Butwal Today

‘राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ’

८ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-
भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति मात्रै नगरेर अनुसन्धान पनि गर्नुपर्ने बताएका छन् । भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको समापन गर्दै उनले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुपर्ने बताए ।
उनले राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताए । बिजुक्छेले राजनीतिक कार्यकर्ताको मूल्याङ्कन पार्टीको सदस्यताका आधारमा मात्र नभई उसको अध्ययन, अनुभव, अनुसन्धान र व्यवहारमा देखिने कार्यक्षमताका आधारमा हुनुपर्नेमा जोड दिए ।
सम्मेलनमा किसान अगुवा मोहनबहादुर कुस्मा, लालाखिं गुरु मोतीबहादुर खायमली, समाजसेवी कृष्णदेवी वाङायो र सामाजिक अगुवा टेकबहादुर पलिखेललाई बिजुक्छेले नगदसहित दोसल्ला ओढाइ सम्मान गरेका थिए ।
बिजुक्छेले साहित्यतर्फ कथा र कवितामा उत्कृष्ट हासिल गर्ने साहित्यकारलाई पुरस्कार वितरण गरे । निर्णायक मण्डलको निर्णयअनुसार कवितातर्फ सकुन्तला महर्जन, हरिसुन्दर पोतामहाँ, शिल्भिया प्रजापति, ओमकृष्ण श्रेष्ठ क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भए । कथा विधातर्फ कमलकेशरी थुयाजु, सूर्यनारायण फाँजु, श्रीया पहिजु र एलके सुन्दर क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गरेको घोषणा गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?