Butwal Today

आनीको सेवाभाव, पाण्डेको सुशासन प्रतिबद्धता

३ मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

भैरहवा ।

लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा सदस्य सचिव सन्तोष पाण्डे, कोषाध्यक्ष रमेश शेखर बज्राचार्यले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेलगत्तै उपाध्यक्ष आनी छोइङ डोल्मा र सदस्य सचिव सन्तोष पाण्डेले लुम्बिनीको विकास, संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उपाध्यक्ष डोल्माले सेवाभावलाई आफ्नो मुख्य उद्देश्य बताएकी छन् । सदस्य सचिव पाण्डेले सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शितालाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।

पदभार ग्रहणपछि उपाध्यक्ष आनी छोइङ डोल्माले आफू लुम्बिनीमा पद लिनभन्दा पनि सेवा गर्न आएको बताइन । लुम्बिनीको विकास र यहाँका बासिन्दामात्रै नभई सबै प्राणीको सेवामा आफू समर्पित रहने उनको भनाइ थियो ।
“आफ्नो क्षमता र बुद्धिले भ्याएसम्म सबै सहकर्मीसँग मिलेर सेवा गर्नेछु,” उनले भनिन् । लुम्बिनीको विकास कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव नहुने भन्दै उनले सबैको साथ र सहकार्य आवश्यक रहेको धारणा राखिन ।
कोषमा पहिलोपटक चार जना भिक्षु सदस्यका रूपमा रहनु राम्रो पक्ष भएको उल्लेख गर्दै डोल्माले सबै मिलेर लुम्बिनीको हितमा काम गर्ने विश्वास व्यक्त गरिन । उनले आफ्नो कार्यकालमा सहकर्मीहरूसँग सहकार्य गर्दै लुम्बिनीको सेवा र विकासमा योगदान पु¥याउने प्रतिबद्धता जनाईन ।

त्यस्तै, नवनियुक्त सदस्य सचिव सन्तोष पाण्डेले लुम्बिनी विकास कोषमा सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए । कोषलाई भ्रष्टाचाररहित बनाउने र प्रशासनिक कामदेखि आर्थिक कारोबारसम्म पारदर्शिता अपनाउने उनको भनाइ थियो ।

दान, भेटी तथा विभिन्न व्यक्ति र संस्थाबाट प्राप्त हुने सहयोग रकमको पारदर्शी व्यवस्थापनमा विशेष ध्यान दिइने पाण्डेले बताए ।
कोषको आम्दानी र खर्चलाई व्यवस्थित तथा जवाफदेही बनाउँदै संस्थाप्रति सर्वसाधारणको विश्वास बढाउने उनको प्रतिबद्धता छ ।
लुम्बिनीमा लामो समयदेखि देखिएको ठोस फोहोरमैला व्यवस्थापनको समस्या समाधान गर्नु पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए । विश्वभरबाट आउने पर्यटकले लुम्बिनीमा प्रवेश गर्दा शान्ति, स्वच्छता र आध्यात्मिकताको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

त्यसैगरी, लुम्बिनीको पुरानो गुरुयोजना (मास्टर प्लान) लाई सम्पदा क्षेत्रको आवश्यकताअनुसार स्तरोन्नति गर्ने र अधुरा रहेका विकास निर्माणका कामलाई छिटो सम्पन्न गर्ने पाण्डेले प्रतिबद्धता व्यक्त गरे । लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वलाई ध्यानमा राख्दै विकासका कामलाई व्यवस्थित ढंगले अघि बढाउने उनको भनाइ छ ।

दुवै पदाधिकारीका प्रतिबद्धताले लुम्बिनी विकास कोषमा नयाँ नेतृत्वको प्राथमिकता सेवा, सुशासन र व्यवस्थापकीय सुधारमा केन्द्रित रहने देखिएको छ । लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचानअनुसार पर्यटकीय सेवा, सरसफाइ, संरक्षण र विकास निर्माणका क्षेत्रमा देखिएका समस्या समाधान गर्नु र स्थानियहरूलाई लुम्बिनी प्रति अपनत्व जगाउने नयाँ नेतृत्वका लागि मुख्य चुनौतीका रूपमा रहेका छन् ।

उपाध्यक्ष र सदस्य सचिवको पदबहालीका क्रममा लुम्बिनी विकास कोष परिसरबाहिर कडा सुरक्षा व्यवस्था मिलाइएको थियो । पदबहाली कार्यक्रम भइरहँदा परिसरको बाहिरी क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । लुम्बिनी बचाउ महाअभियान नवनियुक्त उपाध्यक्षलाई पदबहाली गर्न नदिने र बहिष्कार गर्ने पूर्वघोषित कार्यक्रम रहेकोले सुरक्षा कडा बनाईएको थियो । यद्दपी पदभारको क्रममा कुने अप्रिय घटना भने हुन पाएन । पदभार अघि उपाध्यक्ष आनी छोईङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डे, कोषाध्यक्ष रमेश शेखर बज्राचार्य, सदस्य अर्जुन कुर्मी, दिपक कौशल, डा. अमित केसी, भिक्षुणी उपेक्षा लगायतले मायादेवी मन्दिरमा पूजा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?