Butwal Today

तिहारमा बाणगंगाका बारी पहेँलपुर

२१ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

बाणगंगा ।
तिहार नजिकिएसँगै कपिलवस्तुको बाणगंगामा सयपत्री फूलको माग बढेको छ। घरआँगनदेखि बजारसम्म तिहारको रौनक छाउन थालेपछि स्थानीय किसानलाई फूल टिप्न, माला उन्न र बजार पु¥याउन भ्याइनभ्याइ हुन थालेको छ । विगतमा धान, गहुँ लगायतका परम्परागत खेती गर्दै आएका किसान पछिल्लो समय सयपत्री फूलखेती तर्फ आकर्षित हुन थालेका छन् । प्लास्टिकका कृत्रिम माला विस्थापित गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानले व्यावसायिक तथा घरेलु रूपमा फूलखेती विस्तार गरिरहेका छन् ।

बाणगंगा नगरपालिका–२ का हरि घिमिरे यस वर्ष पहिलोपटक तीन कठ्ठा जमिनमा सयपत्री फूलखेती गरेका छन् । रूपन्देहीको मणिग्रामबाट ७ सय बेर्ना ल्याएर उनले भदौ १० गते रोपेका हुन्। फूलखेतीबारे अनुभव लिन उनले यसअघि खेती गर्दै आएका विकास बन्जाडेसँग सल्लाह र सुझाव लिएर सुरु गरेका थिए ।

घिमिरेले पहिलो वर्ष भएकाले तत्कालै ठूलो आम्दानी गर्नेभन्दा पनि स्थानीय स्तरमै फूल उत्पादन गर्ने र प्लास्टिकजन्य मालाको प्रयोग घटाउने उद्देश्यले खेती सुरु गरेको बताए। उनको तीन कठ्ठा जमिनमा करिब चार क्विन्टल फूल उत्पादन हुने अपेक्षा छ । हालसम्म एक क्विन्टल फूल बिक्री भइसकेको छ। माग भने उत्पादन भन्दा बढी रहेको उनको अनुभव छ ।

१८ सय माला माग आएको छ, तर उत्पादनले सबै माग पूरा गर्न सक्ने अवस्था छैन,’ घिमिरेले भने। बजार व्यवस्थापनको काम उनका छोराले गर्दै आएका छन्। उनले खुला फूल प्रतिकेजी चार सय रूपैयाँ र प्रतिमाला एक सय रूपैयाँका दरले बिक्री गर्दै आएका छन्। बजारमा फूलको माग राम्रो भएकाले बिक्रीमा समस्या नभएको उनको भनाइ छ ।

फूलखेती सँगै उनले माला उन्ने पाँच जनालाई रोजगारी समेत दिएका छन ्। स्थानीय स्तरमा फूलखेती गर्ने किसानबीच प्रतिस्पर्धा नरहेको र उत्पादनले बजार पाउन थालेको उनले स्थानीय सरकारले कीटनाशक औषधि उपलब्ध गराएको उल्लेख गर्दै उनले फूलको बीउ महँगो पर्ने भएकाले किसानलाई सहज मूल्यमा बीउ उपलब्ध गराउनुपर्ने माग गरे । आगामी वर्ष यस वर्षको उत्पादन र बजारको अवस्था राम्रो रहे १० कठ्ठा जमिनमा फूलखेती विस्तार गर्ने उनको योजना छ । साथै, प्लास्टिकजन्य माला आयात तथा बिक्रीमा रोक लगाउन स्थानीय सरकारले प्रभावकारी पहल गर्नुपर्ने उनको सुझाव छ । बाणगंगा नगरपालिका–३ का पुष्प व्यवसायी नारायण अर्याल पनि पछिल्लो चार–पाँच बर्षदेखि फूलखेतीमा रमाइरहेका छन् । विगतमा धान र गहुँखेती गर्दै आएका उनले अहिले पाँच कठ्ठा जमिनमा सयपत्री फूल लगाएका छन् । उनले थाइल्यान्ड कर्मा नामक जातको फूल रोपेका हुन्। उक्त जातको एउटा बेर्नाको मूल्य १५ रूपैयाँ पर्ने उनले बताए ।

अर्यालका अनुसार फूलखेती सुरु गरेको पहिलो वर्ष उत्पादन र आम्दानी राम्रो भएको थियो। त्यसपछिका दोस्रो, तेस्रो र चौथो वर्षमा भने अपेक्षाअनुसारको उत्पादन हुन सकेन। तिहारमा सयपत्री फूलको माग बढी हुने र आफूलाई पनि फूलप्रति रुचि भएकाले यसलाई निरन्तरता दिएको उनको भनाइ छ । मौसम अनुकूल भए र रोग तथा कीराबाट बेर्ना जोगाउन सके १ कठ्ठामा करिब डेढ क्विन्टल फूल उत्पादन गर्न सकिने अर्याल बताउँछन् । खेती सुरु गरेदेखि दुई जनालाई नियमित रोजगारी दिएका उनले फूल टिप्ने र माला उन्ने काममा ८ देखि १० जनालाई रोजगारी दिँदै आएका छन् ।

उनले तिहार अघि खुला फूल प्रतिकेजी चार सय रूपैयाँमा बिक्री गर्दै आएका छन् भने थोकमा खरिद गर्ने ग्राहकलाई क्विन्टल अनुसार केहि कम मुल्यमा दिने गरेको बताए । कर्मा जातको फूलको विशेषता अन्य फूलभन्दा फरक रहेको उनको अनुभव छ। टिपेको फूललाई घाम, पानी, शीत, फ्रिज वा पंखाबाट टाढा राख्न सके पाँचदेखि छ दिनसम्म ताजा राख्न सकिने उनले बताए । तर तिहारको सिजन सकिएपछि फूलको माग ७० देखि ८० प्रतिशतसम्म घट्ने गरेको अर्यालको अनुभव छ। फूलको उत्पादन र बिक्रीलाई व्यवस्थित गर्न शीतभण्डारको अभाव प्रमुख समस्या बनेको उनले बताए । बाणगंगामा शीतभण्डार नहुँदा टिपेका फूल र उनेका मालालाई लामो समयसम्म सुरक्षित राख्न समस्या हुने गरेको छ । त्यसका लागि किसानले अन्यत्र धाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

कृषकलाई सरकारी सहयोग लिनसमेत झन्झटिलो प्रक्रिया रहेको अर्यालको गुनासो छ। सबै किसान पढेलेखेका नहुने र सरकारी कार्यालयमा आवश्यक कागजी प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले सहयोग लिन कठिन हुने उनले बताए। हालसम्म पालिकाबाट आफूले कुनै सहयोग नपाएको उनको भनाइ छ। यद्यपि, पछिल्ला दुई वर्षदेखि प्लास्टिकका माला र फूलमाथि प्रतिबन्ध लगाउने सरकारी नीतिले स्वदेशी फूलले बजार पाउन थालेको उनले बताए।

यसैगरी बाणगंगा नगरपालिका–११ ओदारीस्थित श्रीष फार्मकी सञ्चालक बसन्ती चौधरीले दुई कठ्ठा जमिनमा सयपत्री फूलखेती गरेकी छन् । उनले टेनिस बल नामक जातका ७० वटा बेर्ना रोपेकी हुन् । प्लास्टिकजन्य मालाले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले आफ्नै फार्ममा उत्पादन भएको प्राकृतिक फूल प्रयोग गर्न सकिने उद्देश्यले खेती सुरु गरेको उनले बताइन् । चौधरीका अनुसार फूल रोपेको करिब ७० दिनमा तयार हुन्छ। खेती गर्न धेरै मेहनत आवश्यक नपर्ने र व्यवस्थापन गर्न सहज हुने उनको अनुभव छ । फूलखेती सुरु गर्दा १० देखि १२ हजार रूपैयाँसम्म खर्च भएको उनले बताइन्। हाल उनले खुला फूल प्रतिकेजी ३ सय रूपैयाँ र थोकमा प्रतिकेजी दुई सय ७० रूपैयाँका दरले बिक्री गर्ने बताइन । ग्राहकले आफूलाई आवश्यकता अनुसार ठूला तथा साना फूल छानेर ताजा लैजान सक्ने व्यवस्था फार्ममा रहेको उनले बताइन्। हालसम्म ३० देखि ३५ केजी फूलको माग आएको उनको भनाइ छ ।

बाणगंगा नगरपालिका–८ मधुवनकी भगवती ज्ञवालीले पनि यस वर्ष सयपत्री फूलखेती सुरु गरेकी छन्। थोरै क्षेत्रफलमा लगाएको उनको बारी अहिले पहेँलपुर बनेको छ। फूल ढकमक्क फुलेपछि बजारमा मागसमेत आउन थालेको उनले बताइन् । स्थानीय स्तरमा उत्पादन भएको फूलले बजार पाउन थालेपछि आफू उत्साहित भएको उनको भनाइ छ ।

किसानले उत्पादन बढाउँदै गर्दा उपभोक्तामा पनि स्थानीय फूलप्रतिको आकर्षण बढेको छ। विगत तीन वर्षदेखि स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आएको उपभोक्ता ममता भुसाल बताउँछिन्। तिहारमा दाजुभाइलाई लगाइदिने माला आकर्षक हुनुका साथै प्राकृतिक र स्वास्थ्यका दृष्टिले पनि उपयुक्त हुने भएकाले फूलका माला खरिद गर्ने गरेको उनले बताइन्।

उपभोक्ता सुनिता मल्ल पनि प्लास्टिकका मालाभन्दा प्राकृतिक फूलका माला प्रयोग गर्नु राम्रो हुने बताउँछिन्। स्थानीय किसानले उत्पादन गरेको फूल प्रतिकेजी चार सय रूपैयाँ र प्रतिमाला एक सय रूपैयाँमा पाउँदा मूल्य पनि उचित लागेको उनको भनाइ छ। सबै उपभोक्ताले स्वदेशी फूलको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन्।
बाणगंगा नगरपालिकाको कृषि शाखाका प्रमुख लेषबहादुर केसीका अनुसार नगरपालिकाभित्र हाल करिब १५ देखि २० जना किसानले फूलखेती गर्दै आएका छन्। फूलखेती बाणगंगामा विस्तारै विकास हुँदै गएकाले अहिले उत्पादनको मात्रा तुलनात्मक रूपमा कम रहेको उनले बताए।

नगरपालिकाले फूलखेती गर्ने किसानलाई आवश्यकताअनुसार प्राविधिक सल्लाह र सुझाव दिँदै आएको केसीले बताए। किसानको माग बढ्दै गएमा फूलखेती सम्बन्धी तालिम सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ। व्यावसायिक रूपमा फूलखेती गर्ने किसानका लागि अनुदानको व्यवस्थासमेत रहेको उनले जानकारी दिए ।

स्थानीय उत्पादन बढ्दै गएमा प्लास्टिकका कृत्रिम माला स्वतः विस्थापित हुने विश्वास कृषि शाखा प्रमुख केसीको छ। त्यसका लागि किसानलाई उत्पादनमा प्रोत्साहन गर्नुका साथै बजार व्यवस्थापन र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । तिहारमा फूलको माग बढ्ने र स्थानीय उत्पादनले बजार पाउन थालेपछि बाणगंगाका किसानमा फूलखेतीप्रति उत्साह थपिएको छ। तर मौसमी मागमा मात्रै निर्भर रहनुपर्ने अवस्था, शीतभण्डारको अभाव, महँगो बीउ र सरकारी सहयोग प्राप्त गर्ने प्रक्रियाजस्ता चुनौती अझै छन्।

किसानलाई आवश्यक सहयोग, उत्पादनको बजारीकरण र भण्डारणको उचित व्यवस्था गर्न सके फूलखेतीलाई तिहारमा मात्रै सीमित नराखी वर्षभरि आम्दानी र रोजगारीको भरपर्दो माध्यम बनाउन सकिने सम्भावना देखिएको छ। स्थानीय फूलको प्रयोगले किसानको आम्दानी बढाउनुका साथै स्वदेशी उत्पादनको प्रवद्र्धन र प्लास्टिकजन्य मालाको प्रयोग न्यूनीकरणमा समेत योगदान पुर्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?