© 2026
सल्यान ।
सल्यानको सिद्धकुमाख गाउँपालिकामा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।
जिल्लाको सिद्धकुमाख गाउँपालिका, २ रातामाटे खोला स्थित भित्री कच्ची सडकखण्डमा बिहीबार साँझ करिब ६ः३५ बजे लु १ ज २३६८ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा जिपमा सवार आठ जना घाइते भएका छन् । उनीहरूको नामथर खुल्न बाँकी रहेको प्रहरी निरीक्षक इश्वर रोकायले जनाए । घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढोरचौरबाट प्रहरी नायब निरीक्षक भीमबहादुर वलीको कमान्डमा ट्राफिक प्रहरीसहित तीन जनाको टोली घटनास्थल पुगेको थियो । त्यसैगरी इलाका प्रहरी कार्यालय शीतलपाटीबाट प्रहरी निरीक्षक बालकृष्ण विकको कमान्डमा १२ जनाको प्रहरी टोलीसमेत घटनास्थलमा खटिएको थियो ।
दुर्घटनामा जिपमा क्षति पुगेको छ भने जिप घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण तथा घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ ।