Butwal Today

राजनीतिक यात्रामा धेरैपटक ढलेको छु, अप्ठ्यारोमा साथ दिनेहरूको योगदान ठूलो हुन्छ : गगन थापा

३० आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले अप्ठ्यारो परिस्थितिमा साथ दिनेहरूको महत्त्व र योगदान ठूलो हुने बताएका छन् ।

दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति थापाले सहज अवस्थामा साथ दिनेभन्दा कठिन परिस्थितिमा साथ दिनेहरूको योगदान विशेष हुने बताएका हुन् ।

‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै हुन्छन्,’ थापाले भने, ‘लडेको बेलामा, ढलेको बेलामा दिने साथको धेरै महत्त्व हुन्छ ।’

सभापति थापाले आफ्नो राजनीतिक यात्राका क्रममा आफू धेरै पटक लडेको र कठिन परिस्थितिको सामना गरेको स्मरण गरे ।

‘म एउटा राजनीतिक कार्यकर्ता हुँ । त्यसैले मेरो राजनीतिक यात्राका क्रममा धेरै पटक लडेको छु, धेरै पटक ढलेको छु,’ उनले भने ।

राजनीतिक जीवनमा आफू कमजोर भएको, पछि परेको र अप्ठ्यारोमा परेको समयमा पनि निरन्तर साथ, स्नेह र शुभेच्छा प्रदान गर्नेहरूप्रति थापाले आभार व्यक्त गरे ।

‘म कैयौँ पटक कमजोर हुँदा, तल पर्दा, अप्ठ्यारोमा पर्दै गर्दा मलाई किञ्चित केही नसोचीकन तपाईंहरूको निरन्तर मसँग शुभेच्छा रहेको छ, आशीर्वाद रहेको छ, स्नेह रहेको छ। त्यसका निम्ति मैले बोलेर, आभार प्रकट गरेर पुग्दैन,’ उनले भने ।

सभापति थापाले आफू अहिलेको स्थानसम्म आइपुग्नुमा शुभेच्छुकहरूको महत्त्वपूर्ण योगदान रहेको पनि बताए ।

‘तपाईंहरूले निरन्तर मप्रति जुन स्नेह गर्नुभएको छ, जुन विश्वास गर्नुभएको छ, म आज जुन ठाउँमा छु, मैले पटक(पटक यो कुरा भनेको छु, फेरि पनि दोहोर्‍याउँछु । यस्तो कुरा दोहोर्‍याउन पनि मन लाग्छ,’ उनले भने, ‘त्यसमा तपाईंहरूको धेरै, धेरै ठूलो स्टेक छ । तपाईंहरूको धेरै ठूलो योगदान छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?