© 2026
कास्की । पोखरा रङ्गशालामा यही कात्तिक १४ गतेदेखि १७ गतेसम्म राष्ट्रिय सेपाक ताक्रो च्याम्पियनसिप हुने भएको छ । उक्त प्रतियोगितामा सात वटै प्रदेश र विभागीय टोली नेपाली सेनाको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय सेपाक ताक्रो सङ्घका केन्द्रीय अध्यक्ष नेत्रप्रसाद गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा पुुरुषतर्फ टिम रेगु, रेगु, क्वाड, डबल र टिम इभेन्टका खेलहरू सञ्चालन हुनेछन् भने महिलातर्फ रेगु र क्वार्ड विधामा खेलाइनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु ५० हजार, द्वितीय र तृतीय हुने टोलीले रु ४० हजार रु ३० हजारसहित ट्रफी र मेडल पुरस्कार पाउनेछन् । नेपालमा विसं २०५८ देखि यो खेल खेल्न सुरु गरिएको हो ।
प्रतियोगिताले आसन्न १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई सहयोग पुग्ने र समक्ष खेलाडी उत्पादन हुने अध्यक्ष गुरुङले बताए । “राष्ट्रिय खेलकुदको तयारीका लागि नै यो प्रतियोगिता गरेका हौँ । यसबाट सहभागी टोलीले आफ्नो खेलाडीको प्रदर्शन मूल्याङ्कन गरी सुधार र खेल क्षमता विकासमा सहयोग पुग्ने विश्वास छ”, उनले भने । प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धन, प्रदेशमा राष्ट्रिय खेलाडी उत्पादन र राष्ट्रिय खेलाडीका बीचमा पारस्परिक सम्बन्ध कायम गर्न सहयोग पुग्ने अध्यक्ष गुरुङले बताए । गण्डकी प्रदेश सेपाक ताक्रो सङ्घका अध्यक्ष श्यामबहादुर श्रेष्ठले नयाँ खेलका रूपमा विकसित भई विश्वभरी आकर्षक र माग बढ्दै गएको यो खेल गण्डकी प्रदेशमा पनि विकासको चरणमा रहेको बताए । उनका अनुसार गण्डकीको नवलपरासीमा विशेषगरी यो खेल बढी खेल्ने गरिन्छ ।
पोखरामा सम्पन्न भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा यस खेलमा पुरुषतर्फ दुई इभेन्टमा कास्य पदक र महिलातर्फ दुई खेल इभेन्टमा कास्य र रजत पदक प्राप्त गर्न सफल भएको श्रेष्ठले जानकारी दिए । “पोखरामा राष्ट्रिय च्याम्पियनसिपको आयोजनाले युवा खेलाडीलाई खेल्ने अवसर मिल्नुका साथै स्थानीय, जिल्ला तथा प्रदेशस्तरीय खेलाडी तथा खेलप्रेमीलाई प्रतिस्पर्धात्मक खेलमा रुची बढाउने छ”, उनले भने ।
नेपाल सेपाक ताक्रो सङ्घले बर्सेनि देशका विभिन्न स्थानमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ । सेपाकताक्रो खेल फुटबल, भलिबल र जिम्नाष्टिक खेलको मिश्रित खेल हो । थोरै खेलाडी तथा सानो ठाउँमा खेलिने र बलमा हावा पनि नरहेको प्लाष्टिक सिन्थेटिकबाट बनेको हुनाले उफ्रेर टाढा नजाने भएकाले नेपालजस्तो भूधरातलीय विकटता भएको स्थानमा प्रभावकारी हुने सङ्घले जनाएको छ ।