© 2026
पाल्पा ।
पाल्पाको तिनाउ गाउँपालिका–२, कुसुमडाँडाकी दुर्गादेवी रास्कोटीले खोलाबाट पानी बोकेर गाईवस्तुलाई खुवाएको वर्षौं भयो । घरनजिकै खोल्सा र कुवा भए पनि हिउँदमा भने पानी सुक्ने गर्दछ । एक घण्टा लगाएर दोभान खोलामा गई पानी बोक्नुपर्ने बाध्यता थियो । खानेपानीको कारण छिमेकीसँग धेरै पटक झगडा भएको उनले सुनाइन् । यो समस्या उनको मात्र होइन, कुसुमडाँडा र जामुनेका बासिन्दाको साझा समस्या हो । तर अहिले यो समस्या सदाका लागि अन्त्य भएको छ ।
तिनाउ गाउँपालिकाको एक घर एक धारा कार्यक्रमअन्तर्गत कुसुमडाँडा र जामुनेमा घरघरमा खानेपानी पु¥याइएको छ । कुसुमडाँडा र जामुने गरेर ५४ घरमै धारा जडान गरी खानेपानी पु¥याइएको वडा अध्यक्ष यादवप्रसाद अर्यालले बताए । वर्षायाममा खानेपानीको दुःख नहुने यो गाउँमा हिउँदमा साह्रै समस्या थियो । अहिले घरघरमा २४ घण्टा खानेपानी पुग्दा समस्याको अन्त्य भएको अर्यालले बताए ।
कुसुमडाँडाको बाउन खोलामा पानीको मुहान छ । बस्तीबाट टाढा हुँदा त्यहाँको पानी स्थानीयले प्रयोग गर्न पाएका थिएनन् । स्थानीयले कुसुमडाँडा सामुदायिक वनका खोल्सा–खोल्सीको पानीले आफ्नो जीविका चलाएका थिए । तिनाउ गाउँपालिकाको एक घर एक धारा कार्यक्रमअन्तर्गत स्थानीयले घरघरै पानीको धारा पाएको पालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । “पानीको मुहान छ, पानी त्यसै खेर गएको छ तर कुसुमडाँडाका स्थानीय घण्टौँ लगाएर पानी बोक्न बाध्य थिए ।
पालिकाको २५ लाख र प्रदेश सरकारको २५ लाख सहयोग गरी ५० लाख लागतमा खानेपानी आयोजना सम्पन्न भयो”, श्रेष्ठले भने । यो खानेपानी आयोजना तिनाउकै पहिलो सेडिमेन्टेसन ट्याङ्क प्रविधिको खानेपानी आयोजना हो । “यो प्रविधिमा खानेपानी मुहानमै शुद्धीकरण गरी उपभोक्ताको घरमै पु¥याउने गरिन्छ”, श्रेष्ठले बताए । मुहानमा २० हजार लिटरको एउटा ट्याङ्की छ, कुसुमडाँडामा १० हजार लिटरको ट्याङ्की गरी ३० हजार लिटरका ट्याङ्की निर्माण गरिएको छ ।
यो आयोजना २०८२ माघबाट सुरु गरी तीन महिनामै सम्पन्न भएको हो । उपभोक्ता समिति गठन गरी यो आयोजना सम्पन्न गरेको कुसुमडाँडा जामुने खानेपानी आयोजनाका अध्यक्ष खुमबहादुर सारुले बताए ।
यो आयोजनामा जिल्ला खानेपानी डिभिजन कार्यालयको प्राविधिक सहयोग रहेको छ । “सोहीअनुसार दुईवटा ट्याङ्की, मुहानमा सेडिमेन्टेसन ट्याङ्क प्रविधि र ५४ घरमा धारा जडान गरियो”, उनले भने ।
कुसुमडाँडा र जामुनेका स्थानीयले वैशाखबाट आफ्नै घरको धारामा पानी खान थालेका हुन् । खानेपानी उपभोक्ता समितिले मासिक १०० रूपैयाँ शुल्क लिन्छ । सोही शुल्कबाट उठेको रकम मर्मत तथा कर्मचारीको तलबमा खर्च गर्ने गरेको अध्यक्ष सारुले बताए ।
तिनाउ गाउँपालिकामा साना–ठूला गरी ११४ वटा खानेपानी आयोजना छन् । ९९ वटा आयोजना सम्पन्न भइसके भने बाँकी आयोजना सञ्चालनको क्रममा रहेका छन् ।