका र माग बढ्दै गएको अवस्थामा प्राविधिकहरूको दक्षता, गुणस्तर र पेशागत विश्वसनीयता कायम गर्न परिषद् महत्वपूर्ण हुने खड्काले बताए। परिषद्ले वन प्राविधिकहरूको पेशागत मापदण्ड निर्धारण, क्षमता अभिवृद्धि, आचारसंहिता कार्यान्वयन तथा पेशागत अनुशासन कायम गर्न संस्थागत आधार प्रदान गर्ने उनको भनाइ थियो।

उनले प्रदेश सरकारले वन परिषद्सम्बन्धी विधेयक निर्माण गरी पारित र कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै यसलाई वन क्षेत्रको संस्थागत सुधार र पेशागत विकाससँग जोडिएको महत्वपूर्ण विषयका रूपमा अघि बढाउन आग्रह गरे।

कार्यक्रममा वन, वातावरण तथा पर्यटनमन्त्री तुल्सि प्रसाद चौधरिले वन परिषद् गठन र आवश्यक कानुन निर्माणका विषयमा आफू सकारात्मक रहेको बताउँदै यसका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

वन प्राविधिकहरूको पेशागत पहिचान, तहगत संरचना, नियमन र गुणस्तर सुनिश्चितका लागि गर्ने उद्देश्यले आयोजित विचार गोष्ठीमा लुम्बिनी प्रदेशमा वन परिषद् स्थापनाको आवश्यकता र कार्यान्वयनका विषयमा प्राडा राजेश राईको कार्यपत्रमा छलफल गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?