© २०२३
गुल्मी, फागुन – पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले संसदलाई राजनिती दलहरुको आरोप प्रत्यारोप र व्यंग्य गर्ने थलो बनाउन नहुने बताएका छन । उनले दलहरु राजनीतिक दाउपेज र खिचातानीबाट माथि उठेर जनताका आधारभुत समस्या समाधन गर्न साझा ढंगले अगाडी बढ्नुपर्ने बताए ।
मुसिकोट नगरपालिका–१ अरेवा स्थीत जनज्योति माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव एवं १२ कोठे बिद्यालय भवनको आज उद्घाटन गर्दै विष्टले राजनीति जनताको समृद्धिको लागि भएको भन्दै दलहरुले जनताका आधारभूत समस्या समाधान गर्नु पर्नेमा जोड दिएका थिए । जनताका गरिवी र बेराजगारीका समस्या न्यूकरणको लागि एकले अर्कोलाई आरोप लगायर मात्रै उन्मुक्ति नहुने भन्दै उनले शिक्षा सवैको लागि र गुणस्तरिय हुनुपर्नेमा जोड दिए । बिद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुने बिष्टले बताए ।
बिद्यालय निर्माणको लागि आर्थिक बर्ष ०७७÷०७८ मा राष्ट्रिय पुर्निमाण प्राधिकरणबाट ७० लाख, संघिय शसर्त अनुदान ७५ लाख र आर्थिक बर्ष ०७८÷०७९ मा संघिय शर्सत अनुदान ६६ लाख, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट १८ लाख तथा बिद्यालयको १६ लाख ५० हजार गरेर दुई करोड ४५ लाख ५० हजारको लागतमा १२ कोठे भवन तथा सभाहल निर्माण गरिएको बिद्यालयका प्रध्यानाध्यापक इश्वरीप्रसाद आचार्यले जानकारी दिए ।
त्यस्तै पुर्व मन्त्री बिष्टले जनज्योति मावि मुसिकोट नगरपालिका–१ पैदी अरेवाले बिद्यालयको हिरक महोत्सवको अवसरमा सवैभन्दा बढि चन्दा प्रदान गर्ने व्यक्तिको शालिकको अनावरण तथा स्मृति कक्षको उद्घाटन गरेका थिए । मुसिकोट नगरपालिका–१ पौदी अरेवा निवासी स्वर्गीय डालेश्वर भुसालको सम्झनामा बिद्यालय प्राङगणमा शालिक निर्माण गरिएको बिद्यालय व्यावस्थापन समिति अध्यक्ष भुपेन्द्र रायमाझीले बताए । डालेश्वर भुसालको परिवारले बिद्यालयको लागि १५ लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ प्रदान गरेका थिए । भुसालको ०७८ बैशाख २० गते निधन भएको थियो ।
त्यस्तै उमानन्द भुसालको नाममा स्मृति कक्षा निर्माण गरिएको छ । उनले बिद्यालयलाई पाँच लाख एक रुपैयाँ सहयोग गरेको बिद्यालय व्यावस्थापन समितिले जनाएको छ ।