Butwal Today

मिस नेपाल वल्र्ड दीपमाला नेपालगन्जमा दौडिने

२९ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

नेपालगञ्ज ।

मिस नेपाल वल्र्ड २०२६ दीपमाला ढकाल आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने धारा नेपालगन्ज म्याराथनमा दौडिने भएकी छन् । क्यान्सर पीडितलाई सहयोग जुटाउने र जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यसहित उनी म्याराथनमा सहभागी हुन लागेकी हुन् ।

नेपालगन्ज म्याराथनको १२औँ संस्करणमा दीपमालाले कति किलोमिटर दौडिने भन्ने विषयमा भने चाँडै जानकारी गराउने आयोजकले जनाएको छ । तेक्वान्दोकी ब्ल्याक बेल्टसमेत रहेकी दीपमाला आफैँ पनि म्याराथन धाविका हुन् । उनले विश्वप्रसिद्ध स्ट्यान्डर्ड चार्टर्ड हङकङ म्याराथनमा समेत दौडिएको अनुभव बटुलेकी छन् ।

नेपालमा आयोजना हुने म्याराथनमा मिस नेपालले परोपकारी उद्देश्यका लागि दौडिन लागेको यो सम्भवतः पहिलो अवसर भएको आयोजकको भनाइ छ । यसअघि विद्यार्थी, युवा तथा समाजलाई खेलकुद र स्वस्थ जीवनशैलीका लागि प्रेरित गर्न मिस नेपालका विजेताहरू नेपालगन्ज म्याराथनमा सहभागी हुँदै आएका छन् ।

नेपालगन्ज म्याराथन र द हिडेन ट्रेजरबीच स्वस्थ समाज निर्माणका लागि सहकार्य गर्ने समझदारीअनुसार मिस नेपाल वल्र्डलाई नेपालगन्ज म्याराथनको सद्भावना दूतका रूपमा जोडिँदै आएको छ । गत वर्ष मिस नेपाल वल्र्ड २०२५ लुना लुँइटेल र मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधानले अनौपचारिक रूपमा पाँच किलोमिटर दौड पूरा गरेका थिए ।

यसपटक भने दीपमाला परोपकारी अभियानलाई प्रत्यक्ष सहयोग पु¥याउने उद्देश्यले दौडिन लागेकी हुन् । विश्वका प्रतिष्ठित म्याराथनमा परोपकारी संस्थाहरू, व्यावसायिक प्रतिष्ठान र धावकले च्यारिटी रनमार्फत आर्थिक सहयोग जुटाउने अभ्यास छ । नेपालगन्ज म्याराथनमा पनि खेलकुदलाई सामाजिक सेवासँग जोड्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।

मंसिर १२ गते नेपालगन्जको बीपी चोकबाट सुरु हुने म्याराथनमा १२ विधाका दौड समावेश गरिएका छन् । प्रतियोगिताअन्तर्गत ४२ किलोमिटर पुरुष खुला म्याराथन, २१ किलोमिटर महिला खुला हाफ म्याराथन, १० किलोमिटर पुरुष तथा महिला खुला दौड र पाँच किलोमिटर पुरुष तथा महिला खुला दौड सञ्चालन हुनेछन् ।

त्यस्तै, पाँच किलोमिटर विद्यालयस्तरीय छात्र तथा छात्रा दौड, तीन किलोमिटर कर्पोरेट रन, किड्स रन, ह्वीलचेयर रन, रन फर अल तथा दुई किलोमिटर फेमिली रन पनि समावेश गरिएको छ ।
म्याराथनलाई सबै उमेर, क्षमता र पृष्ठभूमिका व्यक्तिको सहभागितामूलक उत्सव बनाउने उद्देश्यले विभिन्न विधा समेटिएको आयोजकले जनाएको छ ।

रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङका अनुसार ४२ किलोमिटर पुरुष खुला म्याराथनमा सहभागी हुन चाहने महिलालाई व्यक्तिगत समय मापनका लागि विद्युतीय चिप्स उपलब्ध गराइनेछ । त्यसैगरी, महिलाका लागि निर्धारित २१ किलोमिटर हाफ म्याराथनमा आफ्नो समय सुधार गर्न चाहने पुरुष धावकलाई पनि चिप्स उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

४२ किलोमिटर दौडमा ४०–५०, ५०–६० र ६०–७० वर्ष उमेर समूहका धावकको छुट्टाछुट्टै वरियताक्रम निकालेर पहिलो, दोस्रो र तेस्रो हुनेलाई प्रोत्साहन गरिनेछ । एबट वल्र्ड म्याराथन मेजर्ससँगको सहकार्यमा उमेर समूहका धावकलाई विश्वव्यापी वरियतामा समावेश गर्ने तथा उमेर समूहको विश्व च्याम्पियनसिपमा सहभागिताका लागि सहजीकरण गर्ने कार्यक्रम पनि निरन्तरता दिइने आयोजकले जनाएको छ ।

विभिन्न विधाका उत्कृष्ट धावकलाई मेजर म्याराथन तथा वल्र्ड एथलेटिक्सका प्लेटिनम, गोल्ड, एलिट र लेभल रेसमा सहभागी हुने अवसर उपलब्ध गराउने लक्ष्यसमेत राखिएको छ । प्रतियोगिताका लागि अनलाइन दर्ता खुला भइसकेको दर्ता संयोजक गगन थापाले जानकारी दिए ।

नेपालगन्ज म्याराथन सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको प्रतियोगिता हो । २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरणमा सुरु गरिएको यस दौडले खेलकुदमार्फत शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्दै आएको छ ।

बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक समाज रहेको नेपालगन्जलाई एकताको सूत्रमा जोड्ने उद्देश्यसहित सुरु भएको म्याराथनसँग अहिले करिब एक दर्जन भगिनी कार्यक्रमसमेत जोडिएका छन् ।

कोभिड महामारीका समयमा पनि सरकारी स्वास्थ्य मापदण्ड पालना गर्दै नेपालगन्ज म्याराथनले टोकियो ओलम्पिकका लागि खेलाडी छनोट प्रक्रियामा योगदान गरेको थियो । गत जुनमा नर्वेको ट्रोम्सोमा आयोजित कार्यक्रममा नेपालगन्ज म्याराथनलाई विश्वभरका दौड प्रतियोगितामध्येबाट एम्स सोसल अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

खेलकुदसँगै वातावरणीय सचेतनालाई पनि प्राथमिकता दिँदै गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन तीन वर्षदेखि सञ्चालन हुँदै आएका छन । विद्यालयका बालबालिकालाई जलवायु परिवर्तनका असर र अनुकूलनबारे सचेत गराउने उद्देश्यले यी कार्यक्रम आयोजना गरिन्छन् । रातिको समयमा सुरक्षित रूपमा दौडिने संस्कृतिलाई प्रोत्साहन गर्न नेपालगन्ज १० के नाइट रनका दुई संस्करणसमेत सम्पन्न भइसकेका छन् ।

नेपाली सम्पदाको अन्तर्राष्ट्रिय प्रचारका लागि गत वर्षदेखि काठमाडौं २५ किलोमिटर हेरिटेज रेस सुरु गरिएको छ भने कर्णाली प्रदेशमा कर्णाली हाफ म्याराथन आयोजना हुँदै आएको छ । संवाद र बहसको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगन्ज कनक्लेवका छ संस्करणसमेत सञ्चालन भइसकेका छन् ।

यस वर्षको कनक्लेवमा मिस नेपाल वल्र्ड दीपमाला युवा र खेलकुद विषयमा वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ । यसरी नेपालगन्ज म्याराथनले दौड प्रतियोगितालाई मात्र नभई सामाजिक सेवा, वातावरण संरक्षण, युवा सहभागिता र सांस्कृतिक पहिचानसँग जोड्ने प्रयास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?