© 2026
गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिकामा चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाइ तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिकाको प्रशासनिक गतिविधि, विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय शान्ति सुरक्षाको अवस्थाको बारेमा समीक्षा गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चालिसेले चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा गाउँपालिकाबाट सम्पादन भएका विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक गतिविधिको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाइका क्रममा स्थानीयवासी भेषराज अर्याल, विवेक क्षेत्री, मनिराम रम्तेल, गोकर्णप्रसाद शर्मा, घनश्याम गौतम र वीरबहादुर थापा लगायतले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानी तथा दैनिक सेवा प्रवाहसँग सम्बन्धित जिज्ञासा, गुनासा र सुझाव राखेका थिए ।
नागरिकले उठाएका प्रश्नको जवाफ दिँदै गाउँपालिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चालिसे तथा सम्बन्धित वडाध्यक्षहरूले सेवाप्रवाह र विकास निर्माणका विषयमा स्पष्ट पारेका थिए । अध्यक्ष केसीले प्राप्त सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा गाउँपालिकाको सेवा प्रवाहलाई थप जनमुखी, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं प्रहरी उपरीक्षक भीमकिरण बोगटीले गाउँपालिका भित्रको शान्ति सुरक्षाको वर्तमान अवस्था तथा जिल्लाको समसामयिक सुरक्षा परिस्थितिबारे जानकारी गराएका थिए । उनले गाउँपालिकामा भएका विभिन्न घटनाको विवरण र सुरक्षा अवस्था सम्बन्धी बिवरण प्रस्तुत गर्दै नागरिकले राखेका जिज्ञासाको जवाफ समेत दिएका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी, सघं संस्थाका प्रतिनिधि, युवा तथा महिलाको सहभागिता रहेको थियो । सार्वजनिक सुनुवाइले स्थानीय सरकारको कामकारबाही प्रति नागरिकको चासो, गुनासा र सुझाव प्रत्यक्ष रूपमा सम्बोधन गर्ने अवसर प्रदान गरेको गाउँपालिका अध्यक्ष केसीले बताए । उक्त कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष एवं पत्रकार जनार्दन घिमिरेले गरेका थिए ।