Butwal Today

रोल्पामा मोबाइल पसलमा आगलागी, ७० लाख रुपैयाँ बराबरको क्षति

२३ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

रोल्पा ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ स्थित रुइनिबाङ बजारमा रहेको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट पसलभित्र रहेका विभिन्न कम्पनीका मोबाइल फोन तथा मोबाइल मर्मतमा प्रयोग हुने उपकरण र पार्टपुर्जा पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

सुनिलस्मृति गाउँपालिका–३ रुइनिबाङ बजारमा स्थानीय विकास गुप्ताले सञ्चालन गर्दै आएको लक्ष्मी मोबाइल सेन्टरमा राति करिब २ः३० बजे अचानक आगलागी भएको थियो । आगलागीबारे इलाका प्रहरी कार्यालय सुलिचौर, रोल्पामा बिहान ३ः३० बजे सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

सूचना प्राप्त हुनासाथ आगलागी नियन्त्रण तथा आवश्यक उद्धार कार्यका लागि प्रहरी टोली परिचालन गरिएको थियो । इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अनिल कुमार चौधरीको कमान्डमा सात जना प्रहरीको टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा बिहान ४ः०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीका कारण पसलभित्र बिक्रीका लागि राखिएका विभिन्न ब्रान्डका मोबाइल फोन, मोबाइल मर्मतका लागि प्रयोग गरिने पार्टपुर्जा तथा अन्य सामग्री जलेर नष्ट भएको बताइएको छ । प्रारम्भिक विवरणअनुसार घटनाबाट करिब ७० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट पसलमा रहेका सामान पूर्ण रूपमा नष्ट भए पनि मानवीय क्षतिबारे भने कुनै विवरण सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?