Butwal Today

धान भित्र्याउने चटारो, हिउँदे खेतीको तयारीमा किसान (तस्बिरहरू)

६ कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

बुटवल ।

ठुला चाड दसैँ र तिहारको रौनकसँगै गाउँघरमा किसानलाई भने खेतीपातीको चटारोले छोपेको छ । खेतमा धान पाकेर काट्ने बेला भएको छ भने अर्कोतर्फ तोरी, मसुरो, आलस लगायतका हिउँदे बाली लगाउने समय पनि सुरु भएको छ । चाडपर्व मनाउने र वर्षभरिको मेहनतबाट उत्पादन भएको अन्न भित्र्याउन किसानलाई अहिले भ्याइनभ्याइ छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका–५ स्थित गरगरे टोलका खेतबारीमा यति बेला धान पाकेर पहेँलपुर भएका छन् । धान काट्ने, स्याहार्ने र खेत खाली गरेर अर्को बाली लगाउने तयारीमा किसान जुटेका छन् । वर्षायाममा रोपेको धान भित्र्याउने समयसँगै हिउँदे खेतीको तयारी गर्नुपर्ने भएकाले किसानका लागि यो महिना निकै व्यस्त र महत्त्वपूर्ण बनेको छ ।

दसैँ–तिहारजस्ता चाडपर्वमा परिवार र आफन्तसँग रमाउने चाहना सबैलाई हुन्छ । खेतमा पाकेको धान लामो समय राख्दा मौसमको प्रतिकूलताले क्षति पुर्‍याउन सक्ने भएकाले किसानले चाडपर्वको रमझमभन्दा खेतीपातीलाई समय दिनुपर्ने अवस्था रहेको बताउँछन् ।

कञ्चन गाउँपालिका–५ का कृषक रमेश शर्मा अहिलेको समय किसानका लागि चाडपर्वभन्दा पनि खेतीपातीमा ध्यान दिनुपर्ने समय भएको बताउँछन् । उनका अनुसार धान काटेर भित्र्याउने समयसँगै तोरी, मसुरो, आलस लगायतका हिउँदे बाली लगाउनुपर्ने भएकाले किसानलाई कामको चटारो परेको छ ।

“हाम्रा लागि अहिले चाडपर्वभन्दा पनि खेतीपाती महत्त्वपूर्ण छ । धान स्याहार्ने बेला भएको छ । अर्कोतर्फ तोरी, मसुरो, आलस लगायतका अन्नबाली लगाउने चटारो पनि छ। त्यसैले अहिले हाम्रो ध्यान खेतबारीमै केन्द्रित छ,” शर्मा भन्छन् ।

धान भित्र्याउने काम र अर्कोतिर अर्को बाली लगाउन खेतमा काम गर्ने मान्छे पाइँदैनन् तर कृषि औजार पनि समयमा बनेको समयमा पाइँदैन उनले भने ।

खेतमा तोरी, मसुरो र आलसजस्ता बाली लगाउन मौसम, सिँचाइ, बीउको गुणस्तर, मलखादको उपलब्धता र रोग किराको अवस्थाजस्ता कुरामा भने किसान अनविज्ञ छन् ।

बाली भित्र्याउने र नयाँ खेती लगाउने यस समयमा किसानलाई आवश्यक कृषि सामग्री, प्राविधिक परामर्श तथा मौसम अनुकूल खेतीसम्बन्धी जानकारी उपलब्ध गराउनु पनि उत्तिकै आवश्यक हुन्छ ।

आफ्नो खेतमा लहलह फलेर पहिला भएका धानका बाला देखेर किसानहरू अत्यन्त हर्षित पनि देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?