© 2026
सुर्खेत ।
कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ को तयारी चलिरहेको छ । कर्णाली प्रदेशको सुर्खेतलगायत कर्णालीका विभिन्न जिल्लामा हुने प्रतियोगिता नजिकिदै जाँदा तयारीले तीब्रता पाएको हो ।
कर्णाली प्रदेशमा पहिलोपटक हुन लागेको यो प्रतियोगिता दुई वर्षअघि अर्थात् २०८१ मंसिरमा गर्ने भनि मिति तय गरिएको थियो । तर, चार पटकसम्म तय गरिएको मिति स्थगित भएपछि पाँचौ पटकमा प्रतियोगिता हुने निश्चित भएको छ ।
प्रतियोगिताको सहआयोजक र खेल आयोजना स्थल कर्णाली रहे पनि मूल आयोजक भने राष्ट्रिय खेलकुद परिषद् रहेको छ । स्थानीय तहदेखि खेल प्रतिभाको खोजी, पहिचान र उत्पादन गर्दै नेपाली खेलकुदको विकास तथा विस्तार गर्ने उद्देश्यले प्रत्येक दुई वर्षमा चक्रीय प्रणाली अनुसार राष्ट्रिय खेलकुद आयोजना गर्ने व्यवस्था भए अनुसार यसपटक कर्णाली प्रदेशलाई प्रतियोगिताको जिम्मेवारी दिइएको हो ।
प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउँदै मूल आयोजक समितिले प्रतियोगिताको पूर्वतयारी, व्यवस्थापन तथा सञ्चालनका लागि कार्यसम्पादन समितिलाई आवश्यक निर्देशन दिएको छ ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् । त्यसैगरी प्रतियोगितामा ३२ खेल विधा समावेश गरिने जनाइएको छ ।
यस्तै, नेपाल सरकारबाट स्वीकृत दसौँ राष्ट्रिय खेलकुदको बजेट तथा खर्चसम्बन्धी नियमको अधिनमा रही प्रतियोगिताको खर्च व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

प्रतियोगितालाई प्रभावकारी र व्यवस्थित बनाउन निजी क्षेत्र, संघसंस्था तथा अन्य सरोकारवाला निकायको सहभागिता बढाइने भएको छ । त्यसका लागि सार्वजनिक–निजी साझेदारी (पीपीए) अवधारणा अवलम्बन गर्दै सम्भावित प्रायोजकसँग समझदारीपत्र गरी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय समेत गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि १४ वटा विषयगत उपसमिति गठन गरिएका छन् । कर्णाली खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार प्रतियोगिता सञ्चालनको लागि तयारी तिव्र पारिएको छ ।
सरोकारवाला भन्छन् : तयारी फितलो भयो
कर्णाली प्रदेशमा हुने ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ सुरु हुन अब १६ दिन मात्रै बाँकी छ । आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म हुने देशकै ठूलो खेल प्रतियोगिताको तयारी भने फितलो देखिएको सरोकारवालाहरु बताउँछन् । प्रतियोगिता तयारीको लागि समयको कमी भएको राष्ट्रिय खेलकुद परिषद्का पूर्व वोर्ड सदस्य नन्दा बस्याल बताउँछिन् । ‘तयारीको समय कम छ, सबै ठाउँहरुमा खेलाडी छनौट हुँदैछन्’ उनी भन्छिन्– ‘खेलाडी छनौट भएर दुई—तीन महिनासम्म बन्द प्रशिक्षणमा राखेर तयारी गर्न सकेमा नतिजा राम्रो आउने हुन्छ नत्र रिजल्ट राम्रो नआउन सक्छ ।’
बस्यालले प्रतियोगिताको लागि गठित उपसमितिहरुमा केन्द्रबाटै संयोजक तोकेको हुनाले समस्या देखिएको बताइन् । ‘१४ वटा उपसमितिमध्य अधिकांस केन्द्रबाटै छनौट भएका छन्’ उनी भन्छिन्, ‘समितिको संयोजक स्थानीय भएको भए स्थानीयलाई राम्रोसँग समेटेर लैजान सहज हुने थियो ।’
एक हजार बढी सुरक्षाकर्मी परिचालन
प्रतियोगिताको सुरक्षाका लागि १ हजार १२६ सुरक्षाकर्मी परिचालन गरिने भएको छ । प्रतियोगितामा १८ प्रकारका जिम्मेवारी तोकेर सुरक्षाकर्मी खटाउने तयारी गरिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डीआईजी जयराज सापकोटाले सबैभन्दा बढी ३ सय २१ जना सुरक्षाकर्मी कार्यक्रमस्थलको सुरक्षामा खटिने जनाए । उनका अनुसार १ सय ४८ जना रिजर्भमा र ९४ जना स्ट्यान्डबाइ टोलीमा रहनेछन् ।
सुरक्षा योजना अनुसार कमान्ड पोस्टमा ६८, अनुगमनमा ५०, पिकेटमा ६२, ट्राफिक व्यवस्थापनमा ४९, मोबाइल गस्तीमा ४३, पैदल गस्तीमा ३६ र चेकपोइन्टमा ५२ जना परिचालन गरिनेछ । डाइपोइन्ट ड्युटीमा १७, स्ट्राइकिङमा ४९, प्रवेशद्वारमा ३२ र निकासद्वारमा ३३ जना खटिनेछन्। त्यस्तै, कर्डनमा ३६, नागरिक सहायता कक्षमा १८ र सादा पोसाकमा १६ जना रहनेछन् । यस्तै ड्रोन, केनाइन र वाटर क्यानन परिचालनका लागि १० जनाको टोली बनाइनेछ ।
खेलाडी छनौट, बन्द प्रशिक्षण सुरु
प्रतियोगिताका लागि कर्णाली प्रदेशस्तरीय छनोट खेल सम्पन्न गरिएका छन् । कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीको प्रारम्भिक छनोट प्रक्रिया सम्पन्न गरिएको छ । सुर्खेतसहित विभिन्न जिल्लामा छनोट प्रतियोगिता गरिएको थियो । ब्याडमिन्टन, बक्सिङ, उसु लगायतका १४ खेल विधामा खेलाडी छनोटको काम पूरा गरिएको छ ।
छनोट भएका खेलाडीहरूलाई बन्द प्रशिक्षण सुरुवात भएको कर्णाली प्रदेश खेलकुद परिषद्ले जनाएको छ । बन्द प्रशिक्षणमार्फत खेलाडीको क्षमता अभिवृद्धि गर्ने, कमजोरी सुधार्ने र प्रतियोगिताका लागि आवश्यक तयारी पूरा गर्ने परिषद्ले जनाएको छ ।
कहाँ कहाँ हुदैछन् खेलहरु
कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ । कर्णालीमा भौगोलिक कठिनाइ र पूर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो ।
प्राविधिक समितिबाट अनुमोदित तालिका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ गते तय गरिएको छ ।
मुख्य आयोजक जिल्ला सुर्खेतमा प्रतियोगिताका अधिकांश ठूला मैदानी, इनडोर र मार्शल आट्र्सका खेलहरू सञ्चालन हुनेछन् । सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेलहरू हुनेछन् ।
कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता फाइटिङ खेलका साथै ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल सुर्खेतमै खेलाइनेछ । यसबाहेक कबड्डी, आर्चरी, भारत्तोलन, ईस्पोट्र्स र सेपाकताक्रो गरी कुल २३ खेल सुर्खेतमै सम्पन्न हुने तय भएको छ ।
कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा भने पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा केही खेलहरू विभाजन गरिएको छ । यसअन्तर्गत दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेलहरू आयोजना गरिनेछन् ।
कर्णाली प्रदेशमा आवश्यक पूर्वाधार अभावका कारण प्रतियोगिताका केही खेलहरू छिमेकी लुम्बिनी प्रदेशमा समेत सञ्चालन गरिनेछ । यस अनुसार पौडी र सुटिङका खेलहरू नेपालगञ्ज (बाँके) मा आयोजना हुनेछन् भने टेनिस र खो खोका खेलहरू बर्दियामा खेलाइने तय भएको छ ।
यसरी कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा, ५ खेल कर्णालीका अन्य चार जिल्लामा र ४ खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा विभाजन गरेर प्रतियोगिता आयोजना गर्न लागिएको छ ।