Butwal Today

नेपालको गौरव बनोस्– एनपिएल

९ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

नेपाल प्रिमियर लिग (एनपीएल) को तेश्रो संस्करण आज कार्तिक ९ देखि मंसिर ५ गतेसम्म हुँदैछ । तेश्रो संस्करणको रूपमा हुन लागेको एनपीएलले नेपालको पर्यटन बजारलाई विश्वमाझ प्रवद्र्धन गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ । काठमाण्डौंको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपिएलको लागि देश तथा विदेशका खेलाडी काठमाण्डौं आएका छन् ।

एनपिएलको तेश्रो संस्करणले खेलाडीहरूमा मात्र होइन खेलप्रेमीमा समेत उत्साह सिर्जना गरेको छ । वास्तवमा यो खेलकुदले नेपालको गौरव बढाउने निश्चित छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना गर्न नसकिएपनि कम्तीमा पनि तेश्रो संस्करणको एनपिएलको सफलतामा नाम चलेका विदेशी खेलाडीको सहभागीता अझै महत्वपूर्ण हुनेछ । नेपालमा राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय स्तरकै खेलाडी पनि खेलका लागि आउँछन भन्ने यो प्रमाण पनि हो । राष्ट्रिय खेलकुदमा विगतमा आफैले बनाएका राष्ट्रिय किर्तिमान खेलाडीले तोडेका छन र नयाँ राष्ट्रिय किर्तिमान स्थापित गरेका छन् । क्रिकेटमा नेपालका खेलाडीले विश्व इतिहास कायम गरेका छन् ।

खेल क्षेत्रमा अवसर पाउने हो भने राष्ट्रिय उत्साह सिर्जना गर्न सक्छन भन्ने नेपाली खेलाडी उदाहरण पनि हुन । खेलाडीहरू नेपालमा अवसर नभएकै कारण विदेश पलायन हुन बाध्य भैरहेको बेला कम्तीमा पनि काठमाण्डौंमा हुने एनिपएलले खेलाडीहरूमा नयाँ आशा जगाएको छ । एनपिएल समापन भएपछि सरकारले राष्ट्रका लागि आशालाग्दा खेलाडीलाई रोजगारीको अवसर प्रदान गरोस् ।

राष्ट्रलाई खुसी दिने एक मानकमध्ये खेलकुद पनि एक माध्यम हो भन्दा फरक पर्दैन । नेपालको परिचय अन्तर्राष्ट्रिय रूपमा स्थापित गराउने महत्वपूर्ण एवं प्रभावकारी माध्यम खेलकुद हो । एनपीएलको अर्को महत्वपूर्ण पक्ष विदेशी खेलाडीको सहभागिता र उनीहरूबाट नेपाली खेलाडीले प्राप्त गर्न सक्ने अनुभव पनि हो । अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका खेलाडीहरूसँग एउटै टोलीमा खेल्ने अवसरले नेपाली खेलाडीको सीप, आत्मविश्वास र खेल बुझ्ने क्षमतामा सुधार ल्याउन सक्छ ।

तर विदेशी खेलाडीको आकर्षणलाई मात्र प्रतियोगिताको सफलता मापन गर्ने आधार बनाउनु उचित हुँदैन । नेपाली खेलाडीले कति अवसर पाए, युवा प्रतिभा कति स्थापित भए र प्रतियोगिताले राष्ट्रिय क्रिकेटको स्तर उकास्न कति योगदान ग¥यो भन्ने प्रश्न पनि उत्तिकै औचित्यपूर्ण रहेका छन । तेस्रो संस्करणबाट समर्थकहरूको अपेक्षा बढेको छ ।

उत्कृष्ट खेल, रोमाञ्चक प्रतिस्पर्धा र आफ्ना मनपर्ने टोलीको सफलताका लागि खेल समर्थकहरू आशातीत छन् । प्रतियोगिताको व्यावसायिक विस्तारसँगै खेलको मर्यादा र संस्थागत विश्वसनीयता कमजोर हुनु हुँदैन । प्रायोजक र लगानीकर्ताको चासो महत्वपूर्ण भएपनि नेपाली क्रिकेटको दीर्घकालीन हितलाई केन्द्रमा राख्नु आवश्यक छ । वास्तवमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीले राष्ट्रकै प्रतिनिधित्व गरेका हुन्छन् । मैदानमा खेलाडीले गर्ने प्रदर्शन र देखाउने व्यवहारसँग देशको प्रतिष्ठा र चिनारी गाँसिएको हुन्छ ।

त्यसैले खेलाडीलाई सम्बन्धित राष्ट्रको सद्भावना दूतका रूपमा हेरिएको हुन्छ । एनपिएलले राष्ट्रको गौरव बढाउने निश्चित छ । यद्यपि अहिलेपनि नेपालको खेलकुद विकासमा भौतिक पूर्वाधारको ठूलो अभाव छ । पर्याप्त बजेट अभावमा गतिला खेलस्थल निर्माण हुन सकेका छैनन् । यसको एकमात्र कारण भनेको राज्यको आँखा खेलकुदमा नपर्नु नै हो ।

त्यसैले नेपालको खेल क्षेत्रले अहिलेसम्म व्यावसायिक फड्को मार्न सकेको छैन भन्दा अत्युक्ति नहोला । यो तीतो यथार्थ हो । आशा गरौं एनपिएल जस्ता प्रतियोगिताको सकृयताले नेपालको खेल क्षेत्रले गति लिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?