Butwal Today

दीपावलीमा पटका र जुवातास निषेध, नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने रोल्पा प्रशासनको चेतावनी

२१ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

रोल्पा ।

रोल्पामा नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् शुभ दीपावलीलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा मनाउन जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि, सामाजिक विकृति तथा अवाञ्छित घटनालाई नियन्त्रण गर्न प्रशासनले पटका, आतिसबाजी र जुवातास खेल्न पूर्ण प्रतिबन्ध लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय रोल्पाले दीपावलीका अवसरमा जिल्लावासीका नाममा अत्यन्त जरुरी सूचना जारी गर्दै चाडपर्वको मौलिकता, सांस्कृतिक महत्त्व र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारद्वारा जारी सूचनामा पर्व मनाउने क्रममा सार्वजनिक शान्ति सुरक्षामा असर पर्ने गतिविधि नगर्न सचेत गराइएको छ ।

प्रशासनले तिहारका अवसरमा सञ्चालन गरिने देउसी-भैलो कार्यक्रमलाई नेपाली मौलिक संस्कृति, परम्परा र आपसी भाइचाराको संरक्षण गर्ने माध्यमका रूपमा लिनुपर्ने जनाएको छ । यस्ता कार्यक्रमले समाजमा एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई बलियो बनाउन सहयोग पुर्‍याउने भएकाले अनुशासित तथा व्यवस्थित ढङ्गले सञ्चालन गर्न आग्रह गरिएको छ ।

देउसी-भैलो खेल्ने क्रममा मादक पदार्थ सेवन गरी कार्यक्रम सञ्चालन गर्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने तथा अरूलाई असहज हुने व्यवहार गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ । ध्वनि प्रदूषण नियन्त्रणका लागि माइक, लाउडस्पिकर र बाजा अत्यधिक ठूलो आवाजमा बजाउनसमेत रोक लगाइएको छ । विशेषगरी अस्पताल, विद्यालय तथा अन्य संवेदनशील क्षेत्रमा ध्वनिको प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने सूचनामा उल्लेख छ ।

कुनै पनि घर, निजी निवास, कार्यालय वा व्यापारिक प्रतिष्ठानमा देउसी-भैलो खेल्न जानुअघि सम्बन्धित पक्षको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । अनुमति नलिई जबरजस्ती कार्यक्रम सञ्चालन गर्ने, चन्दा वा दक्षिणा माग्ने तथा सर्वसाधारणलाई रकम दिन दबाब दिने कार्य निषेध गरिएको छ । सडक, चोक र सार्वजनिक स्थानमा सवारी साधन तथा पैदलयात्रीको आवागमनमा अवरोध हुने गरी कार्यक्रम गर्न पनि पाइने छैन ।

चाडपर्वको समयमा हुन सक्ने दुर्घटना र आगलागीका जोखिमलाई ध्यानमा राख्दै प्रशासनले पटका, आतिसबाजी, विस्फोटक पदार्थ तथा आगलागी गराउन सक्ने सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ । त्यस्ता वस्तुको ओसारपसार, बिक्रीवितरण र भण्डारणसमेत गैरकानुनी हुने सूचनामा जनाइएको छ । सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने, फोहोरमैला गर्ने र सार्वजनिक स्थानमा अव्यवस्थित जमघट गर्ने गतिविधि नगर्न पनि आग्रह गरिएको छ ।

त्यसैगरी, तिहारका नाममा जुवातास खेल्ने, खेलाउने तथा सट्टेबाजीमा संलग्न हुने कार्यलाई निरुत्साहित गर्दै प्रशासनले कानुनी कारबाहीको चेतावनी दिएको छ । जातीय, धार्मिक, भाषिक तथा सांस्कृतिक आधारमा द्वेष फैलाउने गीत, नारा वा व्यवहार प्रदर्शन गर्न नपाइने उल्लेख गरिएको छ । सामाजिक सञ्जालमा भ्रामक सूचना, अफवाह तथा समाजमा वैमनस्यता उत्पन्न गर्ने सामग्री प्रसारण नगर्न पनि सर्वसाधारणलाई सचेत गराइएको छ ।

चाडपर्वका बेला घरपरिवारका सदस्यहरू विभिन्न कार्यक्रममा व्यस्त हुने र कतिपय घर खाली रहने अवस्थालाई मध्यनजर गर्दै चोरी तथा अन्य आपराधिक घटनाबाट जोगिन सुरक्षा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ । घर तथा पसलको सुरक्षामा ध्यान दिन, ढोका र झ्याल बन्द गर्न तथा शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन भनिएको छ । दीप प्रज्वलन गर्दा आगलागी हुन नदिन आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरिएको छ ।

देउसी-भैलो कार्यक्रमका आयोजकहरूले सम्बन्धित स्थानीय तह, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । कुनै स्थानमा झैझगडा, आगलागी, चोरी वा शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायमा खबर गर्न प्रशासनले आग्रह गरेको छ । बालबालिकालाई यस्ता कार्यक्रममा सहभागी गराउँदा अभिभावकले विशेष निगरानी राख्नुपर्नेमा पनि जोड दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पाले जारी सूचनामा उल्लेख गरिएका निर्देशनको उल्लङ्घन गर्ने तथा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भावमा खलल पुर्‍याउने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

प्रशासनले चाडपर्वलाई उल्लासमय बनाउने नाममा अरूको अधिकार, स्वतन्त्रता र सुरक्षामा असर पार्ने गतिविधि नगर्न सबै जिल्लावासीलाई आग्रह गरेको छ । सांस्कृतिक परम्पराको संरक्षण गर्दै जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सके तिहारलाई सुरक्षित, सभ्य र सद्भावपूर्ण बनाउन सकिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?