Butwal Today

मलेखुको झोलुङ्गे पुललाई वैकल्पिक मार्गमा प्रयोग गरेपछि…

८ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

धादिङ ।

त्रिशूली नदीको बाढीले फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुस्थित झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको छ । दसैँ मनाएर फर्किने यात्रुको चापसँगै झोलुङ्गे पुल पार गर्न लामो समय पालो कुर्नुपर्ने र पैदलयात्रुलाई समेत आउतजावत गर्न कठिन भएको छ ।

बेनिघाट रोराङ गाउँपालिका–३ स्थित त्रिशूली नदीमाथिको उक्त पुलमा एक पटकमा एउटा मात्रै सवारीसाधन आवतजावत गराउने सूचना टाँसिएको छ । तर, एकै पटक धेरै मोटरसाइकल र स्कुटर प्रवेश गर्दा पैदलयात्रुले पनि साँघुरो ठाउँबाट ओहोरदोहोर गर्नुपरेको छ ।

समाजसेवी शिवराज सापकोटाका अनुसार झोलुङ्गे पुलमा सवारी चाप बढ्दा सुरक्षा खतरा बढेको बताएका छन् । पुलमा भीडभाड बढ्दा स्थानीय प्रशासन वा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुनुपर्ने उनको भनाइ छ । पुलभित्र मोटरसाइकल प्रवेश गरेपछि पैदलयात्रुलाई दोहोरो हिँड्न पर्याप्त ठाउँ नहुँदा एकअर्कालाई छलेर पार गर्नुपर्ने अवस्था छ ।

धादिङबाट चितवन फर्कंदै गरेका मोटरसाइकलचालक अभिषेक अधिकारीले पुल पार गर्न लामो समय पालो कुर्नु परेको अनुभव सुनाए । “पुलमा पालो कुर्नका लागि घाममा आधा घण्टाभन्दा बढी जाममा बस्नु प¥यो,” उनले भने । पुलको सुरक्षाबारे चिन्ता भए पनि बाध्यताले यही बाटो प्रयोग गर्नु परेको उनको भनाइ छ ।

दसैँअघि स्थानीय युवाले पुलको प्रवेशद्वारमा बसेर एक पटकमा एउटा मात्रै मोटरसाइकल प्रवेश गराउने गरेका थिए । दसैँ सकिएर काठमाडौँ, पोखरा र चितवन फर्किने यात्रुको सङ्ख्या बढेपछि चाप नियन्त्रण गर्न कठिन भएको हो ।

गत भदौ १० गते आएको बाढीले जिल्ला सदरमुकाम धादिङबेँसी र पृथ्वी राजमार्ग जोड्ने फुर्केखोलाको पुल बगाएको थियो । यसपछि सदरमुकाम तथा आसपासका क्षेत्रमा जाने मोटरसाइकल चालकले त्रिशूली नदीमाथिको झोलुङ्गे पुललाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?