© 2026
कपिलवस्तु ।
कपिलवस्तुको इलाका प्रहरी कार्यालय पिपराले शान्ति सुरक्षा कायम गर्ने तथा अपराध नियन्त्रणका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा कार्यालय तथा मातहतका वडा प्रहरी इकाइहरूबाट सम्पादन भएका विभिन्न प्रहरी कार्यहरूको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पुरस्कृत गरेको हो ।
इलाका प्रहरी कार्यालय पिपराले आफ्नो कार्यक्षेत्रभित्र शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने, अवैध भन्सार छलीका गतिविधि रोक्ने, लागूऔषध तथा अन्य निषेधित पदार्थको ओसारपसार र चोरी निकासी नियन्त्रण गर्ने लगायतका क्षेत्रमा सक्रियतापूर्वक काम गर्दै आएको छ ।
कार्यालयले अपराध नियन्त्रणसँगै समाजमा शान्ति सुव्यवस्था कायम गर्न, नागरिकको जीउधनको सुरक्षा गर्न, गैरकानुनी गतिविधिमाथि निगरानी बढाउन तथा प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुमधुर बनाउन विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा प्रहरी कर्मचारीहरूले देखाएको सक्रियता, जिम्मेवारीप्रतिको प्रतिबद्धता र प्रभावकारी कार्यसम्पादनको कदर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उत्कृष्ट कार्यसम्पादनका आधारमा पुरस्कार प्रदान गरेको हो ।
यस प्रकारको पुरस्कारले प्रहरी कर्मचारीहरूमा थप उत्साह, ऊर्जा र जिम्मेवारीबोध बढाउनुका साथै आगामी दिनमा अझ प्रभावकारी रूपमा प्रहरी सेवा प्रवाह गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।