© 2026
पाल्पा ।
कुनै समय पाल्पाका गाउँबस्तीमा बिहानैदेखि खेतबारीमा हलगोरु नारिएको दृश्य सामान्य थियो । किसानका घरमा कम्तीमा एक हल गोरु हुन्थे । खेतबारी जोत्नेदेखि जीविकोपार्जन र परिवारको भविष्यसमेत हलगोरुसँग जोडिएको हुन्थ्यो । गाउँमा हलीहरूको व्यस्तता पनि उत्तिकै हुन्थ्यो । कहिलेकाहीँ बिहानदेखि बेलुकासम्म खेतबारी जोतेर दिन बिताउने किसान र हलीहरू अहिले भने निकै कम भेटिन्छन् ।
समय फेरिएको छ । समयसँगै कृषिको प्रविधि र खेतीपाती गर्ने शैली पनि बदलिएको छ । हलगोरुको ठाउँ मिनी टिलर र ट्याक्टरले लिन थालेका छन् । पहिले दिनौँ लाग्ने खेत जोत्ने काम अहिले केही घण्टामै सम्पन्न हुन थालेको छ । प्रविधिले खेतीपाती सहज बनाएको छ भने कृषि क्षेत्रमा पुस्तौँदेखि जीविका चलाउँदै आएका हली र गोरूपालक किसानको पेसासमेत सङ्कटमा परेको छ ।
करिब तीन दशकअघिदेखि सरकारी अनुदानमा मिनी टिलर गाउँबस्तीमा पुग्न थालेपछि परम्परागत खेती प्रणालीमा परिवर्तन आउन थालेको हो । पाल्पाको माडीफाँटमा खेतीपातीका लागि सबैभन्दा पहिले २०४५ सालमा ट्याक्टर भित्रिएको थियो । त्यसपछि क्रमशः कृषि यान्त्रिकीकरण विस्तार हुँदै गयो । अहिले जिल्लाका अधिकांश गाउँबस्तीमा मिनी टिलर र ट्याक्टर पुगेका छन् ।
पहाडी भूगोल र भिरालो जमिनका कारण सबै ठाउँमा ठूला ट्याक्टर सञ्चालन गर्न सम्भव नभए पनि कृषि प्रयोजनका लागि जिल्लामा पाँच सयभन्दा बढी ट्याक्टर सञ्चालनमा छन् । जिल्ला कृषि विकास कार्यालयबाट अनुदानमा मिनी टिलर वितरण गर्न थालिएकोमा स्थानीय सरकारले समेत अनुदान दिन थालेपछि यसको प्रयोग व्यापक बनेको छ । स्थानीय तहहरूले पाँच हजारभन्दा बढी मिनी टिलर अनुदानमा वितरण गरिसकेका छन् । यसले गाउँबस्तीमा हलगोरु पाल्ने र जोत्ने परम्परा क्रमशः घटाउँदै लगेको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सन्तोष चौधरी आधुनिक कृषि प्रविधिले खेतीपातीको लागत र समय दुवै घटाएको बताउँछन् । परम्परागत शैलीको तुलनामा आधुनिक प्रविधिबाट खेती गर्दा लागत कम पर्ने भएकाले सरकारले पनि कृषि उत्पादनको लागत घटाउने नीतिगत योजनाअनुसार यान्त्रिकीकरणलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
गोरुको तुलनामा मिनी टिलरबाट खेत जोत्न कम खर्च लाग्ने र कम समयमा धेरै काम गर्न सकिने उनले बताए । उनका अनुसार गोरुले तीन दिनमा गर्ने काम पावर टिलरबाट एक दिनमै गर्न सकिन्छ । अहिले मिनी टिलर नपुगेको गाउँबस्ती नै कम रहेको उल्लेख गर्दै उनले कृषि यान्त्रिकीकरण प्रभावकारी बन्दै गएको बताए ।
तर, आधुनिक प्रविधिको विस्तारसँगै परम्परागत पेसामा आश्रित किसानको जीविकोपार्जनमा भने असर परेको छ । रम्भा गाउँपालिका–ताहुका ६४ वर्षीय श्यामबहादुर नेपाली यसको उदाहरण हुन् । सानै उमेरदेखि हलीको काम गर्दै आएका उनी अहिले पनि गोरु पालेर खेतीपाती गर्ने थोरै व्यक्तिमध्ये एक हुन् ।
‘सानो उमेरदेखि हली भइयो । अरू केही विकल्प छैन । कहिलेकाहीँ गोरु जोत्न बोलाउँछन् । त्यसबापत दुई हजार रूपैयाँ ज्याला लिने हो । खाली खासै बस्नुपर्दैन,’ उनी भन्छन्, ‘ट्याक्टर र मिनी टिलर पुग्न नसक्ने ठाउँमा गोरुले काम गर्छन् । तिनीहरूले गर्न नसक्ने काम पनि गोरुले नै गर्छन् ।’
गाउँभरि गोरु पाल्ने आफू मात्रै भएको बताउने नेपालीका लागि गोरूपालन अझै पनि आम्दानीको स्रोत बनेको छ । गोरु पाल्दा जोताइबाट नगद आम्दानी हुने र खेतबारीका लागि मलसमेत प्राप्त हुने भएकाले दोहोरो फाइदा भएको उनको अनुभव छ । तर, सरकारले कृषि उत्पादनको लागत घटाउने नाममा यान्त्रिकीकरणलाई प्राथमिकता दिँदा आफूमात्र नभई आफूजस्तै विपन्न परिवारको रोजगारीसमेत गुमेको उनको गुनासो छ ।
तिनाउ गाउँपालिका–कोलडाँडाका पुराना पुस्ताका डिलबहादुर सारु पनि हलगोरुको प्रयोग घट्दै गएकोमा चिन्तित छन् । पहिले गाउँका अधिकांश घरमा हलगोरु हुने र खेती लगाउने समयमा आलोपालो गरेर जोत्ने चलन रहेको उनी सम्झन्छन् । अनुदानमा जोत्ने मेसिन आउन थालेपछि भने गोरु पाल्ने परम्परा हराउँदै गएको उनको भनाइ छ ।
‘पहिले सबैका घरमा हलगोरु थिए । खेती लगाउँदा आलोपालो जोत्ने हो । जब अनुदानमा जोत्ने मेसिन आयो, तब गोरु पाल्ने काम हराउँदै गयो,’ उनी भन्छन्, ‘बारीको कुना–कुनामा मिनी टिलरले जोत्न मिल्दैन । बारीको कान्लामा दुःखले चढाउने हो । यो व्यर्थको साधन हो ।’
यद्यपि, आधुनिक प्रविधिले खेतीपातीको लागत र समय घटाएको तथ्यलाई पुरानो पुस्ताका किसानले पनि स्वीकार गरेका छन् । तानसेन नगरपालिकाको गोठुवाका बुद्धराज बस्याल परम्परागत प्रणालीभन्दा आधुनिक प्रविधिबाट खेती गर्दा खर्च निकै कम लाग्ने बताउँछन् ।
उनका अनुसार सात रोपनी बारी जोत्न पहिले १४ हल गोरु आवश्यक पर्थे । त्यसका लागि १४ हजार रूपैयाँ ज्याला खर्च हुन्थ्यो । तर, अहिले त्यही बारी ट्याक्टरबाट जोतेर धुलो बनाउन एक घण्टा मात्रै लाग्छ र तीन हजार रूपैयाँमा काम सकिन्छ ।
‘प्रविधिले खेती गर्न सजिलो बनाएको छ । रकमसँगै समय पनि बचत भएको छ । यसले कृषिमा लागत कम गरेको छ,’ उनी भन्छन् । सरकारले साना मेसिन र मिनी टिलरमा अनुदान दिने गरे पनि कृषि प्रयोजनका ट्याक्टरमा अनुदान नहुनु भने दुःखद भएको उनको भनाइ छ ।
रम्भा गाउँपालिका–हुँगीका कृषक रुक्मागत अर्याल भने पहाडी भूगोल र साना जमिनका लागि मिनी टिलर त्यति प्रभावकारी नभएको बताउँछन् । थोरै कामका लागि मिनी टिलर उपयोगी भए पनि धेरै जमिन भएका किसानका लागि ट्याक्टर नै उपयुक्त हुने उनको धारणा छ ।
‘साना भू–बनोटमा साना मेसिन त्यति प्रभावकारी हुँदैनन् । योभन्दा गोरुको जोताइ राम्रो हो । थोरै कामका लागि त ठीकै छ, तर धेरै जमिन भएकालाई ट्याक्टर नै उपयोगी हुन्छ,’ उनी भन्छन्, ‘स्थानीय सरकारले अनुदानमा वितरण गर्न थालेपछि सबैको घरघरमा साना मेसिन पुगेका छन् । यसमा बढी कम्पन हुने हुँदा शरीर छिट्टै थाक्छ । बिग्रियो भने नजिकै बनाउने ठाउँ पनि छैन ।’
रामपुरका पुराना कृषक तथा पूर्वजनप्रतिनिधि हुमनाथ न्यौपाने भने कृषि यान्त्रिकीकरणको विकल्प नरहेको बताउँछन् । उनका अनुसार खेतीपातीमा यन्त्रको प्रयोग बढ्दा उत्पादन लागत घट्ने, समय बचत हुने र श्रमको अभावसमेत कम हुने भएकाले अब प्रत्येक टोलमा कम्तीमा एउटा ट्याक्टर आवश्यक भइसकेको छ ।
‘कृषिमा यान्त्रिकीकरण आवश्यक छ । अब एउटा टोलमा एउटा ट्याक्टर चाहिन्छ । अनुदान दिने हो भने ट्याक्टरमा दिनुपर्छ । कृषि प्रयोजनका लागि ट्याक्टर अनिवार्यजस्तै भइसक्यो,’ उनी भन्छन्, ‘अब गोरु र पावर टिलरले मात्रै खेती गरेर हुँदैन । ट्याक्टरको विकल्प छैन । सरकारले यसैलाई अनुदानको व्यवस्था गर्नुपर्छ ।’
एकातिर आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा हलगोरुको महत्व घटिरहेको छ भने अर्कोतिर केही स्थानीय तहले गोरूपालनलाई संरक्षण गर्ने प्रयाससमेत गरेका छन् । रिब्दीकोट गाउँपालिका–ख्याहाका जनप्रतिनिधि चिरञ्जीवी पोखरेलका अनुसार गाउँमा रोजगारीका लागि प्रोत्साहन गर्ने उद्देश्यले गोरूपालन गर्ने किसानलाई अनुदान दिने व्यवस्था गरिएको छ । अहिलेसम्म चार जनाले यस्तो अनुदान लिइसकेका छन् ।
उनका अनुसार ख्याहामा गोरु पाल्ने किसानले आफ्नो गाउँमा मात्रै नभई अर्गलीसम्म पुगेर खेतबारी जोत्ने गरेका छन् । गाउँमा अहिले पनि २५ जनाले गोरूपालनलाई निरन्तरता दिइरहेका छन् ।
ख्याहाका दलवीर सुनार यसैमध्येका एक हुन् । उनले यसपटक हलो जोतेर ८० हजार रूपैयाँ आम्दानी गरेका छन् । खर्च कटाएर ६० हजार रूपैयाँ बचत भएको उनको भनाइ छ । यही गोरुको आम्दानीबाट चार जनाको परिवार राम्रोसँग पालिएको उनी बताउँछन् ।
स्थानीय तुल्सीराम न्यौपाने पनि गोरुको जोताइको विकल्प अन्य प्रविधिमा नरहेको बताउँछन् । गोरुले जोतेको जमिन मसिनो हुने भएकाले खेतीपातीका लागि उपयुक्त हुने उनको अनुभव छ ।
स्थानीय दिवाकर पराजुलीका अनुसार गोरुले खेतबारीका कुना–कुनासम्म जोत्न सक्ने भएकाले जमिन पूर्ण रूपमा खनजोत हुन्छ । आधुनिक प्रविधिबाट छिटो र सस्तोमा जोत्ने क्रममा कतिपय कुनाकाप्चा छुट्ने हुँदा पछि कोदालोले खन्नुपर्ने अवस्था आउने गरेको उनी बताउँछन् । गोरुले जोतेको जमिनमा वर्षायाममा माटो बग्ने समस्या पनि कम हुने उनको दाबी छ ।
सङ्घीय संरचनापछि बनेका स्थानीय सरकारले कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै अनुदान वितरणमा ठूलो रकम खर्च गरेका छन् । पाल्पाका स्थानीय तहहरूले कृषि यान्त्रिकीकरणका नाममा हालसम्म ५० करोड रूपैयाँभन्दा बढी खर्च गरिसकेका छन् । मिनी टिलर, पावर टिलरलगायतका उपकरणमा अनुदान दिँदै आएका स्थानीय सरकारले अब कृषि यान्त्रिकीकरणको प्रभावकारिता र अनुदान वितरणको आवश्यकताबारे पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।