© 2026
काठमाडौँ ।
रुपन्देहीस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको स्वामित्व तथा सञ्चालन जिम्मेवारी औपचारिक रूपमा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिलाई हस्तान्तरण गरिएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलिप भण्डारी तथा पूर्वाधार विकास मन्त्रीका सल्लाहकार मधु अर्यालको उपस्थितिमा आयोजित कार्यक्रमबीच सम्मेलन केन्द्र समितिलाई सुम्पिएको हो । सिनियर डिभिजनल इन्जिनियर किर्तिकान्त साहले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश, २०८१ बमोजिम आवश्यक कागजातसहित उक्त संरचना समितिका कार्यकारी निर्देशक धर्मराज खड्कालाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण ग्रहण गर्दै कार्यकारी निर्देशक खड्काले सभाहललाई पारदर्शिता, सेवाग्राहीको अधिकतम सन्तुष्टि र उपलब्ध सम्पूर्ण स्रोत साधनहरूको हदैसम्मको उपयोग गरी सञ्चालन गरिने बताए । उनले वर्तमान सरकारको स्पिरिट र स्पिड अनुसार संरचनाको भरपुर, व्यवस्थित सञ्चालन तथा व्यवस्थापनमा जोड दिने प्रतिबद्धता पनि व्यक्त गरे ।