© 2026
बुटवल ।
दुई दशकअघि पाल्पाको दर्लामडाँडा माविमा करिब एक हजार विद्यार्थी अध्ययन गर्दथे । तानसेनदेखि एक घण्टाको पैदल दूरीमा रहेको यस विद्यालय त्यो क्षेत्रको राम्रो विद्यालय मानिन्थ्यो । विद्यार्थीहरूको चाप उच्च भएकोले समुदाय र विद्यालयले विभिन्न निकायसँग स्रोत जुटाएर भव्य छात्रावास सुविधा समेत दिन सकिने किसिमको भव्य भवन निर्माण गरेको छ ।
विद्यालयले गुणस्तरीय शिक्षाका लागि लगानी बढाइरहँदा विद्यार्थीको संख्या भने ओरालो लागेको छ । शिक्षा मन्त्रालयको इमिस रेकर्डअनुसार अघिल्लो वर्ष विद्यालयमा १६९ जना विद्यार्थी रहेकोमा यस वर्ष १६० जना विद्यार्थी विद्यालयमा अध्ययन गरिरहेका छन् । पाल्पाको बगनासकाली गाउँपालिकाको यो विद्यालयमा मात्र नभएर पालिकामा रहेका १० वटा माध्यमिक विद्यालयमध्ये ७ वटामा १६० जनाभन्दा कम विद्यार्थी भएको इमिस रेकर्डमा देखिन्छ ।
पाल्पा जिल्लामा ४६९ वटा विद्यालयमा ५२,२२२ जना विद्यार्थी रहेका छन् । जिल्लामा प्रतिविद्यालय विद्यार्थी संख्या ११२ जना देखिए पनि बगनासकाली, निस्दी, पूर्वखोला, रैनादेवी, रम्भा, रिब्दीकोट र तिनाउ गाउँपालिकामा प्रतिविद्यालय विद्यार्थी संख्या एक सयभन्दा कम रहेको छ । तानसेन र रामपुर नगरपालिकामा भने औसत प्रतिविद्यालय करिब २०० जना विद्यार्थी रहेको देखिन्छ । पाल्पा जिल्लाकै जस्तो नियति गुल्मी जिल्लामा समेत रहेको छ । गुल्मीका ५५७ वटा विद्यालयमा औसतमा ९९ जना विद्यार्थी मात्र रहेका छन् । प्रतिविद्यालय विद्यार्थी संख्या रेसुंगा नगरपालिकामा २०९ र गुल्मीदरबार गाउँपालिकामा १०९
रहेकोमा जिल्लाको इस्मा गाउँपालिकामा ७७ र कालीगण्डकी गाउँपालिकामा ४८ जना रहेको शिक्षा मन्त्रालयको इमिस रेकर्डले देखाउँछ ।
पहाडी जिल्लाहरूमध्ये अर्घाखाँची जिल्लाका विद्यालयमा त विद्यार्थीहरूको संख्या अझ दयनीय रहेको देखिन्छ । जिल्लाका ४४२ वटा विद्यालयमा ३७ हजार ३३३ जना विद्यार्थी रहेका छन्, जुन संख्या प्रतिविद्यालय ८४ दशमलव ४ मात्र हो । जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकामा प्रतिविद्यालय विद्यार्थी संख्या १४६ रहे पनि देशकै ठूलो नगरपालिका भनेर चिनिने शीतगंगा नगरपालिकामा यो संख्या ६३ मात्र रहेको छ । कुनै समयमा पश्चिम नेपालकै शिक्षाको केन्द्र रहेको पाणिनी गाउँपालिकामा प्रतिविद्यालय विद्यार्थी संख्या ६९ मात्र रहेको छ । रोल्पाका ४४७ वटा विद्यालयमा औसतमा प्रतिविद्यालय १४१ जना विद्यार्थी रहेका छन् । यस जिल्लाको थबाङ गाउँपालिकामा मात्र प्रतिविद्यालय विद्यार्थी संख्या एक सयभन्दा कम रहेको छ ।
हिमाली जिल्ला रुकुम पूर्वका १३५ विद्यालयमा औसतमा १०७ जना विद्यार्थी रहेका छन् । पहाडी जिल्लाहरूमध्ये प्युठान जिल्लामा प्रतिविद्यालय विद्यार्थी संख्या उच्च रहेको छ । यहाँका २९३ वटा विद्यालयमा औसतमा प्रतिविद्यालय १६३ जना विद्यार्थी रहेका छन् । प्युठानको नौबहिनी गाउँपालिकामा प्रतिविद्यालय २१४ जना विद्यार्थी रहेका छन् । लुम्बिनी प्रदेशका पहाडी पालिकाहरूमध्ये सबैभन्दा बढी प्रतिविद्यालय विद्यार्थी प्युठान नगरपालिकामा (प्रतिविद्यालय २२२ जना) रहेका छन् ।
पहाडी क्षेत्रका विद्यालय खाली भइरहँदा तराईका सहरी क्षेत्रका विद्यालयमा भने विद्यार्थीहरूले भर्ना नपाएर फर्कनुपर्ने अवस्था छ । बुटवलस्थित कालिका मानवज्ञान माविमा चालु शैक्षिक सत्रमा करिब ८ हजार २०० विद्यार्थी अध्ययनरत छन् । कक्षाकोठा र अन्य शैक्षिक पूर्वाधारको सीमितताले गर्दा यो वर्ष कक्षा १० सम्म करिब ५०० जना र कक्षा ११ मा करिब दुई हजार १०० जना नयाँ विद्यार्थी भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवाली बताउँछन् । इमिस रेकर्डअनुसार बुटवलकै सामुदायिक विद्यालय कान्ति मावि र नवीन औद्योगिक कदरबहादुर रीता माविमा क्रमशः ५,९११ र ५,४०३ जना विद्यार्थी छन् भने संस्थागत विद्यालय एभरेस्ट माविमा ४,०४८ जना, अक्सफोर्ड माविमा ४,५४२ जना र न्यु होराइजन माविमा ४,६३५ जना विद्यार्थी अध्ययनरत छन् ।
रूपन्देहीकै तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमुना माविमा ७ हजार ९६१ जना र सिद्धार्थ गौतमबुद्ध बोर्डिङ स्कुलमा ३,७३० जना विद्यार्थी रहेका छन् । रूपन्देही जिल्लाका ८९१ विद्यालयमा ३ लाख ४६ हजार ५४२ जना विद्यार्थी चालु शैक्षिक सत्रमा अध्ययनरत छन् । रूपन्देहीमा प्रतिविद्यालय ३८८ जना विद्यार्थी भएकोमा यो संख्या बुटवल उपमहानगरपालिकामा ७३२ जना, सैनामैना नगरपालिकामा ६१८ जना र तिलोत्तमा नगरपालिकामा ५०७ जना रहेको छ ।
कपिलवस्तु जिल्लामा पहाडी समुदायको बसोबास भएका क्षेत्रमा निजी र सामुदायिक दुवै विद्यालयमा विद्यार्थी संख्या राम्रो देखिन्छ । बाणगंगा नगरपालिकाको जनता माविमा २ हजार ८६९ जना र शिवराज नगरपालिकाको नेपाल आदर्श माविमा ३ हजार ८९७ विद्यार्थी अध्ययनरत छन् । जिल्लागत रूपमा भने प्रतिविद्यालय ४४२ जना विद्यार्थी रहेको देखिन्छ ।
तीव्र सहरीकरण भइरहेका घोराही र तुलसीपुर उपमहानगरमा जिल्लाका अन्य पालिकाको कुल विद्यार्थी संख्याभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेका छन् । दाङ जिल्लामा विद्यालय तहमा २ लाख १३ हजार ५१७ जना विद्यार्थी रहेकोमा तुलसीपुर र घोराहीमा मात्र एक लाख ३६ हजार ६८१ जना विद्यार्थी रहेको शिक्षा मन्त्रालयको रेकर्डमा देखिन्छ । बाँके र बर्दिया जिल्लामा प्रतिविद्यालय विद्यार्थी संख्या ३०७ र ३०२ जना रहेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा प्रतिविद्यालय ४०३ जना विद्यार्थी छन् भने कोहलपुर नगरपालिकामा प्रतिविद्यालय ४९८ जना विद्यार्थी रहेका छन् । जिल्लाकै कम विकसित मानिने जानकी गाउँपालिकामा भने प्रतिविद्यालय १५७ जना विद्यार्थी रहेका छन् । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा प्रतिविद्यालय विद्यार्थी संख्या ४१० रहेको छ, जुन जिल्लाकै उच्च हो ।
तराईका जिल्लाका सबै नगरपालिकाहरू र पहाडी जिल्लाका केन्द्र रहेका पालिकाहरूमा विद्यार्थी संख्या बढिरहेको भए पनि पहाडका अधिकांश पालिकामा विद्यार्थी संख्या घटिरहेको देखिन्छ । शिक्षा मन्त्रालयको फ्ल्यास रिपोर्ट २०७२ अनुसार वि.सं. २०७२ सालमा पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लामा प्रतिविद्यालय विद्यार्थी संख्या क्रमशः १५१, १३० र १२८ जना रहेकोमा अहिले त्यो संख्या क्रमशः ११२ जना, ९९ जना र ८४ मात्र रहेको छ । यही अवधिमा प्रतिविद्यालय विद्यार्थी संख्या रूपन्देहीमा ३५५ देखि ३८८, कपिलवस्तुमा २९१ देखि ४४२ जना, दाङमा २५८ देखि ३२९ जना, बाँकेमा ३३६ देखि ३०७ जना र बर्दियामा ३३६ देखि ३०२ जना पुगेको छ ।
पहाडी जिल्लाहरूको घट्दो प्रजनन दर पहाडी ग्रामीण क्षेत्रमा विद्यार्थीहरूको संख्या घट्नुको कारण बन्दै गएको छ । नेपाली महिलाहरूको कुल प्रजनन दर १.९४ भएकोमा लुम्बिनी प्रदेशका महिलाहरूको कुल प्रजनन दर १.८४ भएको जनगणनाले देखाएको छ । रुकुम पूर्व र रोल्पाका महिलाको कुल प्रजनन दर राष्ट्रिय औसतभन्दा धेरै भए पनि गुल्मी, अर्घाखाँची र पाल्पाका महिलामा यो दर १.७६ भन्दा कम रहेको छ । प्रजनन दरमा गिरावट आइरहेकोले पहाडी क्षेत्रका विद्यालयका आधारभूत तहमा भर्ना हुने विद्यार्थीहरूको संख्या अति न्यून हुने गरेको विद्यालयहरूको भर्नासम्बन्धी तथ्यांकले देखाउँछ ।
घट्दो प्रजननले गर्दा विद्यालय पढ्ने उमेरका बालबालिकाको संख्या घटिरहेको अवस्थामा पहाडबाट तराईतर्फ र ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रतर्फ भइरहेको उच्च बसाइँसराइले गर्दा ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीहरू घटिरहेको भगवती मावि सर्देवाका शिक्षक रविन्द्र पोखरेल बताउँछन् । उनी भन्छन्, “गाउँमा गुणस्तरीय शिक्षा दिन सक्ने शिक्षक छन्, पूर्वाधारमा सरकारले ठूलो लगानीसमेत गरिरहेको छ । तर केही धनी अभिभावक सुखसुविधा खोज्दै सहरमा जाने र उनीहरूको सिको गर्दै कमजोर आर्थिक हैसियतका परिवारसमेत सहर र तराईमा सन्तान पढाउन भनेर जाने गर्नाले पहाडी क्षेत्रका विद्यालयमा विद्यार्थीहरूको संख्या घटेको मात्र छैन, गाउँ नै रित्तिँदै गएका छन् ।”
ग्रामीण क्षेत्रमा विद्यार्थीहरू घट्दै जाँदा कतिपय आधारभूत तहका विद्यालय बन्द भइसकेका छन् भने माध्यमिक तह सञ्चालन भएका विद्यालयमा समेत विद्यार्थीहरूको संख्यामा कमी आउँदा भौतिक स्रोतसाधनको उपयोग र संरक्षणमा समस्या आइरहेको छ । अभिभावकको सहयोगमा चलाइएका विद्यालयमा विद्यार्थी संख्या घट्दा विद्यालय सञ्चालन गर्न र शिक्षकलाई तलब खुवाउनसमेत समस्या देखिन्छ । सहरी क्षेत्रमा विद्यार्थीहरूको संख्या निरन्तर बढिरहँदा विद्यार्थीका लागि आवश्यक कक्षाकोठा, शैक्षिक सामग्री, बालमैत्री भौतिक संरचना, खेलमैदानजस्ता सुविधामा चाप परिरहेको छ र नगरपालिकाहरूले आफ्नो क्षेत्रका विद्यालयमा वर्षेनी ठूलो लगानी गरिरहनुपरेको छ । सहरी क्षेत्रका नाम चलेका विद्यालयहरूले धेरै विद्यार्थी भर्ना गर्न नसक्दा अभिभावकहरूले आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउन बाध्य छन्, जसले गर्दा अभिभावकहरूको खर्चसमेत बढेको अभिभावकहरूको गुनासो छ ।
विद्यार्थीहरू कम भएपछि कतिपय पालिकाले विद्यालय गाभ्न थालेका छन् । तर टाढाका विद्यालयहरू आपसमा गाभ्दा विद्यार्थीहरू ती स्कुलमा जानुको साटो बजार झर्ने वा नजिकैको निजी स्कुलमा पढ्न जाने हुनाले विद्यालय गाभ्ने नीतिले मात्र ग्रामीण क्षेत्रका विद्यालय विद्यार्थीले भरिन नसकिने शिक्षाविद्हरू बताउँछन् ।