© 2026
बाणगंगा ।
कपिलवस्तुको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई संगीतसँग जोड्दै ‘प्राचीन कपिलवस्तु म्युजिक कन्सर्ट २०८३’ आयोजना हुने भएको छ।
भगवान् गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा उनको बाल्यकाल र युवावस्थासँग जोडिएको ऐतिहासिक स्थल तिलौराकोटको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले ए एण्ड ए इभेन्ट्सले कन्सर्ट आयोजना गर्न लागेको हो।
सोमबार श्रीपेच रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमबारे जानकारी दिएको हो। आगामी पुस महिनामा साँझ ४ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने कन्सर्टमा चर्चित एक्सिस ब्यान्ड, र्यापर भ्योमा, बसन एण्ड द क्रु तथा ग्रुभी ल्याब डान्स स्टुडियोको विशेष प्रस्तुति रहनेछ।
आयोजक संस्था ए एण्ड ए इभेन्ट्सका सञ्चालक अनमोल सिंहका अनुसार संगीत र मनोरञ्जनमार्फत तिलौराकोटको ऐतिहासिक महत्त्व नयाँ पुस्तासम्म पुर्याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
कार्यक्रममा सहभागी दर्शकको सहजताका लागि घरसम्म पुग्ने यातायातको समेत व्यवस्था गरिने इभेन्ट म्यानेजर एलेक्स विक्रम शाहीले जानकारी दिए।
ऐतिहासिक सम्पदाको प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र स्थानीय व्यवसायलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको यस कन्सर्टले कपिलवस्तुको ऐतिहासिक पहिचानलाई संगीतमार्फत नयाँ पुस्तासँग जोड्ने विश्वास आयोजकले लिएको छ।