© 2026
सल्यान ।
सल्यानको बागचौर नगरपालिका, ९ डिक्कीगारमा बालुवा बोकेको टिप्पर दुर्घटनामा परेको छ । पातिहाल्नाबाट रोल्पातर्फ जाँदै गरेको टिप्पर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको हो ।
बिहीबार बिहान करिब ८ः५० बजे रा १ ख २८५७ नम्बरको टिप्पर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार दाङको घोराही उपमहानगरपालिका, १८ निवासी करिब २५ वर्षीय बसन्त बस्नेतले चलाएको उक्त टिप्पर बागचौर नगरपालिका, ९ स्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ईश्वर रोकायले दुर्घटनामा कुनै मानवीय क्षति नभएको र टिप्परमा भने सामान्य क्षति पुगेको जानकारी दिए ।
दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक टपेन्द्र घर्ती मगरको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।