© 2026
कुरो त्रेता युगको हो । श्रीराम गुरु कुलमा पढ्ने भएका थिए । नियम कानुन नीति शास्त्र संस्कारादि शिक्षा महर्षि मार्कण्डेयले पढाउँथे भने धनुर्वेद सामाजिक अध्ययनादि महर्षि वसिष्ठले पढाउँथे । सो गुरुकुलमा राजकुमारसमेत अन्य वटुकहरू पनि थिए । तेह्र चौध वर्षको उमेर पुगेका वटुकलाई ६४ तीर्थ यात्रा गराउने गुरुकुलीय परम्परा थियो । सोअनुसार वसिष्ठले गुरुकुलका वटुकलाई लिएर तीर्थयात्राका लागि हिँडे । सहरी वातावरणमा हुर्केका विशेषगरी राजकुमारहरूलाई पाखापर्वत, जङ्गल, खोलानाला, चिसो तातो हावापानी अनुभव गरी त्यसमा अनुकूलन हुन गाह्रो परेको थियो । त्यस बेला कुलगुरु वसिष्ठले राम्रोसित सम्झाउनु हुन्थ्यो । हेर राम, राजा सबैको साझा हुन्छ । दुर्गम सुगम सबैमा राजाको दृष्टि उत्तिकै हुनुपर्छ । आज तिमी युवराज छौ, भोलिका राजा । भोलिका दिनमा राज्य सञ्चालन गर्दा यी दुर्गम बस्तिका जनताका के के समस्या हुन्छन् भन्ने कुरा आजैदेखि थाहा पाउनुपर्छ ।
रामलाई गुरुको वचन निकै राम्रो लाग्यो । रामले तीर्थयात्रा अर्थात् शैक्षिक भ्रमणलाई भोलिको आफ्नो राज्य सञ्चालनको मेरुदण्डको रूपमा लिएका थिए । विभिन्न बस्तीको जनजिविकालाई निकै गहिरोसित नियाल्थे । विभिन्न भाषा, पहिरन, संस्कार, संस्कृतिले उनलाई निकै अन्तरहृदयसम्म छुन्थ्यो ।
तीर्थयात्रा सकेर गुरुसमेत सबै घर फर्के । अरूले थकाइ लाग्यो ऐय्या आत्था गर्थे । राम भने आफूले देखे भोगेका ती दृश्यमै रुमलिइरहेका थिए । उनलाई थकाइको कुनै प्रवाह भइरहेको थिएन । तीर्थबाट फर्केर थकाइ मार्न भनी एक हप्ता गुरुकुल बिदा भयो । एक दुई दिन थकाइ मारेपछि साथीहरू बाहिरतिर हिँड्ने डुल्ने खेल्ने गर्न थाले । तर राममा भने ताजगीपन आउन सकेन । उनलाई आफ्नो दरबारिया शान सौकत दुःखी गरिबको पसिनामा अडिएको अनुभवले निकै पिरोलिरह्यो । रामलाई एकखालको अवसाद अर्थात् डिप्रेसनको पीडा भइरह्यो ।
यो कुरा महर्षि वसिष्ठले बुझे । अनि रामलाई अवसादबाट मुक्त गराउन अठार दिनसम्म विभिन्न उदाहरण दिएर सम्झाउने बुझाउने काम कुलगुरु महर्षि वसिष्ठले गरे । यही १८ दिनसम्म सम्झाउने बुझाउने गरेका कुरालाई महर्षि वाल्मीकिले लिपिबद्ध गरे । जसलाई योगवासिष्ठ अर्थात् महारामायण भनिन्छ । यस ग्रन्थलाई विश्वकै पहिलो मनोविज्ञानको शास्त्र मान्न सकिन्छ ।
किशोरावस्थामा गुरुसित गरेको शैक्षिक भ्रमणको अनुभवले रामलाई वनबास जाँदा पनि जीवन निर्वाहका लागि खासै समस्या परेन । श्रीरामले गुरुबाट सिकेको ज्ञानलाई केवल मानवका लागि मात्रै होइन पशुपक्षीमा पनि समान व्यवहार गर्नुपर्छ भन्ने कुरा स्थापित गरे । आफ्नो जिम्माको काम सम्झौता अनुसार गर्नुपर्ने र त्यो कामबाट अवकाश लिनुपरे त्यसमा आफूले जस्तै काम गर्ने व्यक्ति तयार गरेर मात्रै छाड्नुपर्ने विधि बसाले । यसरी राज्य सञ्चालनमा निकै सरलता र नियमितता आयो । रामराज्य भनेर जताततै हाइहाइ भइरहेको थियो ।
यस्तैमा एकजना बाल चिकित्सक शम्बूकले आफ्नो काम छाडेर तपस्या गर्न भनी हिँडेका रहेछन् । उनी त्यसरी हिँड्दा त्यस क्षेत्रका बालबालिका निकै समस्यामा परेको श्रीरामले थाहा पाए ।
अनि श्रीरामले शम्बूकलाई आफ्नै काममा फर्कन बाध्य पारे । यसरी फर्कनुपर्दा शम्बूकले आफू मरे सरहको अनुभव गरे । श्रीरामले सेवा नै परम धर्म हो । सेवा नै परम तप हो भनेर सम्झाएपछि आफ्नू काममा फर्केर सेवामय तप गर्दा उनलाई निकै स्वर्गीय आनन्द आयो । यसैगरी सुन्दर तरिकाले रामराज्य चलिरहेको थियो । आजभोलि मानव अधिकारको कुरा भए जस्तो त्यस बेला जीव अधिकारका कुरा हुन्थे, चर्चा व्याख्या हुन्थे । जड चेतनको अस्तित्वलाई उत्तिकै महत्वका साथ लिइन्थ्यो ।
अहिले जस्तो समथर जमिनमा पहाड उमार्ने र पहाडलाई मैदान गराइन्नथ्यो । त्यसैले त हनुमानले द्रोणाचल ल्याउँथे र काम सकिएपछि जसकोतस पु¥याउन जान्थे । जैविक विविधताप्रतिको चासो सबैमा हुन्थ्यो । बाटोघाटो नदीनालाको सरसफाइमा सबैले उत्तिकै ध्यान दिन्थे । एउटा रुख अति आवश्यक कामले काट्नु परेमा त्यस्तै दशवटा रुख हुर्काउने प्रतिबद्धता हुनुपथ्र्यो । माछा मार्ने मछुवाराले निश्चित आकारका भन्दा साना माछा मार्न पाइन्नथ्यो । फलफूल टिप्दा जथाभावी हाँगा भाँचेमा सजाएँ हुन्थ्यो । पानीका मुहानमा फोहर गर्नेलाई कडा सजाएँ हुने व्यवस्था थियो । फल लाग्नका लागि हानि हुने गरी कुनै बिरुवाको फूल टिप्न पाइन्नथ्यो । यसो गर्दा फलफूल अन्न तरकारीको त्यहाँ कुनै अभाव थिएन । सबै जनता जीवजन्तु बोटबिरुवा खुसी थिए ।
एक दिनको कुरा हो । एउटा जोगी राम दरबार नजिकै आउँदा त्यहीँ नजिकैको घरमा बस्ने एउटा कुकुरले टोकुँला जसरी भुक्यो । जोगी आफ्नै सुरमा हिँडेका थिए । एक्कासि झस्कन पुग्दा उनमा सहज विवेक गुमेछ । जोगीले पनि आफ्नो सुरक्षा खातिर भन्दै हातको लठ्ठीले कुकुरलाई बजाइहाले । जोगीको पिटाइ खाएपछि पिटुवा जोगीको विरुद्धमा रामराज्य सभामा कुकुरले नालिस दिन पुगे ।
कुकुरपिटुवा जोगीलाई पक्रिनका लागि सुरक्षाकर्मी खटिए । क्षणभरमै ती जोगी रामको न्यायालयमा उपस्थित गराइए । अनि रामले कुकुरलाई
सोधे— तिमीलाई पिट्ने जोगी यिनै हुन् ?
कुकुर— हो प्रभु ।
राम— जोगी, तिमीले कुकुरलाई किन पिट्यौ ?
जोगी— म आफ्नो बाटो खुरुखुरु हिँडिरहेको अवस्थामा एक्कासी टोकुँला झैँ गरी नजिकै झम्टिन आयो । अनि म पनि अलि अत्तालिएँ र आत्मरक्षाका लागि एक चोट ठोकेँ ।
राम— कुकुरले तिमीलाई टोकेकै त हैन नि ?
जोगी— टोकेकै त हैन तर टोक्नै लागेको थियो । पिटेको एक ठाउँ दुख्छ ताकेको सय ठाउँ दुख्छ भने झैँ भयो हजुर ।
राम— ए कुकुर, खुरुखुरु आफ्नो बाटो हिँडिरहेको जोगीलाई तिमी किन अनावश्यक तरिकाले भुक्ने र तर्साउने गरी झम्टेका थियौ त ?
कुकुर— ख्वामित्, त्यसो गर्नु त दैलाको कुकुरको धर्म नै हो । दैलाको कुकुर बलियो, जोगी आएमा पनि नभुक्ने कुकुर कहिले भुक्ला जस्ता लोक कथनले पनि मैले त्यसो गर्नु मेरो कर्तव्यअन्तर्गत नै पर्छ हजुर । नत्र मेरा मालिकले मेरा लागि गरेको लगानी केका लागि भन्ने प्रश्न उठ्छ नि हजुर ।
राम— हे जोगी, कुकुरको कुनै पनि गल्ती देखिएन । मालिकप्रति इमान्दार तथा कर्तव्यपरायण कुकुरलाई आफूलाई कुनै घात नगरीकन नै तिमीले पिटेको हुनाले तिमी दण्डको भागी हुनुपर्ने देखियो । यसमा तिमी सहमत छौ नि ? असहमति छ भने भनिहाल ।
जोगी– प्रभु, हात छोड्नु त मेरो गल्ती हो । तर सरकारी बाटोमा हिँड्दा मैले किन शाब्दिक यातना पाएँ यसको न्याय निरूपण हुनुपर्छ हजुर ।
राम– हेर जोगी, जोगी भनेको जोगिने हो, जोगाउने हो, जागा रहने हो अर्थात् सजग रहने हो । तिमीमा यी गुणको अभाव देखिनाले नै अहिले दण्डको भागिदार हुनगइरहेका छौ । एक अज्ञानीले गरेको गल्ती भन्दा ज्ञानीले गरेको उत्रै गल्ती ठूलो हुन्छ । यो कुरा त बुझेका छौ नि ?
जोगी– मनभरि बुझेँ प्रभु । उचित दण्डका लागि सहमत छु ।
अनि रामले कुकुरलाई भने— अब कुकुर तिमी नै भन यी जोगीलाई कुन दण्ड दिनुपर्छ भन्ने तिम्रो माग छ ?
कुकुर— ख्वामित्, यी जोगीलाई कुनै चर्चित मन्दिरको मठाधीश बनाइदिइबक्सियोस् ।
कुकुरको दण्डको यस्तो माग सुनेर सबै न्याय सभाका सभासद्हरू चकित परे ।
राम— कुकुर तिमी होसमा त छौ ? कि एक थोक भन्छु भन्दा अर्को थोक बोलेको महसूस भएको छ ?
कुकुर— महाराज, म पूरापूर होसमा छु । जे बोलेको छु म सही र उचित बोलेको छु ।
राम— कुकुर, जोगीलाई मठाधीश बनाउन पर्नुको रहस्य के हो ?
कुकुर— महाराज, मान्छे दम्भका कारण पतन हुन्छ । म पनि अघिल्लो जुनीमा कुनै चर्चित मन्दिरको मठाधीश थिएँ । त्यहाँ बस्दा ममा भरिएको अहङ्कार, उन्माद र कुकर्मले गर्दा आज म कुकुर योनिमा जीवन बिताइरहेको छु । प्रभुका कृपाले ममा जातिस्मृति छ । अर्थात् पूर्वजन्मको पूरापूर सम्झना छ ।
कुकुरका कुरा सुनेर सभाका सभासद छक्क पर्दै हाँसे ।
कुकुरको माग बमोजिम श्रीरामले कुकुर पिटुवा जोगीलाई कुनै चर्चित मन्दिरको मठाधीश बनाएर पठाइदिए । हाम्रा गाउँ सहरमा सडक कुकुरको वृद्धि कतै यस्तै यस्तै कारणले त हैन ? जेसुकै होओस् तर जैविक विविधता सन्तुलनका लागि भने हामी सबै मिलेर कम्मर कसेर लाग्नुपरेको छ । रामराज्यको झझल्को ल्याउनुपरेको छ ।