© 2026
काठमाडौँ । संसद्को अधिवेशन बन्द रहेको समयमा मन्त्री र सांसदहरूको विदेश भ्रमण बढेको छ । अन्तर्राष्ट्रिय सम्मेलन, विभिन्न देशका राजनीतिक दलको निमन्त्रणा तथा औपचारिक कार्यक्रममा सहभागी हुन मन्त्री र सांसदहरू एकपछि अर्को गर्दै विदेश गइरहेका छन् । तर भ्रमणको उद्देश्य, खर्चको स्रोत र त्यसबाट देशले प्राप्त गर्ने उपलब्धिबारे सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै प्रश्न उठ्न थालेको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्किएको अन्तालियामा पुगेका नेपाली प्रतिनिधिमण्डलमा मन्त्री र सांसदको संख्या उल्लेख्य छ । कृषिमन्त्री गीता चौधरीसहित पाँच मन्त्री तथा विभिन्न दलका सांसद सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका हुन् । केही मन्त्री सम्मेलनमा सहभागी भएर स्वदेश फर्किसकेका छन् भने केही अझै विदेशमै छन् ।
परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषिमन्त्री चौधरी सम्मेलनमा सहभागी भएर फर्किएका छन् । स्वास्थ्यमन्त्री निशा मेहता पनि सम्मेलनस्थल पुगेर श्रीलङ्का हुँदै स्वदेश फर्किएकी छन् । शिक्षामन्त्री सस्मित पोखरेल भने अन्तालियामै छन् ।
सम्मेलनमा सहभागी हुन सांसदहरू आशिष गजुरेल, सुम्निमा उदास, श्रीराम न्यौपाने, सागर ढकाल, कमल सुवेदी, अशोककुमार चौधरी, अर्जुनकुमार कार्की, धर्म केसी, नीता घतानी, परशुराम तामाङ, प्रमिलाकुमारी गच्छदार, राम लामा, राजेन्द्रलक्ष्मी गैरे र राधिका रम्तेललगायत पनि टर्की पुगेका छन् ।
नोभेम्बर ९ देखि २० सम्म चल्ने सम्मेलनमा नेपालले जलवायु परिवर्तनका असर र हिमाली क्षेत्रका मुद्दा उठाइरहेको छ । सम्मेलनस्थलमा नेपाल पेभिलियन स्थापना गरी विभिन्न विषयमा छलफलसमेत भइरहेको छ । तर नेपाल र भुटानले संयुक्त रूपमा अघि सारेको हिमाली मुद्दालाई सम्मेलनको छुट्टै औपचारिक कार्यसूचीमा समावेश गर्ने प्रस्ताव भने सर्वसम्मति जुट्न नसकेपछि अस्वीकृत भएको छ ।
यसैबिच रास्वपाका २० सांसदको टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा ११ दिने भ्रमणका लागि आइतबार चीन गएको छ । पार्टी महामन्त्री विपीन आचार्यको नेतृत्वमा गएको टोलीमा गणेश पराजुली, हरि ढकाल, कवीन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मालगायत सांसद छन् ।
टोलीले सिचुआन प्रान्तबाट भ्रमण सुरु गरी राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । भ्रमणका क्रममा दुई देशका राजनीतिक दलबीच सम्बन्ध विस्तार, लगानीका अवसर र आर्थिक सहकार्यका विषयमा छलफल गर्ने रास्वपाका नेताहरूले बताएका छन् । चीन जानुअघि टोलीले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि परामर्श गरेको थियो ।
गृहमन्त्री सुधन गुरुङ पनि संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार त्यसतर्फ गएका छन् । यूएई सरकारको निमन्त्रणामा गएको उनको टोलीले अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका अभ्यासबारे छलफल गर्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै, कानुनमन्त्री सोविता गौतम नेदरल्यान्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल बेलायत भ्रमणबाट फर्किएका छन् । मन्त्री पौडेलले नोभेम्बर ३ देखि ५ सम्म लन्डनमा आयोजित वल्र्ड ट्राभल मार्केटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलनमा सहभागी हुन कतारको दोहा गएर शुक्रबार फर्किएका छन् ।
रास्वपाकी सांसद डा. तोषिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला पुगेकी छन् । अर्की सांसद क्रान्तिशिखा धिताल अमेरिकामा छिन् । त्यस्तै रास्वपाका सांसद रञ्जु दर्शना र राधा खनाल पनि एक कार्यक्रमका लागि मलेसिया पुगेका छन् ।
यसैबिच आगामी मंसिर ६ गतेदेखि हुने प्रधानमन्त्रीको तीनदिने भारत भ्रमणमा पनि केही मन्त्री सहभागी हुने तयारी छ । परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री खडकराज पौडेल प्रधानमन्त्रीसँगै भारत जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
आफ्नै सांसदको प्रश्न– भ्रमणको खर्च कसले बेहोरेको हो ?
मन्त्री र सांसदहरूको विदेश भ्रमण बढिरहेका बेला रास्वपाकै केही सांसदले भ्रमणको औचित्य र आर्थिक पारदर्शितामाथि प्रश्न उठाएका छन् । उनीहरूले सरकारी खर्चमा हुने भ्रमणको विवरण सार्वजनिक गर्नुपर्ने र व्यक्तिगत रुचिका आधारमा राज्यको रकम खर्च गर्न नहुने बताएका छन् ।
रास्वपा सांसद गणेश कार्कीले कोप सम्मेलनमा सहभागी हुन टर्की पुगेका सांसद तथा अन्य व्यक्तिले आफ्नो भ्रमणको खर्च कसले बेहोरेको हो भन्ने स्पष्ट पार्नुपर्ने बताएका छन् ।
‘सधैँझैँ यसपालि पनि कोपमा जानेहरूको लर्को छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गरुन् । गर्नै पर्छ ।’
वातावरण विषयका विद्यार्थीसमेत रहेका कार्कीले कोप सम्मेलनबाट सिक्न सकिने विषय धेरै भए पनि त्यसका लागि राज्यकोषको दुरूपयोग गर्न नहुने धारणा राखेका छन् । व्यक्तिगत खर्च वा कुनै संस्थाको प्रायोजनमा सम्मेलनमा सहभागी हुनु र सरकारी खर्चमा भ्रमण गर्नु फरक विषय भएको उनको भनाइ छ ।
रास्वपाकै सांसद आशिका तामाङले पनि विदेश भ्रमणमा जाने सांसदले त्यसको उद्देश्य र उपलब्धिबारे सार्वजनिक जानकारी दिनुपर्ने बताएकी छन् । आफ्नै पार्टीका सांसदहरू कहाँ र के प्रयोजनका लागि विदेश गएका हुन् भन्ने जानकारीसमेत नहुने अवस्था रहेको उनको टिप्पणी छ ।
‘सांसदहरू विभिन्न समितिभित्र हुनुहुन्छ, आफ्नो आफ्नो समितिबाट विदेश भ्रमणमा सुटुक्क जानुहुन्छ र सुटुक्क आउनुहुन्छ, तर आफ्नै समितिभित्रका सदस्यहरूले समेत थाहा पाएका हुँदैनन्,’ तामाङले सामाजिक सञ्जालमा लेखेकी छन् ।
राज्यको लाखौँ रूपैयाँ खर्च गरेर गरिने भ्रमणबाट जनता र सांसदले प्राप्त गर्ने उपलब्धि स्पष्ट हुनुपर्ने उनको माग छ । भ्रमणको उद्देश्य र परिणाम सार्वजनिक नगरी विदेश गएर तस्बिर तथा सामाजिक सञ्जालमा सामग्री राख्नु मात्रै उपलब्धि हुन नसक्ने उनको टिप्पणी छ ।
अर्की सांसद ज्वाला संग्रौलाले पनि सांसदहरूको समूह बनाएर गरिने अनावश्यक विदेश भ्रमणप्रति असन्तुष्टि जनाएकी छन् । सम्बन्धित मुलुक वा संस्थाले आफ्नै खर्चमा विज्ञ तथा सांसदलाई निमन्त्रणा गरेको अवस्थामा भ्रमण उपयुक्त हुन सक्ने भए पनि राज्यकोषबाट ठूलो रकम खर्च गरेर विदेश जानु उचित नहुने उनको भनाइ छ ।
‘हुल बाँधेर विदेश भ्रमण गर्नु देश र जनहित विपरीत छ साथीहरू,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हिजो अरूले त्यही गर्दा गलत हुने, आज हामीले गर्दा सही हुने भन्ने कहाँ लेखेको छ ?’
आवश्यक भ्रमण र अनावश्यक भ्रमण छुट्याउनुपर्ने
परराष्ट्र मामिलाका जानकार तथा पूर्वराजदूत नीलाम्बर आचार्यले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र राष्ट्रिय हितका विषयमा छलफल गर्न मन्त्री तथा सांसदको विदेश भ्रमण आवश्यक भए पनि ठूलो संख्यामा भ्रमणमा निस्कनु उपयुक्त नहुने बताएका छन् ।
‘आवश्यक भ्रमण त गर्नुपर्छ, तर लर्को लागेर विदेश भ्रमण गर्नु त्यति राम्रो होइन,’ आचार्यले भने, ‘अहिले जसरी कोप सम्मेलनलगायत विभिन्न देशमा मन्त्री र सांसदहरू भ्रमणमा निस्केका छन्, त्यसमा मितव्ययी हुँदा राम्रो देखिन्छ र हुन्छ ।’
उनले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुअघि नै आवश्यक तयारी गरेर नेपालको एजेन्डामा समर्थन जुटाउन सकिने देश र प्रतिनिधिसँग छलफल गर्नुपर्ने बताए । भ्रमणलाई औपचारिक उपस्थितिमा मात्र सीमित राख्न नहुने उनको सुझाव छ ।
‘कोपजस्ता अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो एजेन्डा प्रस्तुत र पारित गराउन पहिल्यै तयारी गर्नुपर्छ । कुनकुन देशको समर्थन आवश्यक छ भन्ने पहिचान गरेर द्विपक्षीय छलफल गर्नुपर्छ,’ उनले भने ।
आचार्यका अनुसार परराष्ट्रमन्त्रीको नेतृत्वमा अन्तर्राष्ट्रिय सम्बन्धका विषय अघि बढाउनु उपयुक्त हुन्छ । अन्य मन्त्री तथा सांसदको भ्रमण पनि सम्बन्धित विषय र आवश्यकताका आधारमा तय हुनुपर्छ ।
‘विदेशी मुलुकले केकस्तो प्रगति गरेका छन् भन्ने जान्न मन्त्री र सांसदले भ्रमण गर्नु नराम्रो होइन,’ उनले भने, ‘तर भ्रमणपछि देश र जनतालाई कुनै न कुनै रूपमा फाइदा पुग्नुपर्छ । उपलब्धि हुने भ्रमणलाई मात्रै प्राथमिकता दिनुपर्छ ।’
मन्त्री तथा सांसदका विदेश भ्रमणको सङ्ख्या बढिरहेका बेला खर्चको स्रोत, भ्रमणको उद्देश्य र त्यसबाट प्राप्त उपलब्धि सार्वजनिक गर्ने विषयले महत्त्व पाएको छ । विशेषगरी सत्तारूढ दलकै सांसदहरूले यसबारे प्रश्न उठाएपछि विदेश भ्रमणलाई पारदर्शी र परिणाममुखी बनाउने चुनौती सरकार र सम्बन्धित राजनीतिक दलसामु देखिएको छ ।