Butwal Today

व्यावसायिक वातावरण खस्किंदै गएकोमा तिलोत्तमा व्यापार संघको चिन्ता

३१ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

तिलोत्तमा । उद्योगी व्यवसायीहरुले मुलुकको असहज अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकार निजी क्षेत्रको मनोवल गिराउने दिशातर्फ उन्मुख भैरहेको बताएका छन् । तिलोत्तमा व्यापार संघले विजायदशमी, शुभदीपावली, छठ र नेपाल सम्वतको अवसरमा शनिबार रुपन्देहीको मणिग्राममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले सरकारले गलत कार्यशैली र नीति अवलम्वन गर्दा व्यावसायिक वातावरण खस्कँदै गएको बताए ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं संघका संस्थापक अध्यक्ष झविन्द्रप्रसाद कंडेल, संघका अध्यक्ष नेत्रप्रसाद न्यौपाने, प्रथम उपाध्यक्ष मानबहादुर बर्मा, प्रेस सल्लाहकार लक्ष्मण पौडेल, आर्थिक सल्लाहकार नुमेन्द्र पौडेल, महासचिव चेतनारायण विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

चेम्वर अफ कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष कंडेलले वर्तमान असहज व्यावसायिक वातावरणप्रति चिन्ता व्यक्त गर्दै सरकार कहाँबाट सञ्चालित छ भन्ने कुराको शंका उब्जिएको बताए । “व्यवसाय सुचारु राख्न नीति तथा वातावरण अनुकूल हुनुपर्छ, तर अहिलेको सरकारको रवैया हेर्दा त्यस्तो देखिंदैन, सरकार नै कहाँबाट सञ्चालितन छ भन्ने आशंका उब्जिएको छ”, उनले भने ।

संघका अध्यक्ष न्यौपानेले व्यापारीले सामना गरिरहेको चुनौतीहरू समाधान गर्न ठोस कदम आवश्यक रहेको बताए । उनले आर्थिक गतिविधि सुचारु राख्न सबै पक्षको समन्वय अनिवार्य रहेको उल्लेख गर्दै स्थानीय उत्पादन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न संघले निरन्तर पहल गर्दै आएको बताए ।

प्रथम उपाध्यक्ष बर्माले व्यावसायिक वातावरण अस्थिर भएको अवस्थामा व्यवसायीहरूलाई आवश्यक सुरक्षा र सहयोग प्रदान गर्नुपर्नेमा जोड दिए । उनले आगामी समय व्यवसाय सुचारु राख्न ठोस रणनीति र सहकार्य महत्वपूर्ण हुने पनि उल्लेख गरे ।

कार्यक्रममा सहभागी व्यवसायी तथा संघका सदस्यहरूले आपसी मेलमिलाप र पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै समृद्ध व्यवसायिक वातावरणका लागि साझा प्रयास गर्न प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?