© 2026
नवलपरासी ।
चाडपर्वको व्यस्ततामा सुरक्षा निकाय र अनुगमनकारी निकायको ध्यान अन्यत्र केन्द्रित भएको मौका छोप्दै पश्चिम नवलपरासीका विभिन्न खोलानालामा नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी–निकासी बढेको स्थानीयले आरोप लगाएका छन् । सुस्ताको नारायणी नदीदेखि सुनवल नगरपालिकाका भूमही र तुरिया खोलासम्म ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन, भण्डारण तथा ओसारपसार भइरहेको उनीहरूको भनाइ छ ।
स्थानीयका अनुसार रातको समयमा ट्र्याक्टर प्रयोग गरी खोलाबाट नदीजन्य पदार्थ निकाल्ने, विभिन्न स्थानमा भण्डारण गर्ने र पछि टिपरमार्फत अन्यत्र पठाउने गरिएको छ । खोला ठेक्का प्रक्रियाबाट औपचारिक निकासी नखुलेको अवस्थामा समेत दिनहुँ नदीजन्य पदार्थ बिक्री तथा आपूर्ति भइरहेको उनीहरूको दाबी छ । ठाउँठाउँमा नदीजन्य पदार्थको ठूलो परिमाणमा भण्डारण देखिए पनि त्यसको स्रोत र वैधानिकताबारे सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ ।
सुनवलका एक स्थानीयले स्थानीय जनप्रतिनिधि र प्रहरीकै जानकारी तथा सम्भावित मिलेमतोमा यस्तो कारोबार भइरहेको आशंका व्यक्त गरे । उनका अनुसार रातको समयमा ट्र्याक्टरबाट ढुंगा तथा मिस्कट संकलन गरी भण्डारण गर्ने र पछि टिपरबाट बजार तथा अन्य क्षेत्रमा पठाउने गरिएको छ । ’खोलाबाट औपचारिक रूपमा निकासी खुलेको छैन, तर दिनहुँ नदीजन्य पदार्थ बिक्री भइरहेको छ । भण्डारणमा रहेको सामग्री सकिएको देखिँदैन, तर बिक्री भने निरन्तर भइरहेको छ,’ उनले भने ।
उनले नदीजन्य पदार्थको उत्खनन र भण्डारणको वास्तविक अवस्था पत्ता लगाउन स्थानीय तह, प्रहरी प्रशासन र जिल्ला अनुगमनकारी निकायले संयुक्त अनुगमन गर्नुपर्ने बताए । प्रहरी तथा स्थानीय तहका प्रतिनिधिको भूमिका निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै उनले अवैध कारोबारमा कसैको संलग्नता भए छानबिन गरी कारबाही गर्न माग गरे ।
स्थानीयको आरोपअनुसार सुनवलस्थित प्रस्तावित औद्योगिक ग्राम क्षेत्रअन्तर्गत पर्ने तुरिया खोलाबाट समेत रातको समयमा व्यापक रूपमा नदीजन्य पदार्थ निकाल्ने गरिएको छ । ट्र्याक्टरमार्फत ल्याइएको ढुंगा तथा मिस्कट औद्योगिक ग्राम परिसरभित्रको झाडीमा लुकाएर राख्ने र पछि टिपरबाट बाहिर पठाउने गरिएको उनीहरूको दाबी छ । झाडीभित्र जेसीबीसमेत लुकाएर राख्ने गरिएको स्थानीयले बताएका छन् । साँझ र बिहानको समयमा ट्र्याक्टर परिचालन गरी नदीजन्य पदार्थ संकलन गर्ने र अनुकूल समयमा टिपरबाट निकासी गर्ने गरिएको उनीहरूको भनाइ छ ।
एक स्थानीयले सुनवल चोकसम्म टिपर ल्याउन प्रहरीका घुमुवासँग समेत तालमेल मिलाउने गरिएको आरोप लगाए । प्रहरीको निगरानी कमजोर भएको हो वा कसैको मिलेमतोमा यस्तो गतिविधि भइरहेको हो भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उनको माग छ । यद्यपि प्रहरी कर्मचारीको संलग्नताबारे लगाइएको आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
समस्या सुनवलमा मात्र सीमित नरहेको र रामग्राम नगरपालिकाका विभिन्न खोलाबाट समेत नदीजन्य पदार्थको चोरी–निकासी भइरहेको स्रोतको दाबी छ । समयमै नदीजन्य पदार्थ उत्खनन तथा निकासीका लागि ठेक्का व्यवस्थापन हुन नसक्दा अवैध कारोबार गर्नेहरू सक्रिय भएको स्थानीयको भनाइ छ ।
सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले पनि समयमा खोला ठेक्का हुन नसक्दा नदीजन्य पदार्थको अवैध उत्खनन बढेको बताइन् । चालु आर्थिक वर्षमा ठेक्का प्रक्रियाका लागि आवश्यक निर्णय गरी डिभिजन वन कार्यालय नवलपरासीका प्रमुखलाई प्रक्रिया अघि बढाउन आग्रह गरिए पनि ठेक्का हुन नसकेको उनको भनाइ छ ।
जिल्ला समन्वय समितिका प्रमुख भगौतीप्रसाद यादव (रुदल)ले नदीजन्य पदार्थको अवैध उत्खनन तथा भण्डारणबारे गुनासा आएको स्वीकार गरे । उनले साउनमै जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकालाई नदीजन्य पदार्थको मौज्दात विवरण पठाउन पत्राचार गरिएको भए पनि हालसम्म कुनै पनि पालिकाबाट विवरण प्राप्त नभएको बताए ।
प्रमुख यादवले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसँग जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा संयुक्त अनुगमनको विषय उठाएको जानकारी दिए । तिहारपछि पत्रकारसहित जिल्लास्तरीय अनुगमन गर्ने तयारी भएको उल्लेख गर्दै उनले सार्वजनिक सम्पत्तिको संरक्षण सबैको दायित्व भएको बताए । नदीजन्य पदार्थबाट स्थानीय तह र प्रदेश सरकारले राजस्व प्राप्त गर्ने भए पनि यसको संरक्षण र अनुगमन प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।
यता, डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख धनिश्वर न्यौपानेले बाबा बर्दगोरिया क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको सूचना प्राप्त भएपछि तत्काल गस्ती परिचालन गरिएको बताए । खोला ठेक्का प्रक्रियाका लागि स्थानीय तहबाट समेत निवेदन प्राप्त नभएको उल्लेख गर्दै उनले दसैँ बिदाका कारण प्रक्रिया अघि बढ्न नसकेको र अब आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन थापाले सुनवल क्षेत्रमा नदीजन्य पदार्थको चोरी–तस्करी भइरहेको भन्ने गुनासो आउने गरेको स्वीकार गरे । त्यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले प्रयास गरिरहेको बताउँदै उनले नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार नियन्त्रणमा वन कार्यालय र स्थानीय सरकारको प्रमुख जिम्मेवारी रहने स्पष्ट पारे । प्रहरी सहयोगी निकायका रूपमा परिचालित हुने उनको भनाइ छ ।
यस विषयमा सुनवल नगरपालिकाकी अनुगमन प्रमुखसमेत रहेकी उपप्रमुख सूर्य दुबेलाई सम्पर्क गर्दा फोन उठेन ।
खोलामा उत्खनन रोकिएको दाबी गरिए पनि विभिन्न स्थानमा नदीजन्य पदार्थको भण्डारण र बिक्री भइरहेको स्थानीयको आरोपले प्राकृतिक स्रोतको संरक्षण तथा राजस्व व्यवस्थापनमाथि प्रश्न उठाएको छ । ठेक्का प्रक्रियामा भएको ढिलाइ, मौज्दात विवरणको अभाव र प्रभावकारी अनुगमन नहुँदा अवैध उत्खननले प्रश्रय पाएको स्थानीयको गुनासो छ ।
सम्बन्धित निकायले खोलाको वास्तविक अवस्था, भण्डारण गरिएको सामग्रीको स्रोत र निकासीको वैधानिकता जाँच गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग उनीहरूले गरेका छन् ।