© 2026
बुटवल, ४ फागुन ।
ग्यास बिक्रेता संघ रुपन्देहीले सिलिन्डर ग्यास प्रयोगमा सचेतना अपनाउन आग्रह गरेको छ । सामान्य सचेतनाले पनि मानिसको ज्यान जानबाट जोगिने भन्दै संघले ग्यास प्रयोग पछि अनिवार्य रुपमा बन्द गर्न, ग्यासको सिलिन्डरबाट ग्यास लिक भए नभएको नियमित रुपमा निरीक्षण गर्न, रेगुलेटर अनिवार्य रुपमा सेन्सर सहितको प्रयोग गर्न र थ्रि लेयर भएको पाईपको प्रयोग गर्न आग्रह गरेको हो ।
बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी रुपन्देही ग्यास बिक्रेता संघका अध्यक्ष प्रदिप पन्थले उपभोक्ताले समयमा ग्यास सुरक्षित गर्ने उपाय अपनाउने हो भने ठुलो दुर्घटना हुनबाट जोगिने बताए । उनले ग्यास विष्फोट हुने ३ वटा कारण सिलिन्डर, रेगुलेर र पाईपको कारणले हुने भन्दै ३ वटा वस्तु उच्च गुणस्तरको नेपा गुणस्तर चिन्ह प्राप्त भएको प्रयोग गर्न आग्रह गरेका हुन् ।पत्रकार सम्मेलनको बोल्दै संस्थाका अध्यक्ष पन्थले ग्यास प्रयोगमा उपभोक्ताको विचमा सचेतना नभएको कारण नै दुर्घटना हुने गरेको भन्दै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले उपभोक्ता सचेतानमा लगानी गर्नुपर्ने बताए ।
उनले सचेतना फैलाउने काममा ग्याँस बिक्रेता संघ जहिले पनि तयार रहेको जानकारी गराउँदै यसको सबै सरकारले लगानी गर्नुपर्ने माग समेत गरे । उपभोक्ता सचेतनाका लागि स्थानीय निकायबाट यथेष्ट बजेट विनियोजन गरी सोही अनुसारको उपभोक्ता सचेतना कार्यक्रम नियमित रुपमा विभिन्न स्थानमा चलाउनुपर्ने माग ग्याँस विक्रिेता संघ रुपन्देहीको रहेको छ ।
ग्यास विक्रेता संघले हाल ग्यासमा प्रयोग हुँदै आएको पिभिसी प्लाष्टिकको पाईप आयात बन्द गर्न माग गरेको छ । सरकारी निकायबाट ग्यास सम्बन्धी नियमन गर्ने निकाय नभएको भन्दै संघले यसको लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट नियमित रुपमा अनिवार्य रुपमा ग्यास उद्योग, उत्पादन अवस्था, उत्पादन पछिको भण्डारण लगायतका विषयमा अनुगमन, नियमन गर्न माग गरेको छ ।
महासचिव सूर्य खनालले रुपन्देहीमा हाल दैनिक १४ हजार ग्यास सिलिन्डर खपत रहेको भन्दै घरमा आगो लागिहालेमा नियन्त्रण गर्ने फायर डिडक्टर राख्न समेत आग्रह गरे । उनले सबै जना, उपभोक्ता, उत्पादक उद्योगीदेखि सबै जना सचेत भएमा ग्यास सिलिन्डर विष्फोटबाट बच्न सकिने भन्दै यसमा सबैको ध्यान जानुपर्ने बताएका हुन् ।
ग्यास विक्रेता संघले हाल बजारमा देखिएका सानो आकारका सिलिन्डर ग्यास अवैध रहेको र यसले कुनै पनि थिग्नेस नै नहुने भएको कारण यसलाई बन्द गर्न माग समेत गरेको बरिष्ठ उपाध्यक्ष कल्पना कुँवरले बताईन् । उनले नेपाल सरकारले आयात प्रतिबन्ध गरेको यो सिलिन्डर बजारबाट नियन्त्रणमा लिएर कारवाही गर्न समेत माग गरिन् ।