© 2026
अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले जनप्रतिनिधिहरूको प्रविधिसम्बन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) सम्बन्धी एकदिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।
बदलिँदो प्रविधिको विकाससँगै स्थानीय सरकारको कामकाजलाई आधुनिक, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाले कार्यक्रम आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताएका छन् ।
सन्धिखर्क नगरपालिकाको सभाहलमा नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा नगरसभा सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल खुला विश्वविद्यालयको विज्ञान, प्रविधि तथा स्वास्थ्य संकायका डिन डा। भोजराज घिमिरेले जनप्रतिनिधिहरूलाई कृत्रिम बौद्धिकतासम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।
प्रशिक्षणका क्रममा एआईको अवधारणा, विकासक्रम, प्रयोग, सम्भावना र व्यावहारिक उपयोगिताबारे जानकारी गराइएको थियो। विशेषगरी एआई प्रविधिको प्रयोगबाट स्थानीय तहको नीति निर्माण, योजना तर्जुमा, निर्णय प्रक्रिया, सूचना व्यवस्थापन तथा दैनिक प्रशासनिक कामलाई कसरी छिटो, सहज र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल महतले जानकारी दिए।
प्रविधिको तीव्र विकाससँगै स्थानीय सरकारका कामकारबाहीमा पनि नयाँ प्रविधिको प्रयोग आवश्यक बन्दै गएको अवस्थामा आयोजित कार्यक्रमले जनप्रतिनिधिहरूलाई डिजिटल प्रविधिको उपयोगबारे थप जानकारी प्रदान गरेको छ।
एआई प्रविधिको उचित प्रयोगबाट स्थानीय तहको कार्यसम्पादनलाई चुस्त बनाउनुका साथै सार्वजनिक सेवा प्रवाहलाई सरल, छरितो र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।
कार्यक्रमको समन्वय सन्धिखर्क नगरपालिकाको सूचना प्रविधि शाखाले गरेको थियो।