© 2026
रोल्पा । रोल्पा जिल्लामा प्रसव हुन नसकी गर्भाशयभित्रै पाठा मरेको एक भेडाको शल्यक्रिया (सिजेरियन सेक्सन) गरी मृत पाठा सफलतापूर्वक निकालिएको छ । दुर्गम भौगोलिक अवस्था, आवश्यक उपकरण तथा सामग्रीको व्यवस्थापनमा देखिने कठिनाइका बाबजुद भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले उक्त शल्यक्रिया सम्पन्न गरेको हो ।
रोल्पा नगरपालिका–९, गर्पाकी रूपा वलीको भेडामा प्रसवसम्बन्धी जटिलता देखिएपछि पशु चिकित्सक तथा प्राविधिकको टोलीले शल्यक्रिया गरी गर्भाशयभित्र रहेको मृत पाठा बाहिर निकालेको हो । समयमै उपचार उपलब्ध गराउन गरिएको उक्त प्रयास सफल भएपछि भेडाको स्वास्थ्य अवस्थामा सुधार आएको सम्बन्धित कार्यालयले जनाएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डा। शंकर न्यौपाने, पशु चिकित्सक डा। मिनबहादुर ओली तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० रोल्पाका पशु चिकित्सक डा। सञ्जीव आचार्यसहितको टोलीले शल्यक्रिया गरेको हो । पशुमा देखिएको जटिल अवस्थालाई ध्यानमा राख्दै चिकित्सक तथा प्राविधिकहरूले समन्वय गरेर उपचार प्रक्रिया अघि बढाएका थिए ।
कार्यालयका अनुसार शल्यक्रियापछि भेडाको स्वास्थ्य अवस्था राम्रो रहेको छ । हाल पशुलाई आवश्यक औषधोपचार प्रदान गर्नुका साथै नियमित निगरानीमा राखिएको छ । शल्यक्रियापछि देखिन सक्ने सम्भावित स्वास्थ्य समस्यालाई रोक्न र भेडालाई सामान्य अवस्थामा फर्काउन उपचार तथा हेरचाहलाई निरन्तरता दिइएको जनाइएको छ ।
कार्यालय प्रमुख डा। न्यौपानेले रोल्पाजस्तो दुर्गम जिल्लामा आवश्यक उपकरण, सामग्री तथा प्राविधिक स्रोतसाधनको उपलब्धतामा विभिन्न चुनौती रहे पनि उपलब्ध जनशक्तिको सहयोगमा जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिए । उनका अनुसार जिल्लामा यस प्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो । पशुमा प्रसवसम्बन्धी गम्भीर समस्या उत्पन्न हुँदा उपचारका लागि अन्यत्र निर्भर हुनुपर्ने अवस्थालाई कम गर्न यस उपलब्धिले सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
उनले पशु स्वास्थ्य सेवामा देखिने जटिल समस्याको समाधानका लागि चिकित्सक तथा प्राविधिक टोलीबीचको सहकार्य महत्त्वपूर्ण रहेको उल्लेख गरे । आवश्यक सीप, अनुभव र उपलब्ध स्रोतसाधनको उचित प्रयोगबाट दुर्गम क्षेत्रमा समेत प्रभावकारी पशु उपचार सेवा प्रदान गर्न सकिने उनको भनाइ छ ।
पशुमा गर्भावस्थाको अन्तिम चरणमा प्रसव हुन नसक्ने, पाठा गर्भाशयभित्रै मर्ने वा अन्य जटिलता देखिने समस्या समयमै पहिचान गर्न नसकिएमा पशुको ज्यानसमेत जोखिममा पर्न सक्छ । यस्तो अवस्थामा पशु चिकित्सकबाट शीघ्र परीक्षण गराई उपयुक्त उपचार गराउनु आवश्यक हुन्छ । प्रस्तुत घटनामा पनि जटिल अवस्थालाई सम्बोधन गर्न शल्यक्रियाको सहारा लिइएको हो ।
रोल्पामा पशुपालन ग्रामीण परिवारको जीविकोपार्जन, आम्दानी तथा खाद्य सुरक्षासँग जोडिएको महत्त्वपूर्ण व्यवसाय हो । विशेषगरी भेडापालनबाट स्थानीय कृषकले आर्थिक लाभ लिँदै आएका छन् । पशु बिरामी हुँदा वा प्रसवका क्रममा समस्या उत्पन्न हुँदा समयमै विशेषज्ञ सेवा नपाउँदा कृषकले आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था रहन्छ । त्यसैले जिल्लामै जटिल उपचार सेवा उपलब्ध हुनु पशुपालकका लागि सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ ।
सम्बन्धित कार्यालयले आगामी दिनमा पनि पशुमा देखिने विभिन्न रोग, प्रसवसम्बन्धी समस्या तथा आकस्मिक अवस्थाको उपचारलाई प्रभावकारी बनाउने दिशामा काम गर्ने जनाएको छ । पशु चिकित्सक, प्राविधिक जनशक्ति र सम्बन्धित निकायबीचको सहकार्यलाई निरन्तरता दिँदै सेवा विस्तार गर्न सके जिल्लाका कृषकलाई थप सहजता हुने अपेक्षा गरिएको छ ।
यस शल्यक्रियामा संलग्न सम्पूर्ण चिकित्सक तथा प्राविधिक टोलीको योगदानप्रति कार्यालय प्रमुखले धन्यवाद व्यक्त गरेका छन् । दुर्गम क्षेत्रमा सीमित स्रोतसाधनका बीच सम्पन्न भएको यस कार्यले जिल्लामा पशु स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि गर्न र कृषकलाई स्थानीय स्तरमै उपचार सेवा उपलब्ध गराउने प्रयासलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।
भेडाको सफल उपचारसँगै रोल्पामा जटिल पशु स्वास्थ्य समस्याको व्यवस्थापनका लागि स्थानीय स्तरमै विशेषज्ञ सेवा प्रदान गर्न सकिने सम्भावना उजागर भएको छ । आवश्यक पूर्वाधार, उपकरण, औषधि तथा दक्ष जनशक्तिको व्यवस्थापनमा थप ध्यान दिन सके आगामी दिनमा यस्ता समस्याको उपचार अझ प्रभावकारी बनाउन सकिने देखिएको छ ।