© 2026
बाणगंगा ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले प्रहरी र समुदायबिचको सम्बन्ध सुमधुर बनाउन भौतिक पूर्वाधारसँगै आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय कोपवामा नवनिर्मित दुई कोठे प्रहरी ब्यारेक भवनको शुक्रवार उद्घाटन गर्दै उनले प्रहरीको सेवा प्रवाहलाई प्रभावकारी बनाउन समुदायको सहयोग महत्त्वपूर्ण हुने उल्लेख गरे ।
भवन निर्माणमा सहयोग गर्ने बाणगंगा नगरपालिका, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा समुदायप्रति धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि प्रहरी र नागरिकबिचको सहकार्यलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा बाणगंगा नगरपालिका–५ का वडाध्यक्ष दुनिकाप्रसाद भुसालले प्रहरीलाई आवश्यक पूर्वाधार र सहयोग उपलब्ध गराउनु सबैको साझा दायित्व भएको बताए । उनले स्थानीयको सहयोगमा निर्माण भएको भवनले प्रहरी कर्मचारीको कार्यसम्पादन सहज बनाउने विश्वास व्यक्त गरे ।
त्यस्तै, वडा नं. ६ का वडाध्यक्ष करुण टण्डनले प्रहरी र समुदायबिचको सहकार्यले शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले स्वागत गरेको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो । बाणगंगा नगरपालिकाको आर्थिक सहयोगमा उक्त ब्यारेक भवन निर्माण गरिएको हो ।