Butwal Today

बुद्धभूमिका ५० युवा बने सर्प उद्धारकर्ता

२१ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

चन्द्रौटा ।

सर्प देख्ने बित्तिकै डराउने, भाग्ने वा मार्न खोज्ने प्रवृत्ति अझै पनि छ । यही डर र जोखिम न्यूनीकरण गर्दै मानव र सर्प दुवैको सुरक्षा गर्न कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नयाँ अभियान थालेको छ । नगरले १० वटै वडामा ५० जना तालिमप्राप्त युवा सर्प उद्धारकर्ता परिचालन गरेको छ ।

अब बस्तीमा सर्प देखिएमा मार्नुपर्ने अवस्था आउन नदिन सुरक्षित रूपमा उद्धार गर्ने जिम्मेवारी स्थानीय युवाले सम्हाल्ने नगरपालिकाले जनाएको छ । सर्प उद्धारकर्ता कमल देवकोटाले सर्पले सामान्यतया मानिसलाई आक्रमण गर्न नखोज्ने बताए । मानिसले जिस्क्याउने, समात्ने वा मार्ने प्रयास गर्दा जोखिम बढ्न सक्ने उनको भनाइ छ । सर्प देखिएमा आफैँ समात्ने वा मार्ने प्रयास नगरी सुरक्षित दूरी कायम गर्दा सुरक्षित रहने देवकोटाले सुझाए । यस्तै नगरप्रमुख केशवकुमार श्रेष्ठले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्दै नागरिकको सुरक्षा गर्न अभियान सञ्चालन गरिएको बताए । सर्प देख्ने बित्तिकै मार्नेभन्दा सुरक्षित उद्धार गर्ने संस्कृतिको विकास आवश्यक रहेको उनले बताए ।

यसैबिच १ नम्बरका वडाध्यक्ष तेजबहादुर बस्नेतले सर्प दंशको जोखिम रहेका ग्रामीण बस्तीमा स्थानीय स्तरमै उद्धारकर्ता उपलब्ध हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए । नगर युवा परिषद्का उपाध्यक्ष शेखर न्यौपानेले नगरका सबै वडामा उद्धारकर्ता तयार पार्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । कपिलवस्तु सर्प दंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले सर्प दंश भएमा समयमै उपचार नपाउँदा ज्यान जोखिममा पर्न सक्ने भन्दै तत्काल स्वास्थ्य संस्थामा पुग्न आग्रह गरे ।

नगर युवा परिषद्को पहल तथा नगरको आर्थिक सहयोगमा युवालाई २ दिने सर्प उद्धार तालिम प्रदान गरिएको हो । कपिलवस्तु सर्प दंश उपचार केन्द्रमा भएको तालिममा अनुभवी सर्प उद्धारकर्ता कमल देवकोटा र रुपन्देहीका उद्धारकर्ता खेम सारू मगरले प्रशिक्षण दिएका थिए । युवालाई सर्पको पहिचान, व्यवहार, सुरक्षित उद्धार विधि र उद्धारका क्रममा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?