Butwal Today

तिहार र स्वास्थ्य सावधानीको कुरा

२३ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

प्रकाश बत्ती र रंगको पर्व शुभ दिपावली २०८३ को सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदिबहिनीहरूमा सु–स्वास्थ्य एवं दिर्घायूको कामना सहित हार्दिक मंगलमय शुभकामना । नेपालीहरूको दोस्रो ठूलो र अत्यन्तै मनोरम चाड तिहार जसलाई यमपञ्चक वा प्रकाश अर्थात बत्तीको पर्व पनि भनिन्छ ।

तिहार पर्व केवल धार्मिक कर्मकाण्ड वा रमाइलोमा मात्र सीमित छैन । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वले मानव जीवन, प्रकृति, जनावर र स्वास्थ्य बीचको गहिरो सम्बन्धलाई उजागर गर्दछ । उज्यालो, प्रकाश रङ, सम्बन्ध र पकवानहरूको यो सङ्गमले हाम्रो मानसिक तथा शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

तिहार दिदी बहिनी तथा भाइचारा, प्रेम र सद्भावको प्रतीकको पर्व हो । विशेषगरी काग तिहार, कुकुर तिहार, गाई तिहार, लक्ष्मीपूजा, गोवर्धन पूजा र भाइटिका गरी पाँच दिन मनाइने यो पर्वले मानिसलाई प्रकृति र जीवजन्तुसँग एकाकार गराउँछ । दिदीबहिनी र दाजुभाइबीचको पवित्र सम्बन्धलाई प्रगाढ बनाउने भाइटिकाले पारिवारिक एकता र आत्मीयतालाई बलियो बनाउँछ ।

तिहारले हामीलाई मानवकेन्द्रित सोंचबाट माथि उठेर प्रकृति र इतर जीवहरूको सम्मान गर्न सिकाउँछ । सन्देशवाहक काग, बफादार संरक्षक कुकुर, कृषि र दूधको स्रोत गाई तथा खेतबारी जोत्नमा सहयोग गर्ने गोरुको पूजा गरिनुले पारिस्थितिक प्रणालीमा सबैको समान महत्व छ भन्ने सन्देश दिन्छ । अँध्यारोमाथि उज्यालोको र अज्ञानतामाथि ज्ञानको विजयका रूपमा घरघरमा दियो बालेर लक्ष्मीको आह्वान गरिन्छ । यसले मानिसभित्र रहेको नकारात्मक ऊर्जालाई हटाएर सकारात्मक ऊर्जा र उमङ्ग भर्ने काम गर्छ । तिहारमा अपनाइने परम्परा, खानपिन र गरिने क्रियाकलापहरू वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यका लागि निकै लाभदायक छन् ।

भाइटिकामा दाजुभाईलाई ओखर फोर्ने र खान दिने चलन छ । ओखरमा प्रशस्त मात्रामा ओमेगा ३ फ्याटी एसिड, भिटामिन ई र एन्टी (अक्सिडेन्ट हुन्छ । यसले मुटुको स्वास्थ्य राम्रो बनाउनुका साथै मस्तिष्कको कार्यक्षमता बढाउँछ । मखमली नझर्ने र नओइलाउने भएकोले यसको सांस्कृतिक महत्व त छँदैछ । आयुर्वेदमा मखमली र सयपत्री फूललाई औषधि मानिन्छ । सयपत्रीको रस वा चियाले छालाको सङ्क्रमण र पाचनसम्बन्धी समस्यामा राहत दिन्छ ।

सप्तरङ्गी टीका र रङहरूले मानिसको मनस्थितिमा प्रत्यक्ष प्रभाव पादर्छ । चम्किला रङहरूले मस्तिष्कमा सकारात्मक हर्मोनहरू जस्तै डोपामाइन उत्सर्जन गराउन मद्दत गर्दछन् । जसले तनाव घटाउँछ ।

कार्तिक महिनामा जाडो सुरु हुने भएकाले दिन छोटा र रात अँध्यारा हुन थाल्छन् । यस्तो समयमा मानिसमा ुसिजनल एफेक्टिभ डिसअर्डरहरू अर्थात् मौसमी निराशापन देखिन सक्छ । तिहारमा बालिने दियो, बत्ती र झिलिमिलीले वातावरणलाई उज्यालो बनाउँछ । प्रकाश थेरापीको सिद्धान्त अनुसार यसले मानिसको मनमा उत्साह र सकारात्मक सोच सञ्चार गर्छ ।

लक्ष्मी पूजाको पूर्व सन्ध्यामा घर, आँगन, चोक र वातावरण सफा गरिने, पोतिने र सजाउने गरिन्छ । वर्षातपछि जम्मा भएका फोहोर, किटाणु र ओसिलोपन हटाउन यो परम्परा अत्यन्तै उपयोगी छ । सफा वातावरणले सङ्क्रामक रोगहरूबाट बचाउनुका साथै मानसिक शान्ति प्रदान गर्छ ।

देउसी भैलो खेल्ने, गीत गाउने, नाच्ने र परिवार तथा आफन्तजन भेला हुने परम्पराले मानिसलाई एक्लोपना र मानसिक तनावबाट मुक्ती दिलाउँछ । सामूहिक रूपमा मनाइने खुसीले शरीरमा इन्डोर्फिन हर्मोन बढाउँछ, जसले शरीरको प्रतिरोध क्षमतालाई समेत मजबुत बनाउँछ ।

तिहार स्वास्थ्यका लागि लाभदायी भएतापनि केही सावधानी अपनाउनु आवश्यक छ । सेलरोटी, मिठाई, र तेलिएका परिकारहरूको अत्यधिक सेवनले उच्च रक्तचाप, मधुमेह र पाचन प्रणालीमा समस्या ल्याउन सक्छ । त्यसैले परम्परागत पकवानको स्वाद लिँदा परिमाणमा ध्यान दिनुपर्छ । पटका र विष्फोटक पदार्थको प्रयोगले वायु र ध्वनि प्रदूषण बढाउँछ, जसले श्वास प्रश्वासका बिरामीमा दम र वृद्धवृद्धालाई असर गर्छ । तसर्थ, वातावरणमैत्री तिहार मनाउनु बुद्धिमानी हुन्छ । दियो र झिलिमिली बत्ती बाल्दा आगो लाग्ने वा करेन्ट लाग्ने जोखिम हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्छ ।

तिहार केवल एउटा महान पर्व मात्र नभई जीवनलाई ऊर्जावान्, भाइचारायुक्त र स्वस्थ बनाउने माध्यम हो । प्रकृति, प्राणी र मानवबीचको अन्तरसम्बन्धलाई सम्मान गर्दै सन्तुलित खानपिन र सुरक्षित तरिकाले तिहार मनाएमा यसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यलाई दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्दछ । उज्यालोको यो महान् पर्वले सबैको जीवनमा आरोग्य, सुख र समृद्धि ल्याओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?