Butwal Today

नेपालमै पहिलो व्यावसायिक वास्तु सफ्टवेयर सार्वजनिक गर्दै संस्कार एकेडेमी

लेचर एन्टेना र आभा स्क्यानरको प्रयोगात्मक प्रशिक्षण पनि सञ्चालन गरिने
३ मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

काठमाडौं ।

वास्तु तथा अंकज्योतिषसम्बन्धी व्यावसायिक शिक्षा र परामर्शलाई प्रविधिसँग जोड्ने उद्देश्यले संस्कार एकेडेमीले नेपालमै विकास गरिएको व्यावसायिक वास्तु सफ्टवेयर सार्वजनिक गर्ने भएको छ । एकेडेमीले लेचर एन्टेना र आभा स्क्यानरको प्रयोगात्मक कार्यशालासहित तीनदिने आवासीय वास्तु गुरु कार्यकारी पाठ्यक्रमसमेत सञ्चालन गर्ने जनाएको छ ।

आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको बूढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रमअन्तर्गत मंसिर ४ गते ‘संस्कार वास्तु सफ्टवेयर’ को औपचारिक शुभारम्भ गरिनेछ ।

एकेडेमीका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा मुख्य प्रशिक्षक आचार्य राजाबाबु शाहको नेतृत्वमा सञ्चालन हुने कार्यक्रममा आवासीय, व्यावसायिक तथा औद्योगिक वास्तुका उन्नत सिद्धान्तबारे प्रशिक्षण दिइनेछ । भवनको दिशागत विश्लेषण, वास्तुसम्बन्धी समस्या पहिचान तथा व्यावसायिक प्रतिवेदन तयार गर्ने विधिसमेत सिकाइने आयोजकले जनाएको छ ।

कार्यक्रममा लेचर एन्टेना र आभा स्क्यानरको प्रयोग तथा सञ्चालनसम्बन्धी छुट्टाछुट्टै व्यावहारिक कार्यशाला सञ्चालन गरिनेछ । लेचर एन्टेनाको प्रयोग विधि, उपकरण सञ्चालन तथा परम्परागत ऊर्जा मूल्यांकनका अभ्यास गराइनेछ । त्यसैगरी आभा स्क्यानरको सञ्चालन र प्रयोग विधिबारे पनि सहभागीलाई व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।

एकेडेमीले विकास गरेको ‘संस्कार वास्तु सफ्टवेयर’ लाई वास्तु परामर्शको विश्लेषण र प्रतिवेदन तयार गर्ने प्रविधिका रूपमा अघि सारिएको छ । सफ्टवेयरमा भवनका १६ दिशागत क्षेत्र, ३२ प्रवेशद्वार र ४५ वास्तु देवता ऊर्जा क्षेत्रको विश्लेषण गर्न सकिने सुविधा रहेको जनाइएको छ ।

त्यस्तै मर्मस्थान विश्लेषण, दिशागत तथा देवता शक्तिको मूल्यांकन, ऊर्जा स्तम्भचित्र, भवनको नक्साको विस्तृत अध्ययन र व्यावसायिक वास्तु प्रतिवेदन तयार गर्ने सुविधा पनि सफ्टवेयरमा समेटिएको छ । यसले वास्तु परामर्शदाता, वास्तुविद्, आन्तरिक सजावट विशेषज्ञ तथा वास्तु अध्ययनमा संलग्न विद्यार्थीलाई सहयोग पुग्ने एकेडेमीको अपेक्षा छ ।

एकेडेमीका प्रमुख कार्यकारी अधिकृत तथा मुख्य प्रशिक्षक शाहले नेपाली वास्तु परामर्शदातालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने उद्देश्यले प्रशिक्षण, आधुनिक उपकरण र प्रविधिको विकासलाई एकसाथ अघि बढाइएको बताए ।

“हाम्रो उद्देश्य नेपालमा वास्तु तथा अंकज्योतिषको शिक्षा प्रदान गर्नु मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष परामर्शदाता तयार गर्नु पनि हो,” उनले भने

, “नेपाली परामर्शदाताले तयार गर्ने विश्लेषण र प्रतिवेदनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन व्यावहारिक प्रशिक्षण, आधुनिक उपकरण र आफ्नै व्यावसायिक सफ्टवेयर विकासलाई प्राथमिकता दिएका छौँ ।”
संस्कार एकेडेमीले व्यावसायिक वास्तु तथा अंकज्योतिष शिक्षामार्फत दक्ष परामर्शदाता उत्पादन गर्दै आएको जनाएको छ । प्रशिक्षण, उपकरण र प्रविधिको विकासमार्फत नेपाललाई वास्तु तथा अंकज्योतिषसम्बन्धी व्यावसायिक शिक्षा र परामर्शको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य संस्थाले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?