Butwal Today

जाने होइन त पाल्पाको सत्यवती मेला ?

२३ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

पाल्पा ।

पाल्पाको सत्यवतीमा यो बर्षपनि भब्यरुपमा सत्यवती मेला हुने भएको छ । कार्तिक शुक्ल पूर्णिमाको रात पाल्पास्थित सत्यवती बजैको मन्दिरमा चिच्याएर बर माग्यो भने पूरा हुन्छ भन्ने जनविश्वास रही आएको छ । यो वर्ष मंसिर ८ गते पूर्णिमा परेको छ । पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दिरमा कात्तिक पूर्णिमाको अवसर पारी हरेक वर्ष आयोजना हुँदै आएको मेला यो बर्षपनि सुरु हुने भएको हो ।

तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले मंसिर ४ देखि ८ गतेसम्म सत्यवतीमा मेला हुने बताए । उनले भक्तजनलाई मन्दिरसम्म पुग्ने बाटो सहज बनाउनु सडक मर्मत गरिएको र पालिकाको तर्फबाट मन्दिर व्यवस्थापन समितिलाई सहयोग हुने बताए ।

मंसिर ४ देखि मेला सुरु हुने भएपनि मंसिर ७ गते राती पूर्णिमा परेकोले ७ र ८ गतेको दिनलाई यो बर्ष पुजाको विशेष दिनका रुपमा लिइएको छ ।
यो बर्षपनि मन्दिर परिसरमा लाइटिङको व्यवस्था तथा ठाउँ–ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिनुका साथै मदिराजन्य पदार्थलाई निषेधित गरिने भएको छ।
परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । यो बर्ष विगतका वर्षभन्दा भक्तजनको संख्या बढी हुने अनुमान गरिएको छ । तिहारपछिको पूर्णिमामा सत्यवती मेला लाग्ने गर्दछ । उक्त प्रचलन अनुसार सत्यवती मन्दिरमा पूजा गरेर वर मागेमा सत्यवती बजैले पूरा गरिदिने जनविश्वास रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमाको मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने गर्दछन् ।

बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ ।
यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?