Butwal Today

भुटानमा हिमताल विस्फोटपछि भारतका सीमावर्ती क्षेत्रमा सतर्कता

१३ कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-
काठमाडौँ ।
भुटानको सिन्ताफु हिमताल विस्फोट भएर आएको बाढीपछि भारतको पश्चिम बङ्गाल र आसाम राज्यको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ । हिन्दूकुश हिमालय क्षेत्रमा बढ्दै गएका हिमाली जोखिमलाई दृष्टिगत गर्दै प्रभावकारी पूर्वसूचना प्रणाली, नियमित अनुगमन र सीमापार समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा विज्ञले जोड दिएका छन् ।
अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले आज जारी गरेको विज्ञप्तिअनुसार हिमताल विस्फोट हुनुअघि सिन्ताफु तालमा करिब ६० देखि ७० लाख घनमिटर पानी सञ्चित रहेको अनुमान गरिएको थियो ।  यो परिमाण करिब दुई हजार ४०० देखि दुई हजार ८०० वटा पौडी पोखरीमा अट्ने पानी बराबर हो । विस्फोटपछि बाहिरिएको पानीको वास्तविक परिमाण भने अझै आँकलन भइसकेको छैन ।
इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले भुटानका अधिकारीले समयमै जारी गरेको चेतावनीले नियमित अनुगमन र प्रभावकारी पूर्वसूचना प्रणालीको महत्त्व पुष्टि गरेको बताए । उनले हिमाली क्षेत्रमा विपद्का घटना थप जटिल बन्दै गएकाले जोखिम पूर्वानुमान, पूर्वतयारी र सीमापार सहकार्यमा निरन्तर लगानी आवश्यक रहेको उल्लेख गरेका छन् ।
यो घटना गत अगस्टमा नेपालको ग्यिरोङ–रसुवागढी क्षेत्रमा गएको विनाशकारी चट्टान तथा हिमबरफको पहिरो र अक्टोबरको अन्तिम साता गोरखाको बुढीगण्डकी क्षेत्रमा गएको आकस्मिक बाढीपछि भएको हो । यी घटनाले हिमाली क्षेत्रमा देखिएका बहुप्रकोपीय जोखिम र समयमै सूचना प्रवाह गर्नुपर्ने आवश्यकतालाई थप उजागर गरेका छन् ।
इसिमोडका अनुसार विपद् जोखिम न्यूनीकरणका लागि जोखिमको प्रकृति पहिचान गर्नुका साथै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको जोखिम र संवेदनशीलता बुझ्न आवश्यक छ । पूर्वसूचना प्रणाली प्रभावकारी हुन सूचना समयमै प्रभावित समुदायसम्म पुग्नुपर्ने र विपद्का बेला के गर्ने भन्ने स्पष्ट जानकारी उपलब्ध हुनुपर्ने संस्थाले जनाएको छ ।
इसिमोड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को यसअघिको अध्ययनले कोशी, गण्डकी र कर्णाली नदी बेसिनमा सीमापार फैलिएका ४७ वटा प्रमुख सम्भावित जोखिमयुक्त हिमताल पहिचान गरेको थियो । हालसम्म हिन्दूकुश हिमालय क्षेत्रमा ३८८ वटा हिमताल विस्फोटबाट बाढी (ग्लोफ) का घटना अभिलेख गरिएको इसिमोडले जनाएको छ ।
भुटानमा हिमताल जोखिमको अनुगमन गर्ने निकाय राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले देशभित्रका दर्जनौँ सम्भावित जोखिमयुक्त हिमतालको निगरानी गर्दै आएको छ । सन् २०१५ मा सिन्ताफु ताल रहेको मो छु नदीको माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोटबाट बाढी आएपछि भुटानी अधिकारीले सर्भिर–हिमालय पहलसँग सहकार्य गरी उक्त जलाधार क्षेत्रका हिमतालको जोखिम मूल्याङ्कन गरेका थिए ।
इसिमोडले हिन्दूकुश हिमालय क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि क्षेत्रीय साझेदारसँग मिलेर अनुगमन, पूर्वानुमान र पूर्वसूचना प्रणाली सुदृढ गर्ने काम गरिरहेको जनाएको छ । यसअन्तर्गत भुटानको लाया र लिङ्जी क्षेत्रमा स्थायी तुषारो ९पर्माफ्रोस्ट० को अनुगमन, भुटान, नेपाल र बङ्गलादेशमा बाढी पूर्वानुमान प्रणालीको विकास तथा आकस्मिक विपद्का लागि चेतावनी जारी गर्ने संयन्त्रलाई प्रभावकारी बनाउने काम भइरहेको छ ।
त्यस्तै, काठमाडौँ १० कार्यबिन्दुमार्फत जोखिमसम्बन्धी सूचना आदानप्रदान, पूर्वसूचनाको मापदण्ड विकास र सीमापार सञ्चारलाई तीव्र बनाउने पहल भइरहेको इसिमोडले जनाएको छ । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित हिन्दूकुश हिमालय क्षेत्रमा अनुकूलन तथा उत्थानशीलता निर्माण कार्यक्रममार्फत साझा तथ्याङ्क प्रणाली विकास, बहुप्रकोपीय जोखिमको बुझाइ विस्तार र उत्थानशील पूर्वाधार निर्माणमा समेत सहयोग भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
हिमताल विस्फोटलगायतका हिमाली विपद्बाट हुने क्षति न्यूनीकरणका लागि नियमित अनुगमन, समयमै चेतावनी, प्रभावकारी सञ्चार र समुदायस्तरको पूर्वतयारीलाई एकीकृत गर्नुपर्नेमा इसिमोडले जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?