© 2026
पाल्पा ।
के तपाई दसैं, तिहार तथा अन्य सरकारी विदाको सदुपयोग गर्दै घुमघाम गर्ने सोँचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईका लागि रानीमहल उपयुक्त गन्तब्य हुनसक्छ । रानीमहल अहिले आन्तरिक पर्यटकको रोजाईमा पर्न सफल भएको छ । यहाँ विदाको सदुपयोग गर्दै घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा बृद्धि हुँदै गएको छ ।
कालीगण्डकी नदीको तटमा अटुट प्रेम कथाबोकेर उभिएको रानीमहल पाल्पा, गुल्मी र अर्घाखाँची घुमघाम गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि मूख्य आकर्षणको केन्द्र वनेको छ ।
रानीमहल पुग्नको लागि पहुँच मार्ग निर्माण भएपछि यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न सफल भैरहेको छ । पवित्र गंगाको किनारमा चट्टानमाथि एकसय २७ वर्ष पुरानो प्रेम कथा बोकेर उभिएको रानीमहलले आन्तरिक मात्रै होइन, विदेशी पर्यटक समेत आकर्षित गर्न थालेको छ ।
प्रेमसंगै वियोगको कथा र व्यथा बोकेको रानीमहल सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दुरीमा र उत्तरदक्षिण कालीगण्डकी करिडोर सडक खण्डले जोडेपछि थप सहज भएको स्थानिय बताउँछन् ।
नेपालको ताजमहलको रुपमा प्रसिद्ध बन्दै गएको रानीमहल भारतीय पर्यटकका लागिपनि उत्तिकै श्रद्धा र आकर्षणको स्थल वन्न सफल भएको छ । भारतको उत्तर प्रदेश राज्यको गोरखपुरका पर्यटन व्यवसायी सन्तोष श्रीवास्तव वर्षमा ३, ४ पटक साना चलचित्रको छायाँकनको लागि आउने गरेको बताउँछन् । प्राकृतिक रुपमा सुन्दरताले भरिपूर्ण भएका कारण यसलाई भारतको ताजमहलसंग तुलना गर्ने गरिएको उनको भनाई छ ।
तत्कालीन राणा शासक खड्गशमशेर पाल्पा गौंडाको प्रधान सेनापति भएको बेला आफ्नी कान्छी श्रीमती रानी तेजकुमारीको इच्छा अनुरुप श्रीमतीको मृत्युपछि उनै रानीको सम्झनामा दरवार निर्माण गरेकोले यसलाई प्रेमको प्रतिक मान्ने गरिएको इतिहासका जानकार बताउँछन् ।
इतिहासका जानकार पुष्करराज रेग्मीका अनुसार धीर शमशेरका माहिला छोरा खड्ग शमशेर बन्दुक र शक्तिको आडमा सत्तामा आएपछि दाजु प्रधानमन्त्री भएका बखतमा सेनापति भएका खड्क शमशेर वि.स १९४३ सालको फागुन २० गते सेनापतिबाट पदच्युत गरी हालको अर्घाखाँची जिल्लामा पर्ने डाँडा खेदिएका थिए ।
कार्वाहीमा परेका खड्ग शमशेरको मन भुलाउने प्रमुख माध्यम नै उनै कान्छी श्रीमतीमात्र थिइन् । केही समयपछि कार्वाही फुकुवा गरी उनले पाल्पामा चार तप्पाको प्रमुख जिम्मेवारी पाएका थिए ।
तानसेनमा बसोबास गर्दा रिँडी हुँदै यस क्षेत्रमा रानीको साथमा पुग्दा रानीले मेरो मृत्युुपछि मेरो नाममा दरवार निर्माण गरिदिनु भन्ने आग्रह अनुरुप खडग समशेरले उक्त दरवार निर्माण गराएका हुन् । वि.सं. १९५० सालमा सिलान्यास गरी चार वर्ष लगाएर कालीनदीको किनारमा मन्दिर, पाटी पौवा सहित रानीमहल युनानी शैलीमा व्रिटिस इन्जिनियरको डिजाइनमा बनेको हो ।
प्रेमको अगाध सम्वन्धले पूर्ण ठानिने रानीमहल दरवार रानीको इच्छा अनुरुप निर्माण भएकोले मुक्तिनाथ पुग्ने तिर्थालुको बासकालागि पौवा समेत निर्माण गराएका खड्क समशेरले पाँचवर्ष पनि दरवारमा बिताउन पाएनन् ।
खड्ग समशेर कहिलेकाहीँ मध्यरातमा श्रीमतीको सम्झनामा रुने र चिच्याउने गरेको सुनिने गरेको किम्बदन्ती छ । रानीमहलमा पछिल्लो समय साना ठूला चलचित्रको छायाँकंनको गन्तब्य बनेको छ । तानसेनका पर्यटन व्यवसायी राजीव साह रानीमहलको विकासमा सडक सन्जालले ठूलो सहयोग गरेको बताउँछन ।
तानसेन नगरका प्रमुख सन्तोषलाल श्रेष्ठ तानसेन नगरको स्वमित्वमा रहेको रानीमहल सिंगो जिल्लाको गौरव भएकाले यसको प्रचार प्रसारका लागिनगर सरकारले आफनो क्षमता अनुसार काम गरिरहेको बताए ।
तानसेन नगरका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी स्थानिय सरकारले पछिल्लो समयमा गरेको मेहनतका कारण रानीमहल आएका पर्यटकबाट अवलोकन दस्तुर राम्रो उठने गरेको बताउँछन् । दैनिक ५ सय भन्दा बढि पर्यटक आउने भएकाले दरवार आसपासमा होटल तथा रेष्टुराँ खुल्ने क्रम बढदो अवस्थामा रहेको छ ।
सदरमुकाम तानसेनबाट रानीमहल जोडने केवलकार निर्माणका लागि पहल समेत भएको छ । स्थानिय व्यवसायी प्रेमनाथ घिमिरे रानीमहलसम्म केबलकार बनेमा पर्यटन क्षेत्रको विकासले थप गतिलिने बताउँछन् ।