© 2026
अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै स्थानीय सरकारका कामकारबाहीलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सञ्चालन गरेको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) सम्बन्धी तीनदिने तालिम सम्पन्न गरेको छ ।
गाउँपालिकाको आयोजनामा कात्तिक २७ देखि २९ गतेसम्म सञ्चालन भएको तालिममा जनप्रतिनिधि तथा कर्मचारीहरूलाई एआई प्रविधिको प्रयोग, महत्व र व्यावहारिक उपयोगका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । तालिमको पहिलो दिन जनप्रतिनिधि तथा दोस्रो र तेस्रो दिन गाउँपालिकाका कर्मचारीहरूलाई लक्षित गरी प्रशिक्षण सञ्चालन गरिएको थियो ।
गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालको उपस्थितिमा तालिममा नेपाल खुला विश्वविद्यालयको विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका डिन डा. भोजराज घिमिरे र सन्धिखर्क नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल महतले सहजकर्ताका रूपमा प्रशिक्षण दिएका थिए ।
तीन दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा एआईको अवधारणा, महत्व, प्रयोगका सम्भावना तथा स्थानीय सरकारका कामकाजमा यसको उपयोगबारे सहजीकरण गरिएको थियो । विशेषगरी प्रशासनिक कार्यसम्पादन, योजना निर्माण, सूचना तथा तथ्याङ्क व्यवस्थापन, प्रतिवेदन तयारी र सार्वजनिक सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउन एआई प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले जानकारी दिए ।
पहिलो दिन जनप्रतिनिधिहरूलाई नीति निर्माण, योजना तर्जुमा तथा निर्णय प्रक्रियामा आधुनिक प्रविधिको उपयोगबारे जानकारी गराइएको थियो भने दोस्रो र तेस्रो दिन कर्मचारीहरूलाई कार्यालयको दैनिक कामकाज र सेवा प्रवाहमा एआईको व्यावहारिक प्रयोगसम्बन्धी सीप प्रदान गरिएको थियो ।
सूचना प्रविधिको तीव्र विकाससँगै स्थानीय तहका कामकारबाहीलाई आधुनिक, पारदर्शी, छरितो र प्रभावकारी बनाउन जनशक्तिको क्षमता विकास आवश्यक रहेको भन्दै गाउँपालिकाले यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ ।
स्थानीय सरकारमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै जनप्रतिनिधि र कर्मचारीलाई प्रविधिमैत्री बनाउने यस्ता कार्यक्रमले सुशासन, प्रशासनिक दक्षता र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको सहजीकरण विप्रो टेक्नोलोजी प्रा।लि।, लैनचौर, काठमाडौंले गरेको थियो ।