Butwal Today

अपुष्ट हल्लाका भरमा आर्थिक चलखेलको प्रचार आधारहीन : महामन्त्री शर्मा

२३ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा फैलिएका अपुष्ट हल्लाका आधारमा आरोप नलगाउन आग्रह गरेका छन् ।

सोमबार नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कुनै बिचौलियाको भनाइ वा अपुष्ट प्रचारका आधारमा करोडौँ रुपैयाँको लेनदेन भएको निष्कर्षमा पुग्नु उचित नहुने बताएका हुन् ।

आफू र गगन थापाले पार्टी नेतृत्व परिवर्तनका लागि करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपको खण्डन गर्दै उनले पटक–पटक सत्तामा पुगेका नेताहरू र आफूहरूको राजनीतिक तथा आर्थिक हैसियत तुलना गरेर हेर्न आग्रह गरे ।

शर्माले राष्ट्रिय आवश्यकता र बदलिँदो परिस्थितिअनुसार नेपाली कांग्रेसलाई नयाँ सोच, ऊर्जा र दिशासहित अघि बढाउनुपर्ने समय आएको बताए। उनले अपुष्ट आरोप र हल्लाभन्दा तथ्य, प्रमाण र विवेकलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अब अध्ययन, मिहिनेत, एकता र योजनाका साथ पार्टी तथा देशको समृद्धिका लागि अघि बढ्नुपर्छ ।’

कुनै आपराधिक घटनामा पक्राउ परेको व्यक्तिले कसैको नाम जोडेर अभिव्यक्ति दिँदैमा त्यसलाई अदालत वा कानुनले स्वतः प्रमाणका रूपमा स्वीकार नगर्ने उल्लेख गर्दै शर्माले सामाजिक सञ्जालमा फैलिने अपुष्ट दाबीको पछि नलाग्न पार्टी कार्यकर्तालाई सचेत गराए ।

उनले कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया पार्टीको विधि, विधान र पद्धतिअनुसार सम्पन्न भएको दाबी गरे । महाधिवेशन प्रतिनिधिहरूको निर्णय नै अन्तिम हुने भन्दै उनले यस विषयमा अनावश्यक भ्रम सिर्जना नगर्न आग्रह गरे ।

काभ्रे कांग्रेसलाई संगठन विस्तार र सुदृढीकरणमा केन्द्रित हुन निर्देशन दिँदै शर्माले अनुभवी नेतृत्व र युवा पुस्ताबीच सहकार्य आवश्यक रहेको बताए । पार्टीलाई गाउँ, टोल र जनताको घरदैलोसम्म पुर्‍याउन तथा कार्यकर्तामा आशा र आत्मविश्वास जगाउन सके मात्रै समाजमा नयाँ विश्वास स्थापित गर्न सकिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?