© २०२३
पश्चिम नवलपरासी, १ फागुन ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) पुजा सिंहले तस्करी नियन्त्रणमा प्रभावकारी ढंगले काम गर्न प्रहरीलाई निर्देशन दिएकी छन् । सोमबार जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको नवनिर्मित चार ओटा भवनको उद्घाटन गर्दे सिंहले कुनै लोभ लालचमा नपरी तस्करी नियन्त्रण गर्न निर्देशन दिईन् । “भारतसंगको खुल्ला सिमानाका कारण चुनौती छ र कुनै लोभलालचमा नपरी भएका साधन स्रोतको उच्चतम प्रयोग गरेर तस्करी नियन्त्रण गर्नुपर्दछ”–एआईजी सिंहले भनिन् ।
एआइजी सिंहले आवासले प्रहरीको सेवा प्रवाहमा सकरात्मक प्रभाव पार्ने भएपनि आवासकै कारण जनतालाई प्रदान गरिने सेवामा भने कमी नहुने बताईन् । प्रहरीको जागिर सेवा भावले प्रदान गरिने जागिर भएकाले निष्पक्ष रुपमा काम गर्न प्रहरी लाग्नुपर्नेमा उनले जोड दिईन् । प्रहरीको क्षमता विकास र संरचनाहरुलाई प्रविधियुक्त बनाउन प्रहरी प्रधान कार्यालय लागि परेको बताउँदै एआईजी सिंहले देशभर अझ पनि ८ सय ८० कार्यालय भवन बिहिन रहेको जानकारी दिईन् ।
भवन बिहिन रहेका कार्यालयहरुले भाडाका भवन, सामुदायिक भवन र मन्दिरका भवनमा बसेर जनताको सेवा दिइरहेको उनले बताईन् । कार्यक्रममा बोल्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले प्रहरी संग सहकार्य गरेर काम गर्न स्थानीय तह प्रतिवद्ध रहेको बताए । उनले खुल्ला सिमानाको फाईदा उठाउँदै भईरहेको तस्करी नियन्त्रण गर्नु मुख्य चुनौती भएपनि बालकदेखि युवा पुस्ता सम्म लागुऔषधमा फस्नु अर्को चुनौतीर्पुूा समस्या देखिएकाले यसतर्फ प्रहरी प्रशासन थप गम्भीर बन्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) टेक प्रसाद राइले कार्ययोजना बनाएर सिमा क्षेत्रबाट हुने अवैध ओसारपसार नियन्त्रणमा प्रहरी लागिपरेको बताए ।
कार्यक्रममा नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक विनोद सिलवाल लगायतले जनता र प्रहरीबीचको सम्बन्धका बारेमा प्रकाश पारेका थिए ।
चार करोडको लागतमा प्रहरीको भवन निर्माण गरिएको हो । जिल्ला प्रहरी कार्यालयको परिसरमा निर्माण गरिएको चार वटा भवन निर्माण सम्पन्न गर्न चार करोड ३७ लाख लागेको हो । परिसरभित्र ५ कोठाको कार्यालय प्रमुख भवन, १० कोठाको सिनियर प्रहरी अधिकृतका भवन निर्माण गरिएको छ । त्यसैगरी निर्माण गरिएका भवन मध्ये व्यारेक भवन चार कोठा र थुनुवा कक्ष भवन ३ कोठाको रहेको छ । सबै भवन अपाङ्गमैत्रीसहित सुविधा सम्पन्न रहेको प्रहरी नायब उपरीक्षक इन्जिनियर धु्रब अधिकारीले जानकारी दिए । न्यू ड्रागन निर्माण सेवा प्रा.ली. काभ्रेले तोकिएकै समयमा उक्त भवनहरु निर्माण सम्पन्न गरेको थियो ।